दाङमा नयाँ मोडेलको वृक्षरोपण कार्यक्रम सुरु

हिमालय टाइम्स
Read Time = 5 mins

-विवेक खड्का

दाङ । डिभजिन वन कार्यालयले दाङमा संरक्षणमुखी वृक्षरोपण कार्यक्रम सुरु गरेको छ । बर्सेनि विरुवा लगाउने तर लगाएका विरुवा हुर्काउने र संरक्षणमा चुनौती बढ्दै गएपछि यो वर्षदेखि संरक्षणमुख वृक्षरोपण कार्यक्रम थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । अभियानकै रूपमा वृक्षरोपण गरेर कम मात्रै विरुवा हुर्काउनेभन्दा बरु थोरै लगाउने र धेरै हुर्काउने लक्ष्यका साथ दाङमा यो वर्ष करिब दुई सय हेक्टरमा करिब दुई लाख विरुवा लगाइएको डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

संरक्षणमुखी कार्यक्रमअनुसार अतिक्रमित वन क्षेत्र खाली गरी घोराहीको मघै, रामपुरको चरिंगेदह, तल्सीपुरको कटकुइया, भ्युडर सुनपुर र बबैमा गरी नौ हेक्टर वनमा तारबारसहितको वृक्षरोपण कार्य सम्पन्न गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । सूचना अधिकारी केसीका अनुसार तुल्सीपुरको मोतीपुर, दंगीशरणको सिमठाना र महालक्ष्मी, नारायणपुरको सरजुंगा र बैबै नदी, अम्बिकेश्वरीको क्वाडी र शान्ति सामुदायिक वन क्षेत्रको करिब २० हेक्टर नदीले कटान गरेको क्षेत्रलाई तारबार गरी वृक्षरोण गरिएको छ ।

डिभिजन वन कार्यालयले एकपालिका एक कृषि अबको अवधारणाअनुसार स्थानीय किसानहरूलाई सहभागी गराई दाङका घोराही र तल्सीपुर उपमहानगरपालिका, बंगलाचुली, शान्तिनगर र दंगीशरण गाउँपालिका गरी पाँचवटा पालिकाका १० हेक्टरका दरले ५० हेक्टरमा कृषि वन बनाउने काम गरेको कार्यालय प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी, घोराहीका शान्ति र करजाही, पुरन्धाराको झारगजेरी, दंगीशरणको बालकल्याण सामुदायिक वन क्षेत्रको करिब २० हेक्टर जग्गामा विरुवा लगाई संरक्षणको काम अघि बढाइएको कार्यालयले जनाएको छ । त्यस्तै, जिल्लाको पहाडी भेगमा जडीबुटी विस्तारको काम अगाडि बढाइएको छ । बंगलाचुली गाउँपालिकाको १० हेक्टर, घोराहीको पहाडी भेगमा ६ हेक्टर र तुल्लीपुरको चार हेक्टरमा टिमुर, मालगेडी सुगन्ध कोकिला लगायतका जडीबुटीका विरुवा लगाइएको छ । त्यस्तै, समूह र सहकारीमार्फत यो वर्ष करिब २० हेक्टर जमिनमा जडीबुटी खेती विस्तार गरिएको कार्यालयले जानकारी दिएको छ ।

दाङको घोराही उपमहानगरपालिका–४ सिस्नेखोलाको किनारा रहेको खाली जग्गामा आइतबार वृक्षरोपण गरिएको छ । वर्षौंदेखि पराम्परागत खुल्ला चरिचरणको रूपमा रहेको नांगो पाखामा उपभोक्ताहरूले वृक्षरोपण गरेका हुन् । स्थानीय वसन्तापुर र स्यालापानी सामुदायिक वन क्षेत्रमा पर्ने सिस्नेखोलाको नदी किनारमा रहेको जग्गामा दुई सय बढी उपभोक्ताहरूले विरुवा लगाएका हुन् । उक्त वृक्षरोणको संरक्षणका लागि डिभिजन वन कार्यालय दाङले ५४५ मिटर काँडे तारबारसमेत गरिदिएको छ ।

करिब २० हेक्टर खाली वन क्षेत्रमा असना, हर्रो, बर्रो, अमला, सुगन्ध कोकिला, बडहर प्रजातिका तीन हजार दुई सय विरुवा लगाइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । वर्षौंदेखि खेर गइरहेको र भूक्षयको जोखिमसमेत रहेको उक्त क्षेत्रमा संरक्षणमुखी विरुवा रोपण गरी नमुनायोग्य वन बनाउने योजनाका साथ कार्यक्रम थालिएको कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?