अष्ट्रेलियाको विकासको इतिहासलाई गहिरिएर अध्ययन गर्ने हो भने देशको विकास र समृद्धिको सुरुवात गर्न आफैसँग आन्तरिक आर्थिक स्रोत योजनाकार, विशेषज्ञ प्राविधिक र श्रमिक हुनुपर्छ भन्ने रहेनछ भन्नलाई प्रमाण पाइन्छन् । बजेट योजनाकार, विशेषज्ञ प्राविधिकका अतिरिक्त दक्ष श्रमिक आदिको व्यवस्था गर्न अष्ट्रेलियाको वर्तमान शिक्षा र प्रशिक्षण नीतिको सफलता विश्वका विकासोन्मुख देशका लागि अध्ययन, अनुकरणका विषय हुन् । वनमा नै भएको ढुंगालाई प्रयोग गरेर सिकारीले चरालाई मार्छ र भोक मेट्छ । त्यस्तै अष्ट्रेलियाको विकासको अनौंठो विषय के हो भने विद्यार्थीका रूपमा आयातीत योग्य जनशक्ति सँगसँगै ऊसँगै आयात भएको नगदसमेतको सहायताले आफ्नो विकासको भोक मेट्ने प्रयोगात्मक तथ्य आधुनिक विकासका सन्दर्भमा महत्वपूर्ण मोडल हो ।
अझ आफ्नो विशाल भू-भागलाई विभिन्न प्रकारले उपयोग गर्न आवश्यक जनशक्तिलाई आफ्नै देशमा राख्न आवासीय स्थायी नागरिकता समेतको जुन वैज्ञानिक प्रबन्ध गरेको छ त्यसले विकासलाई स्थायित्व प्रदान गरेको छ । अष्ट्रेलियाले आफूलाई विकसित देशको श्रेणीमा उभ्याउने रणनीति संसारका विकासोन्मुख देशका लागि स्वयंसिद्ध तथ्य हुन् । साधनस्रोतलाई कसरी परिचालन गर्ने भन्ने निर्णय सम्बन्धित देशको भूगोल, जनशक्ति, हावापानी, वनस्पति आदिमा भरपर्ने विषय भएकाले कुन मोडल उपयुक्त हुन्छ र स्थायी हुन्छ भन्ने कुराको निक्र्याैल सम्बन्धित देशका योजनाकारको हो । विकासका रणनीतिलाई आफ्नो सन्दर्भमा कसरी प्रयोग गर्ने भनेर सिक्ने विकासोन्मुख देशका योजनाविद्हरूका लागि अष्ट्रेलिया गुणस्तरीय पाठशाला हो ।
अष्ट्रेलियाले विश्वभरका देशका विद्यार्थीलाई अध्ययनका लागि आकर्षण गर्ने जुन योजना बनायो ‘वनका ढुंगा, वनका चरा मोडल’ नै हो र यो विकासको पूर्वाधार बन्यो । संसारभरका विद्यार्थीलाई पढ्न आकर्षण गर्ने रणनीति कालान्तरमा अष्ट्रेलियाका लागि वरदान बन्यो ।
विश्वका विकासोन्मुख देशका सरकारी अर्थशास्त्रीहरूले ‘वनका ढुंगा वनका चरा’ जस्तै अष्ट्रेलियन मोडलको विकासको सूत्र पत्ता लगाउन किन सक्दैनन् ? अष्ट्रेलियाको वनकै ढुंगा वनकै चरा मोडलको विकासलाई आफ्नो परिपेक्षमा कसरी अवलम्बन गर्ने भन्ने विषयलाई यदि योजनाकारले पहिल्याउन सके भने त्यस्ता देशहरूले लामो समयदेखि थाती रहेको विकासको भोक अल्पकालमा नै मेट्न सक्छन् । विकासका लागि छट्पटिएका देशहरूले एकपटक अष्ट्रेलियाको शिक्षा र अर्थतन्त्रको समन्वयात्मक रणनीतिलाई आफ्नो परिस्थिति र परिवेशको सन्दर्भमा आत्मसात गर्नसके भने ती देशहरूलाई विकासको उपयुक्त नयाँ सूत्र पहिल्याउन पक्कै सहयोग गर्छ ।
विकासोन्मुख देशहरू निवेश गर्ने स्रोतको अभावमा योजनाकार, विशेषज्ञ, प्राविधिक जनशक्ति र श्रमशक्ति हुँदाहुँदै विकासको थालनीसम्म गर्न अल्मलिएको अवस्थामा विकासका पूर्वाधारका रूपमा रहेको जनशक्तिलाई कुशलतापूर्वक परिचालन गर्ने अष्ट्रेलियाको वनकै ढुंगा वनकै चरा विकासको मोडल तेस्रो विश्वका लागि अनुसन्धान र प्रयोग गर्न उत्प्रेरित गर्ने विश्वकै दुर्लभ पाठशाला हो । विकासका मोडलहरू विश्वका देशहरूको परिस्थिति परिवेश अनुसार फरक-फरक हुन्छन् । ती फरक मोडललाई अध्ययन गर्दा आफ्नो भूगोल, जनशक्ति जस्ता विषयले कुन मोडललाई प्रयोग गर्दा विकासले मूर्तरूप लिन सक्छ भन्ने चिन्तनको कति महत्व हुन्छ भन्ने कुरा अष्ट्रेलियाको शिक्षानीति र अर्थनीतिको वैज्ञानिक समन्वयको अध्ययनले पुष्टि गर्छ । यदि जिम्मेवारीमा रहेका योजनाविद्, अर्थशास्त्रीहरू र सरकारका जिम्मेवार चिन्तनशील र इमानदार भए भने विकास किन हुँदैन भन्ने प्रमाण पनि हो अष्ट्रेलियाको संसारलाई लोभ्याउने आर्थिक विकास ।
अष्ट्रेलियाले विश्वभरका देशका विद्यार्थीलाई अध्ययनका लागि आकर्षण गर्ने जुन योजना बनायो ‘वनका ढुंगा, वनका चरा मोडल’ नै हो र यो विकासको पूर्वाधार बन्यो । संसारभरका विद्यार्थीलाई पढ्न आकर्षण गर्ने रणनीति कालान्तरमा अष्ट्रेलियाका लागि वरदान बन्यो । यो सूत्र पत्ता लगाउने आर्थिक योजनाविद् र त्यसलाई इमानदार कार्यान्वयन गर्ने सरकार आधुनिक अष्ट्रेलियाको विकास र समृद्धिका जग हुन् । विकासको सफलताले साधनस्रोत जनशक्ति नहुनेहरूलाई पनि यदि आफ्नो सन्दर्भमा राम्रो मोडल विकास गर्न सकियो भने विकास गर्न सकिन्छ भन्ने कुरा उक्त मोडलले उत्प्रेरणा दिन्छ ।
यो रणनीति र योजना अख्तियार गर्ने अष्ट्रेलिया सरकार र अष्ट्रेलियन योजनाकारको सफलता प्रशंसनीय छ । अष्ट्रेलियाको बहुसांस्कृतिक संस्कृतिमैत्री इमानदार व्यवहारले आप्रवासीका रूपमा अष्ट्रेलिया बस्न आप्रवासी विद्यार्थी लठ्ठिएका छन् । यिनीहरूकै सहयोगले अष्ट्रेलियालाई विकसित देशमा रूपान्तरण गर्यो । के गाउँ के शहर पक्की सडक, सबै उमेर समूहका लागि सुसज्जित पार्कको व्यवस्था, मोबाइल पुस्तकालय, बिजुली, ग्यास, पानी, इन्टरनेटलगायत सुविधाका अतिरिक्त अन्य धेरै सेवा, सुविधाहरूको वितरणको निष्पक्षता र समानताले गाउँ र शहरको अन्तरलाई निमिट्यान्न गर्ने प्रयास विकास अर्थशास्त्रको दृष्टिकोणले महत्व राख्ने विषय हुन् ।
बालक, युवा, वृद्ध र शारीरिक अशक्तहरूका लागि विविध प्रकारका गुड्ने सामग्रीहरूको राज्यबाट सुविधा, अशक्त, बालबालिकामैत्री सडक, आर्थिक मन्दीको समयमा नागरिकलाई एकमुष्ट आर्थिक सहयोग, गरिबीहरूलाई कर फिर्ता र पटके आर्थिक सहयोग, अठार वर्षभन्दा कम उमेरकालाई विशेष आर्थिक सहयोग, कोरोनाको समयमा आम्दानी बन्द भएका कामदार र व्यापारीहरूलाई पटके आर्थिक सहयोग, ज्येष्ठ नागरिकलाई बस, ट्राम, रेल आदिमा निःशुल्क यात्रा, पहिलोपटक घर खरिद गर्दा दश हजार डलर अनुदान र रजिष्ट्रेसन शुल्क मिनाहा, विद्यार्थीले कमाएपछि तिर्ने शर्तमा सहुलियतपूर्ण ऋण, बालबालिकालाई खेलौना पुस्तकालयजस्ता राहत र सुविधाका धेरै शीर्षक समयानुकूल प्रयोग हुन्छन् ।
आप्रवासी युवा जनशक्तिको योग्यता, विज्ञता, विशेषज्ञतालाई अझै समयानुकूल प्रबद्र्धन गर्ने शिक्षा र प्रशिक्षण नीतिले अष्ट्रेलियाको विकासलाई गुणस्तरीय बनाएको छ । सबै क्षेत्रहरूमा काम गर्ने श्रमिकहरूलाई विविध प्रकारका दीर्घकालीन तथा अल्पकालीन प्रशिक्षण दिएर जुन दक्षता विकास गरेको छ त्यसले विकासका सबै संरचनाहरू गुणस्तरीय छन् । आप्रवासी विद्यार्थीहरूको पैसा र आप्रवासीहरूकै श्रमलाई उच्चतम सदुपयोग गरेर अष्ट्रेलियाले आफ्नो विकासमात्रै गरेन आप्रवासीहरूलाई स्थायी बसोवासका लागि आकर्षितसमेत गर्यो । पढ्ने दृष्टिकोणले आएका विद्यार्थीलाई आफ्नो जन्मेको भूमिलाई बिर्साउने विकास र विविध सुविधाले उनीहरू मातृभूमिको नागरिकता जस्तो महत्वपूर्ण वस्तुलाई परित्याग गर्न आतुर छन् । कस्तो आश्चर्य !
समानुपातिक विकास र नागरिकलाई सुखी, खुशी बनाउने विकासका संरचना, प्रविधि, उपभोग्य वस्तुको विश्वसनीय आपूर्ति व्यवस्था विश्वभरका नागरिकलाई आकर्षित गर्ने र एक पटक अष्ट्रेलिया प्रवेश गरेपछि फर्कन मन नलाग्ने मोहनी हुन् ।
फेरि विश्वभरका अष्ट्रेलियामा जम्मा भएका विविध भाषा, रहनसहन, संस्कृति र विश्वास गर्ने नागरिकबीच अत्यन्तै सुमधुर सम्बन्ध कायम गरेर आफ्नो विकासमा अधिकतम् परिचालन गर्ने रणनीति प्रशंसनीय छ । हाम्रोजस्तो सामाजिक, राजनीतिक र आर्थिक बेथितिले थिल्थिलिएको देशले अष्ट्रेलियाको शिक्षा, प्रशिक्षण, उक्त मोडलको विकासले पारेको सकारात्मक प्रभावको राम्रो अध्ययन गरेर देशको विकासको नयाँ खाका कोर्ने उपाय तथा सूत्रहरू पहिल्याउन सहयोग गर्छ । समानुपातिक विकास र नागरिकलाई सुखी, खुशी बनाउने विकासका संरचना, प्रविधि, उपभोग्य वस्तुको विश्वसनीय आपूर्ति व्यवस्था विश्वभरका नागरिकलाई आकर्षित गर्ने र एक पटक अष्ट्रेलिया प्रवेश गरेपछि फर्कन मन नलाग्ने मोहनी हुन् ।
विद्यार्थीरूलाई वर्तमानमात्रै होइन भविष्य, आकांक्षा र भावनालाई समेत सम्बोधन गर्ने विविध, सुविधाको सुनिश्चित जस्ता विषयले व्यक्तिलाई कर्तव्यनिष्ट बनाउन खेलेको भूमिका विकासोन्मुख देशहरूले अनुकरण गर्ने मुख्य विषय हुन् । कामसँग प्रविधिलाई यसरी अन्तरसम्बन्धित बनाएको छ कि प्रविधि र कामदार एक अर्काका परिपूरक हुन् । अष्ट्रेलियाका नागरिकहरूको दिनचर्या नै काम, दाम, माम र मनोरञ्जन हुन् । कामले रुपैयाँ दिन्छ । रुपैयाँले माम र मनोरञ्जन प्राप्त हुन्छ । शिक्षा, स्वास्थ्यका साथै बाल, वृद्धा र अशक्तको जिम्मेवारी सरकारले लिने व्यवस्थाले नागरिकमा धन सञ्चय गर्नेभन्दा धनलाई उपभोगमा र मनोरञ्जनात्मक क्षेत्रमा खर्च गर्ने दृष्टिकोण प्रबल छ । जहाँ जनताले उपभोगलाई उच्च प्राथमिकता दिन्छन् त्यहाँ उत्पादन र रोजगारी स्वतःवृद्ध हुन्छ ।
श्रमप्रतिको सम्मान, स्वाभिमानको कदर, बौद्धिक श्रमको तुलनामा शारीरिक श्रमलाई उच्च पारिश्रमिक, सामाजिक सम्मान, काम कुनै साना हुँदैनन्, सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक र निष्ठापूर्वक गर्नुपर्छ । अष्ट्रेलियाको स्थायी आवासीय भिसाको नियम र नीतिलाई वर्षैपिच्छे परिवर्तन छ । देशलाई कस्तो जनशक्तिको आवश्यकता छ ती जनशक्तिहरू मात्र स्थायी आवासीय भिसाको प्राथमिकतामा पर्छन् ।
परिणामस्वरूप ती विषयको जनशक्ति भित्र्याउने रणनीतिले अष्ट्रेलियाको विकासको गतिलाई निरन्तरता दिएको छ । अष्ट्रेलिया पढ्न आएका नेपाली विद्यार्थीहरू नेपाल फर्कन्छन् कि भन्ने आशा तिनका परिवारले र सरकारले नगर्दा हुन्छ । यो सुविधायुक्त जेलबाट कोही निस्कँदैनन् । त्यसैले नेपाल सरकारका योजनकारले यहाँबाट नयाँ तर देशका लागि उपयुक्त हुने विकासको मोडल रोज्नका लागि यो उत्तम थलो हो । हुन त सुझावहरू कार्यान्वयन नहुने अवस्थामा सुझाव दिनु कति उत्तम हो यसको छिनोफानो आदरणीय पाठकलई दिँदै कलम बन्द गर्ने अनुमति लिन्छु । (अष्ट्रेलियाको मेलबर्नबाट)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच