संस्कृति शिरोमणी हरिराम जोशीको सम्मान तथा संस्कृति संरक्षण सम्बन्धी अभिमुखीकरण

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडाैं । बोधिचर्या नेपाल र ललितपुर महागनरपालिका-५ वडा कार्यालयको सहयोगमा आयोजित संस्कृति सम्पदा संरक्षणमा जनसहभागिता विषयक अभिमुखीकरणको विहीबार समापन गरियो ।

संस्कृति, सम्पदा संरक्षणमा नागरिकको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले सो अभिमुखीकरणको आयोजना हो । सोही समारोहमा नेपालको इतिहास, संस्कृति, पुरातत्व, धर्म तथा जनजीवनको क्षेत्रमा विशुद्द खोज, अध्ययनमा उल्लेखनीय योगदान गर्नुभएका संस्कृति शिरोमणी हरिराम जोशीलाई सम्मान गरियो ।

८९ वर्षीय जोशीलाई बोधिचर्या नेपालका अध्यक्ष अनिल शाक्यले खादा, ललितपुर महानगरपालिका वडा नं ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठले फूलमाला, ललितपुर महानगरपालिकाका उपमेयर मञ्जरी शाक्यले दोसल्ला ओढाई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तामाङ्गले सम्मानपत्र प्रदान गर्नुभयो । सो अवसरमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग र प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जोशीलाई पुष्पगुच्छा प्रदान गर्नुभयो ।

नेपालको प्राचीन अभिलेख, उत्तर-प्राचीनकाल मुद्रा, हाम्रो संस्कृति, हिन्दु देवीदवता, मध्यकालीन अभिलेख, मेडिएभल, कोलोफोन्स, पेजेज अफ द फर्गटन पास्ट, नेपालको चाडपर्व जोशीका महत्वपूर्ण कृतिहरु रहेको छ । यस किसिमका महत्वपूर्ण ग्रन्थले नेपालको ईतिहास, धर्म, परम्पराको जर्गेना, भावि सन्नति समक्ष हस्तान्तरण गर्न युगयुगसम्म सशक्त माध्यम बनिरहने सम्मापत्रमा उल्लेख गरिएको सम्मानपत्र वाचन गर्दै बोधिचर्या नेपालका सहसचिव सुमन बज्रँचार्यले बताउनुभयो।

समापन समारोहको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ्गले मौलिक संस्कृतिको जर्गेना गरी त्यसलाई अर्थतन्त्रसंग जोडेर नेपालले ठूलै लाभ लिन सक्ने विचार व्यक्त गर्नुभयो । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपालमा विविध संस्कृति, भाषा र परम्पराको जर्गेना गर्नु भनेको देशप्रेम रहेको बताउँदै उहाँले सरकारले ती सबै संस्कृतिलाई प्रर्वद्धन गरी त्यसको माध्यमबाट पर्यटन उद्योगलाई बढावा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मौलिक संस्कृतिमा गौरव नगर्ने, अन्धाधुन्द विदेशी संस्कृतिको नक्कल गर्ने र विश्वव्यापी भूमण्डलीकरणले गर्दा नेपाली संस्कृतिको संरक्षणमा देखापरेको चुनौतीलाई सम्बोधन गर्ने यस किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा पनि मन्त्री तामाङ्गले जोड दिनुभयो । संस्कृति शिरोमणी जोशीलाई सम्मान गर्न पाएकोमा आफूलाई निकै गर्व महसुश भएको मन्त्री तामाङ्गले बताउनुभयो ।

सो अवसरमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले मूर्त र अमूर्त संस्कृति र सम्पदाको जर्गेना,त्यसको महत्वलाई बुझाउन त्यसको अभिलेखीकरण अत्यन्त महत्वपूर्ण रहेकोे धारणा राख्दै अभिलेख राख्ने, त्यसको अध्ययन र अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।

भौतिक सम्पदासंग जोडिएको पु्जाआजा, आस्था, परम्परा, गुठी जस्ता अमूर्त संस्कृतिले नै पुरातात्विक सम्पदाको संरक्षणमा निकै टेवा पुर्‍याउने विचार व्यक्त गर्दै महानिर्देशक प्रधानाङ्गले अमूर्त संस्कृति संरक्षणमा संघ, प्रदेश र स्थानीय तह मिलेर जानुपर्ने बताउनुभयो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले संस्कृति, सम्पदा संरक्षणमा जनतासहभागिताको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै त्यस सम्बन्धी विभिन्न ज्ञान, तालिमका माध्यम जनसहभागितामा अझ वृद्धि र प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

ललितपुर महानगरपालिका वडा नं ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठले ललितपुर सञ्चालित हुने विभिन्न जात्रा, पर्वहरु विश्व सम्पदा सूचीमा समावेश गराउन सक्ने विषयमा अध्ययन हुन जरुरी रहेको बताउनुभयो। उहाँले संस्कृति, सम्पदा सम्बन्धी अध्ययन, कार्यक्रमहरुलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समारोहमा वडा सदस्य शोभादेवी प्रधान श्रेष्ठले नेपाली संस्कृतिको विशेषता र महत्व बुझाउन वडाले सो कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले संस्कृति,सम्पदाको विषयमा अध्ययन गर्ने, बहस तथा छलफललाई स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने खाँचो औल्याउनुभयो । भौतिक सम्पदाको संरक्षणको विषयको तुलनामा अमूर्त संस्कृति संरक्षणको विषयमा खासै ध्यान नगएको चर्चा गर्दै वरिष्ठ उपाध्यक्ष महर्जनले भन्नुभयो ‘ विशेषगरी स्थानीय तहले संस्कृति सम्बन्धी अन्तरक्रिया, छलफल र अभिमुखीकरण कार्यक्रम गर्नुपर्दछ। यो पनि संस्कृति संरक्षण सम्बन्धी एउटा प्रभावकारी उपायका रुपमा लिनुपर्दछ।’

समारोहमा बोधिचर्या नेपालका अध्यक्ष अनिल शाक्यले मूर्त र अमूर्त संस्कृति, संस्कार र परम्परामा निहित जीवनदर्शन, ज्ञानको अध्ययन गरी त्यसको प्रवाह गरी मानवसमाजको कल्याण गर्नुपर्ने बताउनुभयो । सो समारोह बोधिचर्या नेपालका उपाध्यक्ष कपिल शाक्यले सञ्चालन गर्नुभएको थियो ।

सो अवसरमा अभिमुखीकरणमा सहभागीहरुलाई मन्त्री तामाङले प्रमाणपत्र वितरण गर्नुभयो । जेठ २४, २५, २६ र २९ गते भएको सो कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो । अभिमुखीकरणमा संस्कृति सम्पदाको जनसहभागिताको महत्व, त्यसका सैद्धान्तिक विषय, नीतिगत तथा कानुनी विषय, संस्कृति सम्पदा संरक्षणका चुनौती र उपाय र संस्कृति संरक्षणमा मौखिक परम्पराको स्थानको विषयमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधान, लोप भएको पायो जात्रा पुनःसञ्चालनको प्रयासको विषयमा राजेश बज्राचार्य, नागरिक पत्रकारिता र सूचनाको हकको विषयमा पत्रकार सुनील महर्जन र संस्कृतिको विषयमा सामाजिक सञ्जाल मार्फत परैवीको विषयमा पृथबिन्दु महर्जनले प्रस्तुत गर्नुभएको थियो ।

समारोहमा वडाका सदस्यहरु अशोककुमार श्रेष्ठ, पुनम निरौला र मञ्जु रिजालको पनि उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?