आठ वर्ष पछि पालिकाले तोक्यो केन्द्र

मुगु । जिल्ला स्थित सोरु गाउँपालिकाले ८ बर्षपछि आफ्नो पालिका केन्द्र निर्धारण गरेको छ ।

१४ औं गाउँसभामा पालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, सदस्य र कार्यपालिकाका सदस्यहरुको बहुमत निर्णयले पालिका केन्द्र सोरुकोट मै निर्धारण गरिएको प्रमुख प्रशासकिय अधिकृत तीर्थराज शाहीले बताउनु भयो ।

उहाँले भन्नुभयो, 'स्थानीयतह संचालन भएको ८ बर्ष सम्म यस सोरु गाउँपालिकाको पाालिका केन्द्र निर्धारण नहुँदा पूर्वाधार निर्माण देखि प्रशासनिक कामकाज गर्न गाह्रो भएपछि यो पटकको १४ औं गाउँसभाले पहिलो निर्णय पालिका केन्द्र सोरुकोटमा तोक्ने गर्यो ।'

बिगत ८ बर्ष देखि अस्थायी रुपमा सोरुकोटमा पालिका स्तरका विकास निर्माणका कामकाज देखि सेवाग्राहीका सेवा प्रवाह गर्दै आएको भएपनि अस्थायी पालिका केन्द्रले गर्दा जनप्रतिनिधि देखि कर्मचारीहरुलाई काम गर्न अप्ठेरो हुँदै आएको थियो ।

गाउँपालिकाले आइतबार प्रेस बिज्ञप्ती जारी गर्दै सोरु गाउँपालिकाको पालिका केन्द्र सोरुकोट मै तोकिएको निर्णय सार्वजनिक गरि सबैलाई जानकारी गराएको छ ।

विगतका गाउँसभामा सोरुका जम्म ११ वटा वडाहरुमध्य ६ वडाका जनप्रतिनिधिले पालिका केन्द्र जिमा कुलाहा भन्ने स्थानमा र ५ वडाका जनप्रतिनिधिले सोरुकोट भन्ने स्थानमा पालिका केन्द्र हुन पर्ने अडानका कारण केन्द्र निर्धारण अन्यौल उत्पन्न भएको अवस्थामा यो पटक सबै जनप्रतिनिधिले सोरुकोट राख्ने सहमति गरेका छन् ।

सोरुकोटमा बिद्युत, बैंक, प्रहरी चौकी, खाद्य डिपो, सडक पूर्वाधार बजार ब्यावस्था विद्यालयलगायत सबैको पहुँच भएकोले १४ औं गाउँसभाले पालिका केन्द्र सोरुकोट राख्ने बहुमतले निर्णय गरेको पालिका अध्यक्ष धर्मबहादुर शाहीको बताउनु भयो ।

'पालिकाको केन्द्र निर्धारण टुङगो लाग्यो अब जग्गा खरिद गरि पालिका भित्रका सबै बिषयगत शाखा तथा अन्य आवश्यकिय पूर्वाधार निर्माणका काम अघि बढाउछौ,' पालिका अध्यक्ष शाहिले भन्नुभयो- 'पालिका केन्द्र निर्धारणकाे लागि पटक पटक छलफल बहस भइरहेको अवस्थामा यो गाउँसभाबाट पालिका केन्द्र तोकिए पछि सोरुबासी जनता खुशी भएका छन् ।'

सोरु गाउँपालिकाले यो पटक एउटा महत्वपूर्ण निर्णय पालिका केन्द्र निर्धारण गर्ने गरेको संघीय सांसद ऐनबहादुर शाहीले बताउनु भयो । उहाँले भन्नुभयो- 'अब भौतिक संरचना निर्माणमा पालिकाले ध्यान दिई गाउँपालिकालाई नगरपालिका उन्मुख पालिका बनाउनु पर्छ ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?