रोहितको कप्तानी पारीमा नेपालको जित

स्कटल्याण्डलाई दुई विकेटले हराउँदै सिरिज कब्जा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । कप्तान रोहित पौडेलको कप्तानी पारीमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा लगातार चौथो जित हात पारेको छ । नेपालले मंगलबार च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटले जित हात पारेको हो । लिग-२ मा नेपालले पहिलोपटक चारै खेल जितेको हो ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २१३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेल १०१ बलमा सात चौका र चार छक्कासहित ९५ रनमा अविजित रहनुभयो । करण केसी ३७ बलमा दुई चौका र एक छक्कासहित ३१ रनमा अविजित रहनुभयो ।

३१ ओभरको खेल सकिँदा १३८-८ रनको दयनीय अवस्थामा रहेको नेपाललाई रोहित पौडेल र करण केसीले उठाउनुभएको थियो । रोहित र किरणले नवौँ विकेटका लागि ७५ रनको साझेदारी गर्दै जित दिलाउनुभएको थियो ।

नेपालले खराब सुरुवात गरेको थियो । दोस्रो ओभरमै ओपनर कुशल भुर्तेल एक रनमा आउट हुनुभएको थियो । अर्का ओपनर आसिफ शेख १२ रनमा आउट हुनुभयो । यस्तै, ज्ञानेन्द्र मल्लल २१ रनमा एलबिडब्लु आउट हुनुभयो । उहाँले ३० बलमा चार चौका हान्नुभयो ।

त्यसपछि पनि नेपालको विकेट खस्ने सिलसिला जारी रहृयो । कुशल मल्ल १७ रनमा बोल्ड हुनुभयो । दीपेन्द्र ऐरी पनि सात रनमा बोल्ड हुनुभयो । यस्तै, अलराउण्डर सोमपाल कामी दुई र सन्दीप नौ रनमा क्याच हुँदा नेपाल १३८ रनमा आठ विकेट गुमाएको दयनीय अवस्थामा पुगेको थियो ।

स्कटल्याण्डका क्रिस ग्रेभ्सले १० ओभरमा ६१ रन खर्चेर दुई तथा मार्क वाटले १० ओभरमा एक मेडनसहित २९ रन खर्चेर तीन विकेट लिनुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा २१२ रन जोड्दै सबै विकेट गुमाएको थियो । स्कटल्याण्डका ओपनर जर्ज मुन्शे ५० बलमा नौ चौका र दुई छक्कासहित सर्वाधिक ६० रनमा आउट हुनुभएको थियो । उहाँको यो ११औँ एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक हो ।

म्याथ्यु क्रसले ६३ बलमा ४२ रन बनाउँदा ब्राण्डन म्याकमुलनले ३१ रन थप्नुभयो । क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अंक जोड्न सक्नुभएन ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिनुभयो । करण केसीको नाममा तीन विकेट रहँदा कुशल मल्ल र ललितनारायण राजवंशीले समान एक-एक विकेट लिनुभयो ।

यस खेलमा नेपालका बलर करण केसीले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट लिनुभएको छ । यसै खेलमा केसी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी बन्नुभयो । यसअघि पूर्वकप्तान सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गर्नुभएको थियो । कुशल मल्लले ६ ओभरमा ३० रन खर्चेर १ विकेट लिनुभयो । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिनुभयो ।

स्कटल्याण्ड नेपालसँग पहिलो खेलमा तीन विकेटले पराजित भएको थियो । नामिबियालाई १० विकेट र ४३ रनले पराजित गरेको थियो । नेपालले भने नामिबियालाई तीन र दुई विकेटले पराजित गरेको थियो ।

हारे पनि स्कटल्याण्ड यसअघि नै सिरिजको विजेता बनिसकेको छ । उसको ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंक छ । यस्तै, नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?