ओखलढुंगा । ओखलढुँगा जिल्लाको ८ स्थानिय तह मध्ये एक लिखु गाउँपालिकामा सिंचाईको अभावले जग्गा वाँझै राख्नुपर्ने बाध्यता थियो ।
‘जग्गा छ तर उत्पादन छैन’ जनता पीडामा थिए । प्रदेश सरकार समेतको सहयोगमा पोकली खोला मुहान गरी सिचाई कुलो निर्माण भएपछि भने स्थानीयले सिंचाईगर्न पाएका छन । वडाअध्यक्ष पुरुषोत्तम पौडेल भन्नुहुन्छ, ‘अहिले किसानले खेतीवालीमा मज्जाले सिंचाई गर्न पाएका छन । हिजो सम्म बाँझै रहने खेतवारीमा अहिले लहलह खेती देख्दा मनै आनन्द हुन्छ ।’
उब्जाउशील जमिन भएपनि सिंचाई पानीको अभावका कारण स्थानीयले खेती गर्न सकेका थिएनन् । पानीको अभावका कारण प्रायःकृषकका जग्गा बाँझै देखिन्थे । खेती गरेकाहरुको पनि पानीको अभावका कारण सामान्य उब्जनी मात्रै गर्ने गरेका थिए । प्रयाप्त सिंचाईअभावका कारण उब्जाउशील जमिन भएपनि नागरिकले आफ्नो जमिनको उचित सदुपयोग गर्न सकेका थिएनन् । आफू वडाअध्यक्ष भएपछि कुलो निर्माणका लागि पहल गर्न शुरु गरेको र सफल भएको वडाअध्यक्ष पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । कुलो निर्माण सम्पन्न भएपछि स्थानीय उपभोक्ताहरु खुशी भएका छन । सिंचाई उपलब्ध भएपछि स्थानीय स्वरोजगार हुने र आयआर्जनमा बृद्धि हुनेमा बिश्वस्त रहेको वडाध्यक्ष पौडेलको भनाई छ ।
प्रदेश सरकारले ४ लाख ८८ हजार, संघीय सरकारले पनि ४ लाख ८८ हजार, स्वीस सरकारको अनुदान सहयोग ७ लाख ३२ हजार र स्थानीय पालिकाको ४ लाख ८८ हजार लगानीमा कुलो निर्माण गरिएको हो । तीनै तहको सरकारको लगानी र विदेशी सहयोग गरी जम्मा २१ लाख ९६ हजार लागतमा सम्पन्न भएको छ । ३०/३० सेन्टिमिटर उचाई र चौडाई आरसिसि ढलान सहित कुलो निर्माण भएको हो । एउटा इन्टेक, ५वटा आउटलेट, एउटा डिभिजन बक्समार्फत सिञ्चाई कुलो निर्माण भएको छ । मुहानदेखि उपभोक्ता सम्म कुलो निर्माण सम्पन्न हुँदा १३ सय मिटर लम्बाई रहेको छ । ५ सय ३७ मिटर दुईतर्फी आरसिसि ढलान ७ सय ६३ मिटर एकतर्फी ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष हिरा बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
कुलो निर्माण भएपछि उपभोक्ताहरुलाई आफ्नो खेतबारीमा सिँचाई गर्न सहज भएको छ । अबका दिनमा बाह्रै महिना सिंचाई हुनेमा ढुक्क भएको स्थानीय उपभोक्ता शंकर प्रसाद तिम्सिनालेले बताउनुभयो ।
यो कुलोबाट८ हेक्टर जग्गा सिञ्चित हुने छ । ९९ घरधुरीका उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
यो भन्दा अगाडी स्थानियबासीको लगानी तथा पहल संरक्षणमा माटेकुलो सन्चालन गर्दै आएका थिए । लामो दुरी र धेरै लगानी गर्नु पर्ने भएकाले सामान्य सानो पानी ल्याउन भने सफल भएका थिए । तर सानो पानीले प्रयाप्त मात्रामा सिञ्चाई गर्न भने सकेका थिएनन् । कुलो मजबुत रुपमा निर्माण गर्न नसक्दा उपभोक्ताहरुलाई दैनिकजसो कुलो मर्मत गरिरहनु पर्ने हैरानी थियो । तर पनि सबै उपभोक्ताहरुलाई पानीको सहज उपलब्धता थिएन ।
फाँटिलो टार र बेसीमा सिंचाई टारकेराबारी सिचाई योजना
ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका वडा नं ८ टारकेराबारीमा सिंचाईकुलो निर्माण सम्पन्न भएपछि स्थानीय उत्साहित भएका छन्। डुडेखोला मुहान गरी मसार टारकेराबारीको टारसम्म कुलो निर्माण सम्पन्न भएको हो । कुलो निर्माण भएपछि उपभोक्ताहरुलाई खेतबारीमा सिंचाई गर्न सहज भएको छ । दुइ किलोमिटर सात सय मिटर लम्बाई भएको कुलो निर्माण सम्पन्न भई सुचारु भएको छ ।प्रदेश सरकारको १६ लाख ४४ हजार, संघ सरकारको १६ लाख ४३ हजार ६ सय स्विटजरल्याण्ड सरकारको २४ लाख ५४ हजार र स्थानिय सरकारको १६ लाख ४३ हजार ६ सय गरी जम्मा ७३ लाख ८५ हजार २ सय लागतमासिंचाई कुलो निर्माण भएको हो ।
सम्मपरेको फाँटिलो टार र बेँशी भए पनि पानीको अभावले सामान्य खेतिमै अल्झिरहेका थियाैँ, अब पानी आएपछि राम्रो खेति हुनेमा ढुक्क भएको स्थानीय उपभोक्तालोक प्रसाद भट्टराईको भनाई रहेको छ ।
फाँटिलो र उब्जाउशील जमिन भएपनि सिचाईको अभावका कारण स्थानीय किसानले मनग्य उब्जनी गर्न सकेका थिएनन् । स्थानीय तहको पनि श्रोत सिमित भएका कारण एक्कैले कुलो बनाउन सक्ने अवस्था थिएन । प्रदेश सकार,संघ सरकार,स्थानीय निकाय र दातृनिकायको सहयोगमा कुलो बनेपछि स्थानीयको अनुहारमा खुशीयाली छाएको लिखुगाँउ पालिका अध्यक्ष अशोक कुमार कार्कीले बताउनु भयो ।र्
‘उब्जाउशील जमिनहरुमा प्रयाप्त मात्रामा सिंचाईको प्रवन्ध गरे स्थानीयले बेरोजगार बस्नु पर्दैन’ अब बेरोजगार समस्या पनि न्यूनिकरण हुने अध्यक्ष कार्कीको बिश्वास छ । आवश्यक्तानुसारको ठाउँमा आरसीसी ढलान गर्दै ४,४ को कुलो निर्माण सम्पन्न गरिएकोउपभोक्ता समितिका अध्यक्ष बिमल कुमार विष्टले बताउनु भयो । कुलो निर्माण भएपछि वडा नं ८ को टारकेराबारी र मसार गरी तीन सय भन्दा धेरैघरधुरीकाकृषक लाभान्वित भएका छन् ।
वडा नम्बर ८ का कृषक बिमल कुमार विष्टको टारखेत थियो तर सिंचाईको प्रयाप्त ब्यबस्था नहुदा राम्रो उब्जनी थिएन । अव भने कुलोबाटसिंचाई गरेर टन्न उत्पादन भित्रयाउने उहाँमा उत्साह जागेको छ ।
लिखु गाँउपालिकाको वडा नं ८ को टारमा भएको मध्ये धेरै जसो जग्गामा सिंचाई पुगेको छ । केहि खेतीयोग्य जग्गामा सिञ्चाई सुविधा पुग्न सकेको छैन । त्यसमध्ये अहिले २२ हेक्टरभन्दा धेरै जग्गामा सिंचाईसुबिधा पुगेको छ ।
लिखु गाँउपालिकामा सिंचाई मात्र होइन सडक निर्माणले पनि गति लिएको छ । सडक निर्माणमा प्रदेश सरकारको सहयोग रहेको छ ।
पर्यटकीय सडक : पोकली झर्ना र चम्पादेवी मन्दिर पुग्न सहज हुने
पोकली ककनी पर्यटकीय सडक निर्माण योजना शुरु भएको छ ।सय पर्यटकीय गन्तब्यमा सूचीकृत देशकै दोस्रो अग्लो पोकली झरना सम्म पुग्ने गरीको सडक निर्माण भइरहदा स्थानीयमा सम्बृद्धिको आशा पलाएको छ । झरना हेर्नकै लागि ठूलो सँख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने बिश्वास गरिएको छ ।समुद्री सतहदेखि करीब दुई हजार २०० मिटर उचाइमा पोकली झरना रहेको छ। चट्टानमा पानी ठोक्किएर आकाशबाट पानी दर्किंदा घामको झुल्को र अस्ताउने बेला इन्द्रेणी लाग्छ।लिखुखोलाको उत्तरपूर्वबाट झर्ने सो झरना नजिकै पर्ने घना जङ्गलले ढाकेको गौरी वन निक्कै आकर्षक देखिन्छ । यो सडकले जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय स्थल श्रीचम्पादेवी मन्दिर सम्म पुग्न सहज हुने छ । सडक बनिसकेपछि धार्मिक पर्यटन प्रवद्धनमा सहयोग पुग्ने स्थानीयको अपेक्षा छ ।
लिखु गाउँपालिकाको वडा ७ बाट चम्पादेवी गाउँपालिकाको श्रीचम्पादेवी मन्दिरजोड्ने पर्यटकीय सडक निर्माण शुरु भएको हो । कोशी प्रदेश सरकारको ५० लाख लगानीमा शुरु भएको योजना टेन्डरमार्फत काम भईरहेको छ । हिमाल कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. ले निर्माण गरिरहेको छ । ८०० मिटर निर्माण सम्पन्न गर्ने गरी टेन्डर पाएको कम्पनीले लिखु गाउँपालिकाको वडा नं ७ स्थित राम्चे पहरामा काम गरिरहेको वडा नं ७ का अध्यक्ष तारा बहादुर तामांगले जानकारी दिनुभयो ।
यो सडक पर्यटकीय स्थल पोकली झरना, कुन्डलेश्वर महादेव मन्दिर, लिखु गाउँपालिका वडा ५ यसम, मझुवा हुदै चम्पादेवीको विलन्दु सडक खण्ड हुँदै श्रीचम्पादेवी मन्दिर सम्म पुग्ने छ । पहिला नै शुरु भएको योजना बजेटको अभावका कारणले रोकिएको थियो । तर अहिले कोशी प्रदेशले सडक निर्माण गर्नका लागि बजेट ५० लाख विनियोजन गरेपछि सडक निर्माण गर्न शुरु भएको हो ।
यो सडक निर्माण सम्पन्न भएपछि चम्पादेवी गाउँपालिका र लिखु गाउँपालिकाका नागरिक लाभान्वित हुनुका साथै पर्यटन विकासका लागि थप टेवा पुग्ने विश्वास गरिएको छ । पोकली झरनाको दृश्य अवलोकन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकलाई श्रीचम्पादेवी मन्दिर सम्म लैजाने र श्रीचम्पादेवी मन्दिरमा आएका धार्मिक पर्यटकलाई पोकली झरना सम्म लैजानको लागि यो सडकको निर्माण गरिएको गाँउ पालिका अध्यक्ष अशोक कुमार कार्कीले बताउनुभयो ।
यो सडक निर्माण सम्पन्न भएपछि लिखु गाउँपालिका र चम्पादेवी गाउँपालिकाको पर्यटन विकासमा योगदान पुग्ने विश्वास रहेको छ । सडक निर्माण सम्पन्न गर्न लिखुमा नै १८ सय मिटर भन्दा बढी बाँकी छ । चम्पादेवी गाउँपालिकाको भागमा पनि सडक निर्माण र सडक स्तरोन्नती गर्नुपर्ने अवस्था रहेको छ ।
यो पटकको बजेट कम भएकाले समयमा सडक निर्माण सम्पन्न नहुने पालिका अध्यक्ष कार्कीले बताउनु भयो । कोशी प्रदेशले बजेटलाई निरन्तरता वा एकैपटक काम सम्पन्न हुने गरी बजेटको ब्यवस्था गरिदिए सडकको समयमै लाभ लिन सकिने प्रमुख कार्कीले आशा ब्यक्त गर्नु भएको छ ।
पोकली झरना पुग्ने अर्को छोटो सडक बन्दै
लिखु गाउँपालिकाको वडा नं ९ स्थित पोकली देखि १ नं वडा सम्मको नयाँ सडक निर्माण तथा स्तरोन्नती शुरु भएको छ । कोशी प्रदेशले बिनियोजन गरेको २५ लाख बजेटले सडक निर्माण तथा स्तारोन्नती शुरु भएको हो । यो सडक लिखु गाउँपालिकाको वडा नं ९ बाट शुरु भई यसमको पिपलडाँडा हुदै वडा नं १ को चिउरीडाँडासम्म सन्चालन हुनेछ । सडकको बिच भागको केहि भुगोलमा नयाँ निर्माण गर्नु पर्ने, निर्माण सम्पन्न भएको भागमा पनि स्तर बृद्धिगर्नु पर्ने पालिका अध्यक्ष अशोक कुमार कार्कीले जानकारी दिनुभयो । यो सडकको निर्माण पनि हिमाल कन्टक्सशन एण्ड सप्लायर्स प्रा.ली.ले गरिरहेको वडा नं ७ का अध्यक्ष तारा बाहादुर तामांगले जानकारी दिनुभयो । यो सडक निर्माण सम्पन्न भएपछि पोकली झरनामा जाने आउने पर्यटकका लागि सबै भन्दा छोटो बाटो हुने पनि बताएका छन् । नवलपुर घाटदेखी पलापु चम्पादेवी गाउँपालिकाको केन्द्र हुँदै चिउरी डाँडा बाट पनि आउन सकिन्छ । त्यसै गरी नवलपुरबाट चिप्लिीङ हुदै पनि यो सडक प्रयोग गर्न सकिने बताएका छन् ।
यो सडककको स्तरोन्नतीले हिँउदको समयमा सडक सहज सन्चालन भएपनि वर्षाको समयमा सञ्चालन कठिन हुने हुँदा,कालो पत्रेका लागि प्रदेश सरकारले बजेटको ब्यवस्था गर्न स्थानीयबासीले आग्रह गरेका छन् ।
ओखढुंगा जिल्लाका ८ स्थानीय तह मध्ये एक हो लिखु गाउँपालिका । यो पालिका जिल्लाको पश्चिमी भेगमा रहेको छ । रामेछाप जिल्ला सँग सिमाना जोडिएको यो पालिकाको लिखु नदिले सिमाना छुट्याएको छ ।लिखु गाउँपालिकाको जिल्ला सदरमुकाम सँग सिधा पहुँच छैन । अहिले पनि सदरमुकाम जानको लागि रामेछापको मन्थली, सिन्धुलीको खुर्काेटको मोटरबाटो प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । रामेछाप जिल्लाको साँघुटार बजारबाट घोराखोरी फेदिगुठ हुँदै सदरमुकाम सम्म मोटराबाटो जोडिएको भए पनि नियमित यातायातका साधन सञ्चालन हुदैनन् । लिखु गाँउपालिकालाई आफनै जिल्ला हुदै जिल्ला सदरमुकाम पुग्ने सडकको स्तरोन्नती र नियमित सडक संचालन गर्नुपर्ने स्थानीय अन्जु श्रेष्ठको को माग छ ।
लिखु गाउँपालिकाको विकास गर्नका लागि साना योजनाहरु गाउँपालिकाको बजेटले संभव हुने तर ठूलो आयोजना बजेटको अभावले योजना सञ्चालन गर्नै नसक्ने पालिका अध्यक्ष अशोक कुमार कार्कीले बताउनु भयो । यस्ता ठूला खालका योजनाहरु सन्चालन गनर्् प्रदेश सरकारले नै लगानी गरी योजना शुरु गरिदिए हुने प्रमुख कार्कीले बताउनु भयो । उहाँका अनुसार, लिखु गाउँपालिकाको सबै भुभाग उर्बर भएकाले यहाँ विभिन्न ठाउँमा कृषी उत्पादन गर्न बजारीकरण गर्न बजेटको ब्यवस्था, वडाका सबै टोलमा विद्युतिकरण, सडक स्तरोन्नती तथा कालोपत्रे, शिक्षालाई प्राविधिक र ब्यवहारिक बनाउन लगानी गर्ने लगायतका दीर्घकालीन योजनाहरुमा सहयोगको अपेक्षा रहेको बताउनु भयो । ५ शैयाको अस्पतालको भवन निर्माण सम्पन्न भईसकेको र त्यसको सन्चालनको लागि आवश्यक सहयोग आवश्यक्ता रहेको बताउनु भयो ।
प्रदेशले आवश्यक नीति नियमको निर्माण गरी स्थानिय रुपमा रोजगारी सिर्जना गर्ने खालका दिर्घकालीन योजनाहरु अध्ययन गरी त्यसमा लगानी गर्दा समग्र लिखु गाउँपालिको विकास हुने प्रमुख कार्कीले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच