सम्भावना बोकेर पनि ओझेलमा अयरपानी होमस्टे

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 9 mins

स्याङ्जा । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं १ स्थित कुविण्डेबाट ७ किलोमिटर दक्षिणपूर्व पर्ने अयरपानी गाउँ हेर्दैमा सुन्दर छ । यो सुन्दर गाउँमा मूलतः गुरुङ बस्ती छ । चिटिक्क मिलेका फरक फरक ढाँचाका घरहरु हेर्दैमा विविधताको सङ्केत मिल्दछ । गाउँ केही छिरलिएको छ, जहाँ जाने बाटोहरु ढुङ्गाका छपनी छापेर कलात्मक तरिकाले बनाइएको छ । एकघरदेखि अर्को घरसम्म जाने माकुराका जालाजस्ता सुन्दर ढुङ्गाको बाटोहरुले गाउँको पछिल्लो विकासको झल्को मेटिन्छ ।

३४ घर रहेको यो गाउँमा हाल १५ घरमा होमस्टे सञ्चालन गरिएको छ । अयरपानी गाउँको नामबाटै अयरपानी सामुदायिक होमस्टे स्थापना भएको छ । २०७५ सालमा स्थापना भएको यो होमस्टे भर्खरै बामे सर्दै गरेको छ । यहाँका दिदीबहिनीहरुको उत्साह र जाँगरले गाउँ फेरिँदै गएको छ ।

पाहुनाहरु आउनेबित्तिकै थालीमा फूलमाला तथा अबिर लिएर ७३ वर्षीया शिरमाया गुरुङ बाटोको छेउमा बुहारी तथा नाति नातिनासहित पुग्छिन् । बुढी आमाको हातबाट पाहुनालाई माला र अबीर लगाएपछि पाहुनालाई गाउँको वस्तुस्थितिको बारेमा ब्रिफिङ गर्छिन् यस होमस्टेकी युवा अध्यक्ष सपना गुरुङले । सपना गुरुङ बुहारी भएर गाउँ आएपछि उनको मनमा पनि गाउँमा केही नयाँ गर्ने भन्ने हुटहुटी रहेछ । उनले गाउँमा थुप्रै सम्भावना देखेकी रहिछन् । उनकै नेतृत्वमा सामुदायिक होमस्टे सुरु भएको रहेछ । उनले आफ्नो नाम जस्तै गाउँलाई पनि सपनाको सुन्दर बस्ती बनाउन चाहेको कुरा व्यक्त गरिन् ।

होमस्टेकी अध्यक्ष सपना गुरुङ अन्य होमस्टे र अयरपानी होमस्टेको भिन्नतालाई प्रस्ट्याउँदै भन्छिन,‘हाम्रो होमस्टेमा विल्कुल अर्गानिक खानेकुरा हुन्छ । हामी गाउँमै उत्पादन भएको कोदो, मकै, तरकारी तथा मह खुवाउँछौं । यहाँ आएको पाहुनाले फरक स्वाद चाखेर जानुहुन्छ ।’

होमस्टेमा पर्यटकका रुपमा बास बस्न गएका स्याङ्जा आँधीखोला ६ शारदा माविका प्रधानाध्यापक डोलराज ढकालले भने, ‘होमस्टेको खानपान साँच्चै यहीँको उत्पादन रहेछ । होमस्टे विकासतिर अगाडि बढेको त छ तर गर्न भने धेरै बाँकी छ । यहाँ ठूलो सम्भावना छ तर जनशक्ति अझै कम छ ।’

गाउँमा सहरीकरणको प्रभाव बढिरहेका बेला होमस्टेकै कारण नयाँ घरहरु बन्न लागेको तथा सहरमा भएका मानिसहरु पनि फर्कन लागेको वडा नं १ का वडाध्यक्ष अमृत क्षेत्रीले बताए । उनले भने, ‘वडा नं १ मा रामकोट होमस्टे र अयरपानी होमस्टे गरी दुई होमस्टे छन् । दुवैको राम्रो सम्भावना छ । हामीले यी होमस्टेको प्रवर्धनका लागि स्थलगत अवलोकन तथा तालिम लगायतका कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’

यो होमस्टे विभिन्न महत्व बोकेका ठाउँहरुको बिचमा अवस्थित छ । कुविण्डेबाट उकालो लागेपछि गुरुङ आदिकवि हर्कबहादुर गुरुङको सालिकले यहाँको गुरुङ वाङ्मयको गरिमालाई सम्झाइदिन्छ । गाउँगाउँमा गुरुङ भाषाका कविता गीत गाएर जीवन समर्पण गर्ने ती कविको सालिक पार गरेपछि सुन्दर रामकोट गाउँ आइपुग्छ । रामकोट गाउँ प्रकृतिले साँच्चै वरदान दिएको ठाउँ हो जहाँबाट नदेखिने हिमाल सायद छैनन् होला । रामकोट आफैमा प्रकृतिको भ्यु टावर हो । रामकोटबाट केही किलोमिटर तेर्सो बाटो अगाडि बढेपछि मट्टीखान भ्यु टावर आउँछ । स्याङ्जा र कास्कीको सङ्गम यो भ्यु टावरबाट कास्की र स्याङ्जाका साथै तनहुँका पनि थुप्रै ठाउँहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

त्यहाँबाट तल ओरालो पानीढलो जस्तोमा सुन्दर अयरपानी गाउँ छ जहाँबाट वरिपरिका दर्जनौं गाउँ बस्ती सुन्दर देखिन्छ । अयरपानी गाउँबाट करिब ४ किलोमिटरको दूरीमा छ - बाइसे चौबिसे राज्यको रुपमा रहेको एक राज्य नुवाकोट । नुवाकोट प्रकृति, संस्कृति र इतिहासको त्रिवेणी हो । यहाँ प्रसिद्ध कालाभैरव मन्दिर छ, जहाँ पूजा गर्न निकै टाढाबाट पनि मानिसहरु आउने गर्दछन् । पुरानो दरबार क्षेत्र तथा स्याङ्जा जिल्लाको पुरानो सदरमुकामका रुपमा पनि रहेको नुवाकोट पुरातात्विक तथा सांस्कृतिक दृष्टिले जति महत्वपूर्ण छ त्यो भन्दा बढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहेको छ । अयरपानी होमस्टे  अध्ययन गर्न आउने तथा पूजा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि विश्राममार्ने थलो बन्न सक्छ ।

पोखराबाट रामदी हुँदै भित्री बाटो पनि अयरपानी होमस्टे छोटो दुरीमा पुग्न सकिन्छ । सिद्धार्थ राजमार्गको कुविण्डेबाट अयरपानी होमस्टे पुग्ने सजिलो बाटो छ । त्यस्तै स्याङ्जाको बाडखोलाबाट पनि यहाँ सजिलै पुग्न सकिन्छ । गण्डकीको प्रमुख सहर पोखराबाट ११ किलोमिटरमा पुग्न सकिने भएर पनि विल्कुल गाउँको प्राकृतिक वातावरण पाउन सकिने भएकाले पनि यसको सम्भावना देखिन्छ ।

भारतीय सेनाका रिटार्यड आरमीहरुको बस्ती समेत रहेको यो गाउँमा होमस्टेको विकासका लागि रिटार्यड बुढाहरु समेत कस्सिएर लागेका रहेछन । भारतीय सेनाका पुर्व सुबेदार धर्मराज थापा भन्छन, ‘बजारमा रोगी भएर बस्न भन्दा गाउँमै ठिक छ । होमस्टे खुलेपछि यसमै लागेका छौं ।’

होमस्टेका लागि चाहिने मुख्य कुरा घरको जस्तो वातावरण र पाहुनाको न्यानो आतिथ्य हो । यहाँका दिदीबहिनीहरुको आतिथ्यले हरेक पाहुनाको मन छुन्छ । यहाँ घरघरमा पाइने मौरीको मह कोदोको रोटीमा हालेर खाँदाको स्वाद पाहुनाले हत्तपत्त बिर्सिँदैन । नारेपाको रन्कोमा बेलुका बुढा बाहरुको सालैजोको भाकाले हरेक अतिथिका खुट्टा नाच्नका लागि लालायित हुन्छन् । दिदीबहिनीका दोहोरी भाका र मादलका तालले गाउँपाखै रक्निन्छ ।

होमस्टेका सम्भावनासँगै चुनौती पनि उत्तिकै छन् । सपनाको गाउँ बनाउने रहरमा साथ दिने बलियो टिमको अझै आवश्यकता रहेछ । आजभोलि बुहारीहरु पनि नजिकैको सहर पोखरामा घर बनाउने र उतै पलायन हुने समस्याले यो गाउँलाई पनि तर्साइरहेको छ। पूर्वाधारको अझै कमी छ । जनशक्तिको अभाव पनि छ । मौलिक सांस्कृतिक कार्यक्रमको व्यवस्थापन यहाँको अर्को चुनौती हो । पाहुनाले हर चिजमा फरक र मौलिक स्वाद खोजिरहेको छ । त्यसलाई सम्बोधन गर्नका लागि सिङ्गो गाउँलाई एकताबद्ध पार्ने क्षमता चाहिन्छ । घरघरका चाहनाहरुलाई साझा चाहना बनाएर सिङ्गो गाउँलाई जुरुक्कै उचाल्नु पर्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?