काठमाडौं । मूलधारका छापा तथा टेलिभिजन सञ्चालकहरूको संस्था मिडिया एलायन्सले अर्थमन्त्री वर्षमान पुनलाई विभिन्न पाँचबुँदे ज्ञापनपत्र बुझाएको छ । एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा सरकारलाई सञ्चारगृहले बुझाउनुपर्ने बक्यौता करमा लगाइएको ब्याज र जरिवाना छुट हुनुपर्ने, बक्यौता कर किस्ताबन्दीमा बुझाउन पाउनुपर्ने र पहिलो किस्ता बुझाइसकेपछि ‘करबापतको किस्ता प्राप्त भएकाले कर चुक्ताको प्रमाणपत्र दिइएको छ’ भन्ने पत्र दिनुपर्ने माग रहेका छन् । त्यस्तो प्रमाणपत्रबाट कारोबार गर्न सजिलो हुनुका साथै सरकारलाई पनि राजस्व प्राप्त हुने आधार तयार हुने एलायन्सको भनाइ छ ।
त्यस्तै, परियोजना धितो राखी सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने, नेपाली लगानीका उद्योग–व्यवसायले आफ्नो वार्षिक कारोबारको एक प्रतिशत र विदेशी लगानीका उद्योग व्यवसायले वार्षिक कारोबारको तीन प्रतिशत आमसञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण गर्ने गरी विज्ञापन खर्च गर्नुपर्ने र सामाजिक सञ्जालमा विज्ञापन दिन रोक्नुपर्ने माग रहेका छन् ।
मिडिया एलायन्सले नेपालको अर्थतन्त्रमा २०७२ सालको विनाशकारी भूकम्पपछि गम्भीर समस्या सिर्जना भएको उल्लेख गर्दै अर्थतन्त्रका अन्य क्षेत्र पुनर्निर्माणका क्रममा केहीमात्रामा सुदृढ भए पनि आमसञ्चार क्षेत्रले आफ्नो अवस्था सुधार्न नसकेको जनाएको छ । नेपाल राष्ट्र बैंकले पनि आमसञ्चार क्षेत्रलाई भूकम्पबाट अति प्रभावितमा नराखेर ‘ख’ श्रेणीमा राखेकाले पाउनुपर्ने सहुलियत ऋणमा पनि यो दोस्रो दर्जामा परेको बताइएको छ ।
आमसञ्चार क्षेत्रले आफ्नो व्यावसायिक अवस्था सुधार्न प्रयास गर्दागर्दै कोरोना महामारी सुरु भएको र त्यसपछि त आमसञ्चार क्षेत्र धरासायी हुनमात्रै बाँकी रहेको ज्ञापनपत्रमा उल्लेख छ । मिडिया क्षेत्रका समस्या समाधानका लागि विगतदेखिका सबै प्रधानमन्त्री र मन्त्रीलाई पटक–पटक जानकारी पनि गराउँदा समस्या समाधानको आश्वासनमात्रै पाएको तर आगामी बजेटमा पनि कुनै सम्बोधन नभएको भन्दै असार २० भित्र माग सम्बोधन नगरिएमा आन्दोलनमा उत्रिने चेतावनीसमेत एलायन्सले दिएको छ ।
ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पुनले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभएको एलायन्सका अध्यक्ष राजकर्णिकारले बताउनुभयो । आफू समस्याका बारेमा जानकारी रहेको बताउँदै अर्थमन्त्री पुनले सक्दो पहल गर्ने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच