सडक सुविधा नहुँदा बारिमै कुहिन्छ गुर्जाको आलु

म्याग्दी । आलु,जडिबुटी, वन पैदावर र खानीजन्य पदार्थले सम्पन्न म्याग्दीको अति दुर्गम गाउँ गुर्जामा सडक सुविधा नहुँदा स्थानीय उत्पादन तथा प्राकृतिक स्रोतहरु अलपत्र परेका छन् ।

समुद्री सतहदेखि तीनहजार दुईसय २० मिटर उचाइमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं १ पर्ने गुर्जा गाउँलाई अहिलेसम्म पनि सडक संजालले छोएको छैन ।

यहाँका किसानले उत्पादन गरेको लेकाली स्वादिलो आलु सडक सुविधाको अभावमा विक्रीका लागि बजारसम्म पुर्‍याउन नसक्दा बारीमा नै कुहिने गरेको छ । हरेक वर्ष किसानले उत्पादन गरेको आलु बजारसम्म पुर्‍याउन नसक्दा बारीमा नै कुहिने गरेको धवलागिरि गाउँपालिका वडा नं १ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

सडक संजालको पहुँच नहुँदा यहाँ खच्चडबाट ढुवानी गर्नु पर्ने वाध्यता रहेको छ । खच्चडबाट ढुवानी गर्दा महंगो पर्ने र आलु विक्रि गरेर प्राप्त हुने रकम ढुवानीमा नै खर्च हुने हुँदा किसानले बारीमा लगाएको र खाएर बचेको आलुलाई खेतबारी र घर धन्सारमा नै कुहाउन वाध्य भएका वडाअध्यक्ष छन्त्यालको भनाइरहेको छ ।

घरायसी प्रयोजन बाहेक विक्रीका लागि लगाइएको आलु बारीमा नै कुहेको गुर्जाका कृषक तुलसी छन्त्यालले बताउनुभयो । “उत्पादन भएको आलु बजारसम्म पुर्‍याउन नसक्दा बारीमा नै कुहाउन वाध्य छौँ, ढुवानीमा अनुदानको व्यवस्था गरिदिए हामीलाई सजिलो हुनेथियो” छन्त्यालले भन्नुभयो ।

गुर्जा गाउँमा दुई सय ६० घरधुरी रहेका छन् । यहाँका प्रायः सबैजनाले आलुखेती गर्ने गर्दछन् । उत्पादित आलु खाद्यान्न र अन्य सामान बोकेर गाउँमा जाने खच्चड वा भरिया मार्फत ढुवानी गरेर बजारसम्म पुर्याउँदा महंगो पर्ने र विक्री नहुने समस्या रहेको स्थानीयले बताएका छन् ।

आलु उत्पादनमा बृद्धिःविक्री नहुँदा समस्या 

म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन् ।

जिल्लाका लेकाली क्षेत्रमा फलेका वर्षे स्वादिष्ट बिक्री नहुँदा किसान मारमा परेका हुन् । यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पिरले आफूहरूलाई सताएको मालिका-२ रुमकी टेकसरा बूढाले बताउनुभयो ।

म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज आलुको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा छ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । आलुको उत्पादन बढे पनि बिक्री हुन नसक्दा समस्या भएको किसानको गुनासो छ ।

विगतका वर्षहरुमा जिल्लामा उत्पादित आलुमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक टनभन्दा बढी आलु निकासी हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ । प्रतिकिलो रु ५० देखि रु एक सय सम्ममा कृषकले आलु बेच्ने गरेका थिए ।

व्यापारीले अग्रिम पेस्की दिएर बारीमा नखन्दै आलु खरिद गर्ने गर्दथे तर यस वर्ष भने प्रतिकिलो रु ३५ मा आलु दिँदा पनि बिक्री हुन नसकेको मङ्गला-४ का तीर्थबहादुर पुनले बताउनुभयो ।

जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, नीलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगङ्गा-६, ७ र ८ र अन्नपूर्ण-५, ६, ७ र ८ नं वडामा गत आर्थिक वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम सञ्चालन गरेको छ ।

स्थानीय तहले आलु खेतीको पकेट क्षेत्र, कृषि ज्ञान केन्द्रले बल्क र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु जोन कार्यक्रममार्फत आलु खेती विस्तार गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत पाँच सय रोपनी जमिनमा आलु खेतीको कार्यक्रम सञ्चालन गरिएको थियो । अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे र हिस्तान, रघुगङ्गाको पाखापानी, ठाडाखानी, चिमखोला र कुइनेमङ्गले, कुइने मङ्गलाको हिँदी, झाँक्रीपानी, किमचौर र टोड्के, मालिकाको बिम र दिच्याम, धौलागिरिको गुर्जा र मरेनी तथा बेनीको भकिम्ली र डडुवा आलु उत्पादन हुने पकेट क्षेत्र हुन् ।

नागी राम्चेबाट वार्षिक रु दुई करोड मूल्य बराबरको आलु निकासी हुने गरेको छ । उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौंलगायत बजार क्षेत्रमा निकासी हुँदै आएको छ । जिल्लाबाट वार्षिक रु छ करोडभन्दा बढी मूल्यको आलु निकासी हुने केन्द्रको तथ्याङ्क छ । कृषि ज्ञान केन्द्रमार्फत यसअघि रघुगङ्गा-८ कुइनेमङ्गले र मङ्गला-३, ४ र ५ मा आलुको व्यावसायिक उत्पादन केन्द्र सञ्चालन भएको थियो । मालिका-६ दिच्याम र ७ बिमलाई आलु बल्क कार्यक्रममा समावेश गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?