काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका सातवटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीसहित मे १६ देखि १८ सम्म चीनको ग्वान्जाओमा आयोजित ३२औँ ग्वान्जाओ इन्टरनेसनल ट्राभल फेयर (जिआइटिएफ) मा सहभागिता जनाएको छ ।
३० हजार स्क्वायर मिटर क्षेत्रमा आयोजित उक्त व्यापार मेलामा चीन र अन्य अन्तर्राष्ट्रिय देशबाट ४० हजारभन्दा बढीले सहभागिता जनाएका थिए । नेपाल पर्यटन बोर्डले १६ तारिखका दिन स्थानीय अप्रेटर्स तथा सहभागीमाझ नेपालको पर्यटन गन्तव्यबारे प्रस्तुतीकरण गरेको थियो । सोही दिन साँझ ‘वेष्टिन पाजाओ’ होटलमा आयोजित ‘बायर्स नाइट’ कार्यक्रमबीच पाटा नेपाल च्याप्टरले चाइना आउटबाउन्ड रिसर्च इन्टिच्युटबाट पर्यटन प्रवद्र्धनका लागि समग्र भूमिका शीर्षकअन्तर्गत गोल्ड अवार्ड र जिआइटिएफ आयोजकबाट ‘द बेष्ट पार्टनर अवार्ड’ प्राप्त गर्यो । बोर्डले ‘मोस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड’ र जुगल होलिडेजले ‘प्रोडक्ट इन्नोभेसन’ शीर्षकमा गोल्ड अवार्ड प्राप्त गरेको हो ।
मे १७ मा आयोजित जिआइटिएफ २०२४ कन्फ्रेन्समा पाटा नेपाल कार्यसमिति सदस्य लाक्पाफुटी शेर्पा, पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेससिंह बुडाल र पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले ‘जलवायु परिवर्तनको परिप्रेक्ष्यमा चिनियाँ पर्यटकका लागि नेपालले प्रदान गर्ने दिगो पर्यटन उपजहरू’ अन्तर्गत समूहगत छलफलमा आमन्त्रित वक्ताका रूपमा सहभागिता जनाउनुभएको थियो । उक्त सेसनको सहजीकरण मकाउ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रोफेसर डा. टिमुदी लीले गर्नुभएको थियो ।
नेपाल बिग माउन्टेन ट्राभल कम्पनीका कार्यकारी निर्देशक सुजित रेग्मीले भन्नुभयो, ‘हाम्रो बुथमा धेरै मानिसहरू नेपाल भ्रमण गर्न इच्छुक रहेको र नेपालका लागि धेरै सोधपुछ भएको मैले पाएको छु । हामीले विगत ११ वर्षदेखि चिनियाँ बजारमा काम गर्दै आएकाले यस वर्षको अन्त्यमा नेपालको सहभागिता गन्तव्य प्रवद्र्धनका साथै पर्यटन व्यवसाय प्रवद्र्धनका हिसाबले निकै प्रभावकारी भएको मलाई विश्वास छ ।’
डेस्टिनागो टुर्स एण्ड ट्राभल्स प्रालिका कार्यकारी निर्देशक हिम्मत पुरीले महामारीपछि पहिलोपटक जिआइटिएफमा नेपालको सहभागिताले चिनियाँ अपरेटर्स र व्यापारसँग पुनः जोडिने अवसर सहज बनाउन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । चिनियाँ अपरेटर र सहभागीको नेपाल गन्तव्यबारे धेरै आशावादी प्रतिक्रिया र चासो पाएको पनि उहाँले बताउनुभयो ।
होटल हिमालयका महाप्रबन्धक दीपेश केसीले मेलामा नेपालको सहभागिताले चिनियाँ बजारमा प्रवद्र्धन पुनः सुरु गर्न कोसेढुंगा भएको र होटललगायत नेपालका अन्य सेवाप्रदायकको जिआइटिएफ २०२४ मा सहभागिता फलदायी भएको बताउनुभयो । प्रवद्र्धनात्मक सहभागितामा समन्वय गर्न पाटा नेपाल र बोर्डको भूमिकाको प्रशंसा गर्दै सरकारले यसप्रकारको अन्तर्राष्ट्रिय प्रवद्र्धन र बजारीकरण कार्यक्रम चीनभित्रका धेरै स्रोत बजारमा बढाउनुपर्नेमा जोड दिनुभयो । चिनियाँ बजारमा नेपालको प्रवद्र्धनका लागि सिट्रिप, टिकटक, विच्याटलगायतका विभिन्न अनलाइन प्लेटफर्ममा नेपालको डिजिटल उपस्थिति र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
पाटा नेपाल च्याप्टरका सिइओ बुडालले चीन संसारको सबैभन्दा ठूलो पर्यटन स्रोतबजार भएको र विभिन्न गन्तव्यले चीनलाई प्राथमिकतामा राखी प्रवद्र्धन तथा आक्रामक बजारीकरण गरिरहेको परिवेशमा नेपालको प्रवद्र्धन तुलनात्मकरूपमा निकै कम रहेको बताउनुभयो । न्युजील्याण्ड, साउदी, हङकङलगायत अन्य गन्तव्यले चीनका विविध प्रान्तमा आफ्नो पर्यटन बोर्डको शाखा कार्यालय तथा प्रतिनिधि नै व्यवस्थापन गरी प्रभावकारी प्रवद्र्धन गरिरहेको पाइएको र नेपाल पर्यटन बोर्डले समेत सोहीअनुरूप प्रमुख तथा बृहत् स्रोत बजारमा आफ्नो शाखा विस्तार गरी गहन र प्रभावकारी ढंगले लक्षित बजारीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच