झापा । एउटा चर्चित प्रसङ्ग छ : नेपाल रोयल एकेडेमीले तत्कालीन समयमा सम्पन्न गरेको नेपाली साहित्य प्रदर्शनीको । एकेडेमीको कुलपति राजा महेन्द्र । उहाँले एकेडेमीमा आएर प्रदर्शनीको अवलोकन गर्दै सोध्नुभयो - खोइ त महान साहित्यकारको फोटो ? सबै अलमलमा परे, कुरो बुझेनन्।
राजा महेन्द्रले त्यहाँ राखेका फोटोहरू क्रमशः हेरे , लेखनाथजीको पनि छ, देवकोटाको पनि छ, समको पनि छ, अरु साहित्यकारकोे पनि फोटा छ, खोइ महान साहित्यकार बिपीको फोटो ? प्राज्ञहरूलाई राजा महेन्द्रको त्यो भनाइ अप्रत्याशित लाग्यो र मुखामुख गरे । राजाले तत्काल आफ्नो अंगरक्षकलाई आदेश दिनुभयो, 'मेरो पलङमाथि झुन्ड्याएको बिपीको फोटो लिएर आऊ र यहाँ झुन्ड्याऊ ।'
यो पुरानो र साहित्य सन्निकट प्रसङ्ग हो । तर, नेपाली राजनीतिमा दूरगामी छाप छोड्न सफल घटना । यो प्रसङ्ग बेलाबेला उठ्छ । त्यसको खास कारण हो - राजा महेन्द्र र बिपी बीचको परस्पर विरोधी राजनीतिक चेतना, लक्ष्य, उद्देश्य र ध्येय ।
बेलाबेलामा उठ्ने यो प्रसङ्ग शनिबार झापामा सम्पन्न साहित्यिक कार्यक्रममा मुखरित भयो । आयोजकले निर्धारण गरेको सामुहिक बहसको विषय थियोे - नेपाली साहित्यमा बिपी कोइराला ।
यो विषयका वक्ता हुनुहुन्थ्याे - प्राध्यापक कविराज न्यौपाने, प्राज्ञ मुनाराज शेर्मा र सर्जक लेखनाथ भट्टराई ।
प्राध्यापक न्यौपानेले त्यही पुरानो प्रसङ्ग जोड्दै भन्नुभयो, 'राजनीतिमा शत्रुता भएपनि साहित्यमा राजा महेन्द्रले पनि पत्याएको महान र अदभूत क्षमता भएको साहित्यकार बिपी ।'
बहस वक्ता शेर्माले बिपीले धार्मिक ग्रन्थ गीताको विनिर्माण गरेको , आर्य समाजको भ्रम चिरेको र शासकको उछित्तो काडेको दलिल पेस्नु भयो ।
प्राज्ञ विवश पोखरेलले सहजकर्ताको भूमिका निर्वाह गरेको बससका अर्का वक्ताले भट्टराई भन्नुभयो ,'साहित्यले समाज निर्देशित गर्छ भन्ने मान्यता विश्वेश्वरप्रसाद कोइरालाले स्थापित गर्नु भएको हो ।'
तीनघुम्तीमा कोइरालाले आफ्नो शरीरको आफ्नो अधिकारको वकालत गरेको उनीहरूको मत थियोे ।
चन्द्रबदनलाई महिला स्वतन्त्रताको बेजोड प्रमाणको रूपमा व्याख्या गरेका उनीहरूले मोदीआइन् बिपीको समाजिक अन्धविश्वास, रुढीबादी धार्मिक चेतना , सत्ता माथिमा बेजोड प्रहार चिरफार गर्न सफल कृति भएको बताए ।
उहाँहरूले बिपीलाई जातीयताको कट्टर विरोधी र मानव स्वतन्त्रताका पक्षपाती नेताका रूपमा व्याख्या गर्नुभयाे । बिपीका साहित्यले धार्मिक यज्ञ गरेर सन्तान जन्मदैन, शारीरिक सम्बन्ध नै जरुरी छ भन्ने मान्यताको दह्रो वकालत गरेको विचार राख्नुभएकाे उहाँहरूले साहित्य कल्पना र यथार्थको समीश्रण भएको दृष्टान्त सुनाउनु भयाे ।
विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक अराजकता माथि बहस, साहित्यिक चेत, दृष्टिकोण र योगदानको बारेमा चर्चा गरिएको कार्यक्रममा आत्मवृतान्त, जेलजर्नल , जेलडायरीमा बिपीले आफ्नो कुरा खुलस्त राखेको उहाँहरूले बताउनु भयाे । स्वतन्त्रताका पक्षमा उभिने मानिस यौनका विषयमा पनि स्वतन्त्र हुनु पर्ने बिपीको मत भएकोमा वक्तात्रय करिब-करिब समान देखिनुभयाे ।
कार्यक्रमक अर्को विषय थियो - नेपाली साहित्यमा झापाली सर्जक । सो विषयमा डा रत्नमणी नेपाल, डा गंगाप्रसाद अधिकारी, साहित्यकार पुण्यप्रसाद खरेलले आ-आफ्नो दृष्टिकोण राख्नुभएको थियो । उहाँहरूले अहिले पनि साहित्यकारमा केन्द्र र मोफसल भन्ने भावना जरा गाडेर बसेको बताउनु भयो ।
सञ्चारकर्मी लीला अनमोलले सहजीकरण गरेको बहसमा वक्ताले जन्म, कर्म र योगदानको आधारमा सर्जक कुन भूगोलको हुने भन्ने गम्भीर प्रश्न उठाउनु भयो । उहाँहरूले कृति र साहित्यकारलाई प्रकाशन, लोकार्पण र वाचनमा स्थान विशेषको लेप लगाएर वर्गीकरण गरिने विभेदकारी सोच हट्न नसकेको जिकिर गर्नुभयो ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहयोग र विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठान भद्रपुरको ब्यानरमा सम्पन्न बृहत् साहित्यिक, साँस्कृतिक एवम् साङ्गीतिक कार्यक्रममा झापाली साहित्यकारहरू केशव आचार्य, राजेश ढुङ्गाना, कृष्ण बराल, कुमार भट्टराई, मिलनकुमार ढुङ्गाना, गोकुल अधिकारी, अभागी थेगुवा, बिरही अधिकारी, नमुना दहाल, खेगिन्द्रा खुशी, तुलसीराम खरेल, अनिता राजवंशीले कविता वाचन गरेर माहोललाई काव्यमय बनाउनु भएकाे थियाे ।
अर्जुन खरेल र अनिता पौडेलले सुमधुर गीत गाएको कार्यक्रममा बालकलाकारद्वय सुहाना तामाङ र तृष्णा शर्माको नृत्यले माहोल तताएको थियोे।
समालोचक गिरिराज आचार्य प्रमुख आतिथि रहेको कार्यक्रमको औचित्य आयोजक संस्थाका अध्यक्ष गोविन्द लम्साल, सचिव देवेन्द्र गौतमले प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रम संयोजक लता खरेलले बहुप्रकृतिकको कार्यक्रम झापामा पहिलोपटक गर्न आफूहरू सफल भएको बताउँदै सिर्जना, कला, साहित्यमा कायम रहेको विभेद चिर्न सफल भएको दाबी गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच