म्याग्दी । म्याग्दीमा रहेका तीन सयवर्ष भन्दा पुराना देवल,ऐतिहासिक स्थल र प्राचिन सम्पदाहरुको संरक्षण गर्न थालिएको छ ।
धार्मिक तथा ऐतिहासिक महत्वका देवल, ऐतिहासिक स्थल र प्राचिन सम्पदाहरुको प्रचारप्रसार र मर्मत सम्हार गरेर संरक्षण गर्न थालिएको हो ।
सदरमुकाम बेनी लगायत जिल्लाका ६ वटै स्थानीय तहहरुमा रहेका पुरातात्विक तथा शिखरशैलीका देवल र प्राचीन सम्पदाहरु प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै र नासिदै गएका थिए । पछिल्लो समय स्थानीय तहहरुको पहलमा त्यस्ता सम्पदाहरुको संरक्षण र पुनः निर्माणको कार्य हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।
सदरमुकाम बेनीबजारमा रहेका तीनवटा ३ सय वर्षभन्दा पुराना प्राचिन सम्पदाहरुको बारेमा नयाँ पुस्ता अनभिज्ञ रहेका स्थानीय जेष्ठ नागरिक नैनकुमार श्रेष्ठले बताउनुभयो । बेनीमा रहेका कोत मन्दिर,बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको देवल ३ सय वर्ष पुराना ऐतिहाँसिक विरासतका धरोहरहरु हुन् । तर यी धरोधरहरुको पछिल्ले सयम संरक्षण र प्रचारप्रसारमा नगरपालिका र वडा कार्यालय सक्रिय रहेको बेनी नगरपालिका ७ का वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।
विसं १७५४ मा तत्कालिन पर्वते राजा बलेबम मल्लले निर्माण गर्न लगाएका यी देवलहरु पाञ्चायन शैलीमा निर्माण गरिएको छ । पुराना इट्टाबाट निर्मित यी मन्दिरहरुमा शिवलिङ्ग, नारायण,गणेश र भगवतीका मुर्तिहरु रहेका छन् ।
“बेनी बजारको सबैभन्दा पुरानो मानिएको बालमुक्तःेश्वर मन्दिरको अस्तित्व नामेट हुँदै जान थालेको थियो, नगरपालिकाले प्राचीन सम्पदाको सूचिमा राखेपछि बल्ल यसको संरक्षण हुने भएको छ” स्थानीय बृद्ध अविरकुमार श्रेष्ठले बताउनुभयो । “वजार विस्तारहुने क्रमसंगै घर निर्माण हुने क्रम बढेपछि घरहरुले बालमुक्तेश्वर मन्दिर छोपिन पुग्यो,बेनीको सभ्यताको सबैभन्दा पुरानो मन्दिरको बारेमा अहिले धेरैजसो व्यक्तिहरु अनभिज्ञ छन्” श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार २०३७ सालमा बालमुक्तेश्वर मन्दिरको अगाडी लक्ष्मीनारायण मन्दिर निर्माण गरिएपछि सो मन्दिरको महत्व पनि छोपिदै गएको हो । २०३४/०३५ सालसम्म मन्दिरमा रहेको ताम्रपत्र अहिले हराएको छ ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिका ६ मा कालीगण्डकी नदी र घारखोलाको दोभानमा रहेको जलेश्वर शिवालय मन्दिरको पनि मर्मत संहारगरी संरक्षण गर्न थालिएको छ । पाञ्चायन शैलीमा निर्माण गरिएको उक्त मन्दिर २०६३/०६४ सालमा बेनी–जोमसोम सडक निर्माणका क्रममा सेनाले सोही मन्दिरसंग जोडेर दुर्गा भगवतीको मन्दिर निर्माण गरिदिए पछि लजेश्वर शिवालयको मन्दिर पनि अस्तित्व विहीन बनेको थियो ।
जिल्लाका ताकमकोत,ज्यामरुककोट,घतान,पुलाचौर, राखु भगवती लगाएतका स्थानमा रहेका कैयौं प्राचिन देवल र सम्पदाहरुको संरक्षण र प्रचारप्रसारमा स्थानीय निकायहरुले काम गर्न थालेपछि स्थानीयवासी खुसी हुन थालेका छन् ।
“प्राचिन मन्दिरमा राखिएका ताम्रपत्र,घण्ट,भाला,हातहतियार लगाएतका ऐतिहाँसिक र पुरातात्विक महत्वका चिजहरु हराउँदै गएका थिए,अहिले वडा कार्यालयले पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणका लागि चासो दिन थालेपछि आशा जगाएको छ” ज्यामरुककोटका हरिप्रसाद शर्माले बताउनुभयो ।यस्ता पुरातात्विक महत्वका ऐतिहाँसिक वस्तुहरुको संरक्षणमा पुरातात्विक विभागको पनि ध्यान जान आवश्यक रहेको बेनी नगरपालिका वडा नं २ का ७८ वर्षिय डिलबहादुर कार्कीले बताउनुभयो ।
बडादशैं,चैतेदशैं, कृष्णजन्माष्टमी, श्रीपञ्चमी र तीजका बेला उक्त ठाउँमा पूजापाठका साथै मेला लाग्ने गर्दछ । ती ठाउँमा रहेका ढुंगेधारा र कुवाहरुको पनि संरक्षण गर्न वडा कार्यालयबाट नै बजेट विनियोजन गरेर पहल थालिएको बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।
त्यस्ता पुरातात्विक सम्पदाहरूलाई सूचीकरण गरी संरक्षण र संवद्र्धनका लागि पहल शुरु गरिएको वडाअध्यक्ष कार्कीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच