काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले निर्माण गरिरहेको खिम्ती-२ जलविद्युत् आयोजनाको सेयर प्रत्याभूति व्यवस्थापन कार्य नागरिक लगानी कोषले गर्ने भएको छ । पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको सेयरको सार्वजनिक निष्कासनका लागि बिहीबार कोषसँग सम्झौता गरेको होे । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गर्नुभएको छ ।
पिपुल्स इनर्जीले रामेछापको खिम्ती खोलामा निर्माण गरिरहेको ४८.८ मेगावाटको खिम्ती-२ जलविद्युत् आयोजनाको जारी पुँजी तीन अर्ब ३० करोडमध्ये २० प्रतिशतले हुन आउने ६६ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । साधारण सेयर सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोषका लगानीकर्ता र कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । निजी क्षेत्रको लगानीमा निर्माणाधीन उक्त आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीका कार्यकारी अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
आयोजनाको ८.३५ किलोमिटर लामो सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको तथा हेडवक्र्स र इलेक्ट्रोमेकानिकलको काम बाँकी रहेको बताइएको छ । कम्पनीका सचिव जनार्दन अर्यालले आगामी एक वर्षभित्र आयोजनाको काम सकेर विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको बताउनुभयो । आयोजनाको वार्षिक कुल अनुमानित आम्दानी पहिलो वर्ष एक अर्ब ४० करोड र वार्षिक तीन प्रतिशतका दरले आठपटकसम्म वृद्धि हुँदा नवौँ वर्षमा एक अर्ब ७४ करोड पुग्ने अनुमान कम्पनीको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच