काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्र र नेकपा एमाले सम्मलित सत्तारूढ गठबन्धनमा खटपट सुरु भएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुटेर गत फागुन २१ गते माओवादी/एमाले नेतृत्वको वर्तमान गठबन्धन बनेको थियो । गठबन्धन बनेको तीन महिना पूरा भएसँगै आबद्ध दलहरू बीचको आन्तरिक मनमुटाव छताछुल्ल हुन थालेको छ । वर्तमान सत्ता गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएर गएको अशोक राई नेतृत्वको जसपा आबद्ध छन् । हुन त वर्तमान गठबन्धन बनेदेखि नै आबद्ध दलहरूबीच मनमुटाव सुरु भएको थियो । पछिल्लो दिनहरूमा आन्तरिक मतभेद थप बढ्न थालेको छ । आशंका र असन्तुष्टिका बाबजुत पनि सत्ताबाट बाहिरिनुपर्ने भयका कारण जेनतेन अघि बढिरहेको गठबन्धन भित्रको मतभेद दिन प्रतिदिन गाढा बन्दै गएको छ ।
पछिल्ला दिनहरूमा गठबन्धन निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका नेताहरूबाटै गठबन्धन सरकारप्रति आक्रोशपूर्ण टिप्पणी सुरु भएको छ । गठबन्धनमा आबद्ध दलहरू नेकपा एमाले, रास्वपा र नेकपा एसमा सरकार प्रतिको असन्तुष्टिको ग्राफ उकालो यात्रामा छ । वर्तमान गठबन्धन र सरकारलाई पूरापूर समर्थन गरिरहेको रास्वपाभित्र समेत पछिल्ला दिनहरूमा सरकारको कार्यशैलीलाई लिएर प्रश्न उठ्न थालेको छ । कतिसम्म कि सरकारमै सहभागी रास्वपाका नेताहरू सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्नुपर्ने बेला आएको भन्न थालेका छन् । वर्तमान गठबन्धन र सरकार बनाउन मुख्य भूमिका खेल्नुभएका सत्तारूढ दलको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त बजेटलाई लिएर सरकारप्रति निरन्तर असन्तुष्टि पोख्दै आउनुभएको छ । आफ्नै पार्टी सहभागी सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति अध्यक्ष ओलीको असन्तुष्टि पछिल्ला दिनहरूमा आक्रोशमा परिणत हुन थालेको छ ।
देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुने ? : ओली
सत्तारूढ दलको मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको आरोप लगाउनुभएको छ । संसद् भवनस्थित ल्होत्से हलमा शनिबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको टिप्पणी गर्नुभएको हो । एक/दुई जनाको मुख हेरेर सरकारमा छँदै छौँ भनेर नहुने उहाँको तर्क छ । सरकारले संसद्मा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि पुनः असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अगाडि बढ्ने बाटो भनेको बजेट हो । त्यसैले बजेटको सन्दर्भमा एक दुई जनाको मुख हेरेर कति ठीक कति बेठीक त्यसमा अलि छलफल गर्नुपर्ने हुन्छ । एक दुई जनाको मुख हेरेर अनि हामी सरकारमा छौँ भनेर, गरिबीतिर देश गए पनि के भयो र ? हामी सरकारमा छँदै छौँ भनेर हुन्छ ? हामी सरकारमा किन गएको भने देशलाई गरिबीबाट रोकेर विकासतर्फ अघि बढाउन हामी सरकारमा गएको हो । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ?’
एमालेले चलाइरहेको मन्त्रालयहरूको बजेटको स्थिति राम्रो नभएको र यस्ता विषयमा खुलेर छलफल गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले नै चलाइरहेका मन्त्रालयहरूको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ त्यसको विनियोजन ? त्यो पनि हेर्नुपर्ने हुन्छ । यी सबै विषयमा साथीहरूले खुलेर छलफल गर्नुस् । बाहिर बजारमा फिँजाउने कुरा होइन । बजारमा भन्दै हिँड्ने, त्यसले कुनै फेसबुकले कुनै कुरालाई सच्याएर ल्याइदिँदैन । त्यो ठीक ठाउँको छलफल, ठीक ठाउँको सुझाव, ठीक ठाउँका निर्णयबाट मात्रै स्थितिमा परिवर्तन आउँछ ।’
एमालेविरुद्ध तीव्र हमला भइरहेको दाबी
अध्यक्ष ओलीले एमालेविरुद्ध तीव्र हमला भइरहेको दाबी गर्नुभएको छ । विरोधी शक्तिहरू राष्ट्रिय शक्तिलाई कमजोर बनाएर देश अगाडि नबढोस् भन्ने चाहनाका साथ अगाडि बढेका जिकिर गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टीविरुद्ध हमला अत्यन्तै तीव्र रूपमा भइरहेको छ । दिनैपिच्छे नयाँ-नयाँ अकल्पनीय कुराहरू आविष्कार गरेर बजारमा भ्रम फैलाइएको छ । आज बिहान मैले एउटा मिडियामा देखेँ, केपी ओलीले पाँच अर्ब खाइसक्यो, निलिसक्यो कि, मुखमा मात्र हाल्न ठिक्क पारेको छ, चार अर्ब कि पाँच अर्ब केपी ओलीले खायो भनेर । हाम्रा विरोधीहरू, प्रतिक्रियावादीहरू-जो देश अगाडि नबढोस् भन्ने चाहन्छन्, राष्ट्रिय शक्तिलाई कमजोर बनाउन चाहन्छन् उनीहरूले यस्तै कुरा गरिरहेका छन् ।’ अध्यक्ष ओलीले आफू सरकारमा भएको बेला गरिबी घटाएर १७ प्रतिशतमा झारेकोमा अहिले बढेर २० प्रतिशत पुगेको जिकिर गर्नुभयो ।
सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्नुपर्ने बेला भएको छ : श्रेष्ठ
खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनको विषयमा रास्वपाभित्र समीक्षा भइरहेको बताउनुभएको छ । रास्वपाको स्थापनाको अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार पुरानै कर्मकाण्डी शैलीमा चलेको टिप्पणी गर्नुभयो । ‘अहिले हामी सरकारमा छौँ । सत्ता अहिले पनि पुरानै शैलीमा कर्मकाण्डी तरिकाले चलिरहेको छ । उपलब्धि नहुने गरी हामी दुई धारे तरबारको बीचमा चलिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत ढंगले कुनै सम्झौता गर्नुपर्यो भनेदेखि त्यो दिनै रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ । त्यो तयार गरेरै बोकेरै हामी हिँडेका छौँ । सरकारलाई दिएको समर्थनको बारेमा एकचोटि समीक्षा गर्नुपर्ने बेला पनि छ ।’ रास्वपालाई जनअपेक्षा र आशालाई पनि जोगाइराख्नु पर्ने र सम्भावनाको पनि खोजी गर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।
एमालेले सरकारमा नभएको जस्तो व्यवहार देखाइरहेको छ : थापा
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले सरकारमा भएर पनि नभएको जस्तो व्यवहार देखाइरहेको आरोप लगाउनुभएको छ । शनिबार नेपाली कांग्रेसको नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले मन्त्रिपरिषद्मा जुनियर मन्त्री पठाउनुका साथै सरकारको कामको पनि एमालेले जिम्मा नलिएको आरोप लगाउँदै भन्नुभयो, ‘सरकारमा उसले जुनियर मन्त्रीहरू पठाएको छ, हेर्दाखेरि मात्रै जुनियर मन्त्रीहरू पठाएको होइन । किन पठाएको हो भने सरकारमा आफू बस्ने पनि तर नागरिकको बीचमा गएर यो सरकार मेरो हो भनेर जिम्मा नलिने । हेर्नुस् त बजेटमा कसरी पन्छिएको ? सरकार आफ्नो छ, यो बजेट माओवादीको जस्तो देखियो । यो बजेटमा रातोरातो देखियो भनेर सर्लक्क पन्छिएको छ ।’ एमाले अबको दुई/तीन वर्ष सरकारमा रहने तर सरकारको कामको जिम्मा नलिने रणनीतिमा देखिएको जिकिर गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘अबको दुई, तीन वर्षको राजनीतिमा नेकपा एमाले सरकारमा रहिरहन चाहन्छ । सबै खेलोफड्को उसले पनि गर्छ । तर जिम्मा लिँदैन ।’ प्रचण्ड प्रधानमन्त्री भइरहने रणनीतिमा मात्र रहेको भन्दै थापाले किन प्रधानमन्त्री भइरहेको भन्ने जवाफ स्वयं प्रधानमन्त्रीसँग नै नरहेको टिप्पणी गर्दै भन्नुभयो, ‘देशको अर्थतन्त्रको हिसाब किताब बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ र आगामी दिनमा यो थप बढ्दै जानेवाला छ । हामी प्रतिपक्षमा छौँ । माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने ? भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन । के को लागि हुनुभएको हो ? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन ।’
सरकार नै भताभुंग होला भन्ने सुन्दै छु : विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अर्थतन्त्र निर्माणमा सरकार अलमलिएको बताउनुभएको छ । जनश्रम कृषि सहकारी संस्था लिमिटेडले शनिबार गरेको अन्तरसंवादमा चन्दले आर्थिक दृष्टिकोण र आर्थिक निर्माणको सम्बन्धमा राज्य अलमलिएको दाबी गर्नुभएको हो । उहाँले आगामी आर्थिक वर्षको बजेटबारे सरकारमा सहभागी दलका प्रभावशाली नेताहरूले नै आलोचना गरिहेको भन्दै नागरिकले बजेटबाट के आशा राख्ने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले १२ खर्बको राजस्व र १८ खर्बको बजेटले नेपाली जनताको जीवनलाई समृद्ध तुल्याउन नसक्ने बताउनुभयो । उहाँले सरकारमा सहभागी मान्छेहरूको कुरा सुन्दा केही समयपछि सरकार भताभुंग हुने हो कि भन्ने देखिएको पनि बताउनुभयो । सरकारमा बसेकै मान्छेमा देखिएको कमजोर आत्मविश्वासले आशा गर्ने ठाउँ नरहेको चन्दको भनाइ छ ।
प्रचण्डलाई सुशासनको कुरा सुहाउँदैन : कोइराला
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको कुरा गर्न नसुहाउने जिकिर गर्नुभएको छ । जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गिरीबन्धु टी-स्टेटको कुरा बाहिर ल्याएपछि तीन नेता बालुवाटारमा बसेको आरोपसमेत लगाउनुभयो । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले झापास्थित गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजार करोड अपचलन गरेको आरोप लगाएपछि तीन दलका शीर्ष नेताहरू छलफलमा बसेको उल्लेख गर्दै कोइरालाले भन्नुभयो, ‘भ्रष्टाचार बढेको बढ्यै छ । कहीँकतै पनि भ्रष्टाचारमा कमी आएको म देख्दिनँ । दुर्भाग्य भन्नुपर्छ, कहीँकतै कुनै शीर्ष नेतालाई कुनै ठाउँबाट, अस्ति बालेनजीले गिरीबन्धुको कुरा निकाल्दिनुभो । त्यसको भोलिपल्टै तीनवटै शीर्ष नेता बालुवाटारमा बस्नुभो, बालेनलाई कसरी तह लगाउने भनेर ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच