काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्कनुभएको छ । विगतमा नेपाली प्रधानमन्त्रीको भारत भ्रमणले अत्यधिक चर्चा र विवादको स्थिति सिर्जना गरेको थियो । यसपटक भ्रमण औपचारिक नभएकाले विवाद त धेरै भएन तर प्रधानमन्त्री प्रचण्डको ‘उत्साह’ भने बढेको छ । भारतीय समकक्षीको शपथ समारोह, मोदीसँगको भेटवार्ता, भारतीय राष्ट्रपतिसँगको भेट, विदेशमन्त्री सँगको छलफल र भारतीय व्यापारीहरू सँगको कुराकानी सकाएर सोमबार दिउँसो नेपाल फर्कंदा प्रधानमन्त्री प्रचण्डको अनुहारमा छुट्टै उत्साह देख्न सकिन्थ्यो ।
नेपालका लागि प्रस्थान गर्नुअघि नै नयाँ दिल्लीमा पत्रकारहरू सँगको भेटमा प्रधानमन्त्री प्रचण्डले खुलेर अन्तरक्रिया गर्नुभयो । सो क्रममा प्रधानमन्त्रीले भारतमा पनि गठबन्धन सरकार बनेकोमा खुसी व्यक्त गर्नुभयो । ‘नेपालमा हामीले केही वर्षदेखि गठबन्धनको अभ्यास गरेकै छौँ । निर्वाचन परिणामले भारतमा पनि गठबन्धन सरकारको अभ्यास सुरु भएको छ । यो अभ्यासले दुवै देशलाई फाइदा पुग्छ’, प्रधानमन्त्रीको भनाइ छ ।
सीमा विवाद सहज बनाइन्छ : प्रचण्ड
भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटका क्रममा नेपाल-भारत सम्बन्धका विविध आयामबारे खुलेरै छलफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । नेपाल-भारत सीमा समस्याबारे यसअघि आफू भारत आउँदा नै खुलेर छलफल भएको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले आपसी छलफलबाटै सीमा र नाकासम्बन्धी समस्यालाई सहजीकरण गर्ने बताउनुभयो । ‘सीमा वा नाकाका बारेमा हामी खुलेर कुरा गरिरहेका छौँ । यसलाई सहज बनाउने र आपसी हित प्रवद्र्धन गर्ने कुरामा हामीलाई कुनै समस्या छैन’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । उहाँले मोदीसँगको भेटमा नेपाल-भारत व्यापार घाटा घटाउने, नेपालको कृषि क्षेत्रमा लगानी बढाउने र पञ्चेश्वर परियोजना अगाडि बढाउने लगायतका विषयमा छलफल भएको जानकारी दिनुभयो ।
‘भारतले फरक ढंगले सोच्नुपर्दैन’
प्रधानमन्त्री प्रचण्डले नेपालमा सत्ता समीकरणमा हुने फेरबदललाई भारतले असामान्य ढंगले हेर्न नहुने बताउनुभएको छ । पत्रकारसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतमा दुवैतिर नेपालको राजनीतिक घटनाक्रम परिवर्तन हुँदा आपसी सम्बन्ध बिग्रने चिन्ता हुने गरेको भए पनि अब चिन्ता जरुरी नरहेको बताउनुभयो । ‘नेपालमा आन्तरिक कारणले राजनीतिक समीकरण फेरिँदा नेपालको परराष्ट्र नीतिमा कुनै फेरबदल आउँदैन । त्यसैले नेपालमा जुन समीकरण आए पनि भारतलाई फरक नपर्ने मनस्थिति मैले पाएको छु’, प्रचण्डको भनाइ छ ।
मोदी नेपाल आउने
भारतीय प्रधानमन्त्री मोदीले यसै महिना नेपाल भ्रमण गर्ने सम्भावना रहेको छ । प्रधानमन्त्री प्रचण्डले गर्नुभएको निमन्त्रणाको जवाफ दिँदै मोदीले जुन दोस्रो साता जी सेभेनको बैठकबाट फर्केपछि नेपाल आउने जनाउनुभएको हो । ‘भारतले छिमेक पहिला भन्ने नीति लिएको छ । उहाँ सुरुमै नेपाल आउन चाहे पनि जी सेभेनको सम्मेलन भएकाले त्यता पुगेर फर्कनासाथ आउँछु भन्नुभएको छ’, प्रचण्डले भन्नुभयो । इटालीमा यही जुन १३ देखि १५ सम्म हुने जी सेभेनको बैठक बस्दै छ ।
राष्ट्रपतिसँग शिष्टाचार भेट
भारत भ्रमणका दौरान प्रधानमन्त्री प्रचण्डले भारतकी राष्ट्रपति द्रौपद्री मुर्मूसँग पनि शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटमा नेपाल-भारत सम्बन्धबारे छलफल भएको थियो । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले मोदीको तेस्रो कार्यकालमा दुई देश बीचको सम्बन्धले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
‘नेपालमा लगानीको वातावरण छ’
भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको वातावरण सुदृढ बन्दै गएकाले नेपालमा लगानी बढाउन भारतीय व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । फेडेरेसन अफ इण्डिया चेम्बर अफ कमर्शका प्रतिनिधिहरूसँग ताज होटलमा भएको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल भारतीय लगानीकर्ताका लािग उपयुक्त भएको बताउनुभयो । ऊर्जा, पर्यटन, कृषि लगायतका क्षेत्रमा भारतीय लगानी अपेक्षित रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनका दौरान कानुनहरूमा सुधार गरी नेपालमा लगानीमैत्री वातावरण कायम गरिएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच