शिवाकोटीको प्रष्टीकरण : ‘सिन्धुज्वाला प्रकरण’ मा नाम जोडिएकोमा आपत्ति, समाचारको खण्डन

Read Time = 4 mins

काठमाडौं । सिन्धुज्वाला हाइड्रोपावर कम्पनीमा भएको आर्थिक अनियमिततामा आफ्नो नामसमेत जोडिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का नेता राजनबहादुर शिवाकोटीले आपत्ति जनाउनुभएको छ । शिवाकोटीले हिमालय टाइम्समा सोमबार प्रकाशित ‘सिन्धुज्वाला घोटालामा श्रेष्ठलाई शिवाकोटीको साथ’ शीर्षक समाचारको खण्डन गर्नुभएको हो । यस दैनिकमा सिन्धुज्वालाका पूर्वअध्यक्ष चुर्नप्रसाद श्रेष्ठसँगको मिलेमतोमा उक्त कम्पनीको ५४ करोड घोटाला गरेको समाचार प्रकाशित भएको थियो । तर, शिवाकोटीले विगतमा सिन्धुज्वालामा आफू हाइड्रोको जनसम्पर्क अधिकृतका रूपमा कार्यरत रहे पनि २०७६ देखि नै अलग भइसकेकाले घोटालामा आफ्नो कुनै भूमिका नरहेको दाबी गर्नुभएको छ । उहाँले हिमालय टाइम्ससँग भन्नुभयो, ‘सिन्धुज्वालामा म २०७४ देखि २०७६ सालसम्म कार्यरत थिएँ । तर, तलबी सुविधामा होइन, मेरो त्यहाँ हाजिरी पनि छैन । कन्सल्ट्यान्टका रूपमा थिएँ । त्यसैले कम्पनीको आर्थिक कारोबारमा मेरो कुनै संलग्नता हुने कुरै भएन ।’

सिन्धुपाल्चोकको गुम्बास्थित निसमखोलामा कार्यक्षेत्र हुने गरी दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला हाइड्रोले २०६५ देखि सेयर वितरण प्रक्रिया सुरु गरेको थियो । १७ सय ९१ जना सेयर सदस्यबाट संकलित ५४ करोडभन्दा बढी रकम हिनामिना भएको पीडित तथा सेयर सदस्यहरूले दाबी गर्दै आएका छन् । पीडितहरूका अनुसार संकलित रकम पूर्वअध्यक्ष चुर्नप्रसादले बनेपामा पेट्रोल पम्पमा लगानी गर्नुभएको छ भने उहाँका छोरा कविन्द्र श्रेष्ठको नाममा होटल तथा रेष्टुरेन्ट, छोरी कविता श्रेष्ठको नाममा मैतीदेवीमा विदेशी कपडा तथा रक्सी होलसेल पसलमा लगानी छ । हाल कम्पनीमा गैरकानुनी समिति खडा गरी आफ्नै छोरा कविन्द्रलाई अध्यक्ष र छोरी कवितालाई सञ्चालक सदस्य बनाएर मनोमानी गरिरहेको उनीहरूको आरोप छ । पीडितहरूको यिनै गुनासालाई आधार बनाएर यस दैनिकले समाचार सम्प्रेषण गरेको थियो । तर, समाचार प्रकाशित गर्दा एकतर्फी भएको भन्दै शिवाकोटीले आपत्ति जनाउनुभएको हो ।

शिवाकोटीले राप्रपाका नेताहरू बुद्धिमान तामाङ, राप्रपा दोलखाका नेता शोभित उप्रेती, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समेत नाम समाचारमा जोडिएको भन्दै आपत्ति जनाउनुभएको छ । हाइड्रोका विभिन्न निर्माण कार्यसँग सम्बन्धित मोक्तान कन्ट्रक्सनलगायतका निर्माण कम्पनीले हालसम्म भुक्तानी नपाएको गुनासो गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?