नेपाली कांग्रेसको नेतृत्वसँग मेरा केही प्रश्न

Read Time = 24 mins

नेपाली कांग्रेसको नेतृत्वसँग प्रश्न राख्न कुन हैसियतको हुनुपर्छ थाहा छैन तर आज म नितान्त आफूलाई केन्द्रमा राखेर केही प्रश्नहरू नेपाली कांग्रेसको नेतृत्वसमक्ष राख्न खोज्दैछु । आशा छ विवेकहीनताको पोखरीमा पौडिखेलिरहनु भएका तर विवेकशील साथीहरूको ध्यान अवश्यै जानेछ ।

(१) आफ्नैबारे संक्षेपमा :
म २०३१ सालदेखि निरन्तर नेपालको लोकतान्त्रिक आन्दोलनमा सम्झौताविहीन भएर प्रतिबद्ध भएको करिब पाँच दशक पुग्न लागेछ । २०४६ सालसम्म लोकतन्त्र हाम्रो लक्ष्य बन्यो भने त्यसपछिका दिनमा लोकतान्त्रिक संस्कृति, लोकतान्त्रिक संयन्त्रहरूको विकास, यसमा अन्तर्निहीत मूल्यहरूको सुदृढीकरणका लागि निरन्तर नेपाली कांग्रेस पार्टीमा आबद्ध रहेर काम गरेको मेरो विगत हो । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधि, रामहरि जोशी, भीमबहादुर तामाङ जस्ता आदर्श र कर्मका प्रतिनिधि पात्रहरू र प्रदीप गिरि जस्ता वैचारिक विशेषज्ञहरूको संगतमा रहेर काम गर्ने अवसर मिलेको हो । पत्रकारिता, प्राध्यापन, मानव अधिकार आन्दोलन र साहित्य लेखनसँगसँगै नेपाली कांग्रेसका हरेक आन्दोलनहरूमा जोडिएर मैले काम गर्दै आएको हुँ ।
एउटा विपन्न गाउँको आर्थिक रूपले अत्यन्त विपन्न परिवारको बालकका रूपमा म आजभन्दा करिब त्रिपन्न वर्ष पहिले राजधानीमा सडकबालक जस्तो गरी अध्ययन गर्दै हुर्केको व्यक्ति हूँ । २०२७ देखि २०२९ सालसम्म साम्यवादी कार्यकर्ताहरूको संगतमा मैले माक्र्सवादलाई बालमस्तिष्कले जति ग्रहण गर्नसक्यो त्यति नै लिएको थिएँ तर साम्यवादी कार्यकर्ताहरूको स्वैरकल्पना र काल्पनिक समाजवादको कथा मलाई अविश्वसनीय लाग्यो, उनीहरूको आचरण र व्यवहारका कारण । अनि म बिस्तारो स्वतन्त्रताको मूल्यसँग जोडिन पुगेँ २०३१ पछि निरन्तर । विद्यार्थी आन्दोलनमा प्रहरी हिरासत र सत्तापोषित मण्डलेहरूको प्रताडना धेरैपटक झेल्नु प¥यो । कतिपय समयमा जेलसमेत पुग्ने काम भयो ।

योगदानविहीन शासकीय पारिवारिक लिगेसीलाई स्थापित गर्न योगदान दिनेहरूलाई अपमानित गर्दै अनुशासनको डण्डाले पेल्ने गैरराजनीतिक काम कांग्रेस नेतृत्वले गरिरहेको छ । यसलाई हेरेर बस्ने पार्टीका अरू सदस्यहरू नेपाली कांग्रेसका संस्थापक र विचारका भाष्यकार जननायक बीपी कोइरालाका शब्दमा दासबाहेक केही पनि हुन सक्दैनन् ।

२०३० सालमा रानीपोखरी संमाविमा विद्यार्थी युनियनको सचिव निर्वाचित भएपछिबाट आरम्भ राजनीतिक यात्रा, २०३६ मा वाल्मीकि क्याम्पस स्ववियु सभापति, सगरमाथा छात्र कार्यसमितिको सभापति, २०४१ देखि २०५६ सम्म नेपाली कांग्रेस केन्द्रीय प्रचार विभागको सदस्य, २०४८ र २०५१ को निर्वाचनमा पार्टीको केन्द्रीय निर्वाचन प्रचार समितिको सदस्य र सदस्यसचिव, २०५६ मा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्व कालमा मिडिया एड्भाइजर, २०४६ को जनआन्दोलनमा सक्रिय र २०६२ मा लोकतान्त्रिक गणतन्त्रको अभियानमा सक्रिय, २०७५ देखि २०७८ पुससम्म नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका रूपमा मैले काम गरेको थिएँ ।

त्यसो त २०४३ मा प्रा.वासुदेवचन्द्र मल्ल सरको योजनाअन्तर्गत नेपाल प्राध्यापक संघमा केन्द्रीय सदस्य निर्वाचित भएर योगदान दिएको थिएँ । २०४७ साल यता अनेकपटक अनेक स्थानमा नेपाली कांग्रेस र यसका भातृ संस्थाहरूका सदस्यहरूलाई मैले प्रशिक्षण दिने काम स्वयंसेवी रूपमा नगरेको होइन । पार्टीसम्बद्ध सबै कामहरू गर्दा म स्वयंसेवी नै थिए । रेडियो नेपालमा २०४७ भदौदेखि करिब पाँच वर्ष कार्यक्रम घटना र विचारमार्फत मैले लोकतान्त्रिक मूल्यहरूको संरक्षण र सम्बद्र्धन गर्न निकै श्रम खर्च गरेँ । कार्यक्रम अत्यन्त लोकप्रिय पनि भयो । लोकतन्त्रको संस्थागत विकास नेपाली कांग्रेसकै पक्षको विषय थियो । मानव अधिकार आन्दोलन, पत्रकारिता, साहित्य लेखन, प्राध्यापन हरेक क्षेत्रबाट मैले लोकतान्त्रिक संस्कृति, लोकतान्त्रिक संस्था र लोकतान्त्रिक व्यक्तित्वको उन्नयनका लागि आफ्नो क्षमताको उपयोग गरिरहेको थिएँ ।

(२) बीपीसँग २०३६ र २०५० को निर्वाचन प्रसंग :
२०३६ सालमा बहुदल र निर्दलका बीच हुने जनमत संग्रहमा बहुदलका पक्षमा भैरहवातिर जानुभएका जननायक बीपी कोइरालासँग म पनि सहभागी थिएँ । उहाँसँग प्रचारमा जाने सदस्यहरूमा महामन्त्री परशुनारायण चौधरी र नेविसंघका पूर्वअध्यक्ष शेरबहादुर देउवा (हालका पार्टी सभापति र प्रधानमन्त्री) पनि हुनुहुन्थ्यो । एकाबिहानै बीपी आफ्नो कोठामा चिया पिउनु हुँदै गर्दा त्यस क्षेत्रका साथीहरू भेट्न आउनुभयो र गुनासो गर्दै भन्नुभयो : हामी तपाईंका मान्छे त्यसैले यहाँ हामी असाध्य हेपियौँ । यहाँका साथीहरूलाई सम्झाउनु पर्‍यो ।

उहाँहरूका गुनासा सुनेपछि मतिर फर्केर सोध्नुभयो : यतिविधि साथीहरू मेरा मान्छे हुनुहुँदो रहेछ । तिमी मसँग हिँड्छौ । जयवागेश्वरी पनि आइरहन्छौ । मेरा विचारहरू छाप्ने काम गर्छाै । तिमी कसको मान्छे ? मैले उत्तर दिएँ : म लोकतान्त्रिक आन्दोलनको सामान्य मान्छे, रष्ट्रियता, लोकतन्त्र र समाजवादबारेका विचारसँग सहमत र सही विचारलाई पूरा गर्न नेपाली कांग्रेसलाई सहयोग गरिरहेको छु । तर म तपार्इंको निजी मान्छे होइन (यो प्रसंगलाई मेरो कृति मेरो पत्रकारिता २०७० मा विस्तृत उल्लेख गरेको छु) यही जवाफलाई आधार मान्दै बीपीले साथीहरूको चित्त बुझाउने काम गर्नुभयो ।

अर्को प्रसंग हो २०५० को काठमाडौं १ मा भएको उपनिर्वाचनको । किशुनजी चुनावमा उठ्ने बहस सुरु भएपछि मैले पत्रपत्रिकासहित रेडियो नेपालमा समेत टिप्पणी गरेँ : किशुनजीको उपनिर्वाचनको उम्मेदवारीको औचित्य छैन । उठ्नु हुँदैन । मेरो यो टिप्पणी सुनेपछि किशुनजीको उम्मेदवारीको पैरवी गर्नेहरूले भने पुरुषोत्तम दाहाललाई प्रधानमन्त्री गिरिजाप्रसादले किनेछन् । यो कोइरालाको मान्छे भएछ । मेरो कुराबाट कोइराला समर्थकहरू खुब खुशी भए । जब पार्टीले किशुनजीको उम्मेदवारीको निर्णय गर्‍यो अनि मैले भनेँ : दलीय पद्धतिमा पार्टीको निर्णय मान्नुपर्छ ।

कोइराला पक्षले समेत किशुनजीको विजयमा कांग्रेसको जय देख्नुपर्छ र पराजयमा कांग्रेसको पराजय अनुभव गर्नुपर्छ । तर, कोइराला पक्षधरहरूले यसपछि मलाई किशुनजीको मान्छे भनेर खेदो खने र अन्ततः हामीलाई कार्यक्रमबाट हटाए । देउवा सरकार र पार्टी विभाजनका सन्दर्भमा पनि यस्तै भयो । म जहिले पनि सिद्धान्त ( प्रिन्सिपल) का पक्षमा उभिँदा शक्ति (पावर) का पक्षधरहरूको कोपभाजनमा परेँ । कुनै व्यक्ति र शक्तिका पक्षमा म आज पनि छैन । यो मेरो सामान्य परिचय हो । मसँग अहिले क्रियाशील सदस्यता छ तर मेरा प्रश्न र असहमतिका कारण त्यो सदस्यताले अनुशासनको प्रतिबन्धात्मक धारा आकर्षित हुन्छ भने म त्यसलाई परित्याग गर्न तयार रहेको जानकारीसमेत दिन चाहन्छु ।

(३) कांग्रेस यति कमजोर किन भयो ?
नेपालको लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेस किन यति कमजोर हुनपुग्यो ? यसको जिम्मेदारी कसले लिने हो ? अहिले कांग्रेसमा त्याग र बलिदानको इतिहास भएकाहरूलाई पन्साउँदै आयातितहरूको भरमा पार्टी चलाउने अवस्था देखिएको छ । हितोपदेशको एउटा प्रसंग मलाई अहिले स्मरण भइरहेको छ । लाखौं झिक्राहरूले एक निदालको काम हुनसक्दैन । यो भनाइको ठीक उल्टो अहिले नेपाली कांग्रेस अग्राखका निदालहरूमा आगो लगाउँदै राप्रपाबाट, माओवादी, एमाले, समाजवादी वा अरू दलहरूबाट सिटा बटुलबाटल पारी निदाल बनाउने प्रयास गरिरहेको छ ।

तिनै सिटाहरूको आडमा घरको तला थप्ने र महल बनाउने भ्रम कांग्रेस नेतृत्वमा देखिन्छ । गठबन्धन गर्नुपर्ने बाध्यता यसैको परिणाम हो । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचन र आसन्न प्रदेश र संघीय निर्वाचनका समय पुराना करिब एक लाख कांग्रेसहरूले पार्टी परित्याग गरेका छन् वा विपक्षमा उभिन पुगेका छन् । एक वर्ष पहिलेसम्म कुनै चर्चामा नआएको नेपाली कांग्रेस (बीपी) ले अहिले ३८ स्थानमा संघीय र ४२ स्थानमा प्रदेशसभा सदस्यसहित ६२ जना उम्मेदवार उठाएको छ । नेका बीपी पुराना कांग्रेसहरूले नै स्थापना गरेको हुनाले अहिले विकल्पको सम्भावना खोजिरहेको छ ।

वास्तवमा आठ दशकसम्म लोकतान्त्रिक शक्तिको विकल्प अर्को कुनै लोकतान्त्रिक शक्ति नभएका कारण यतिखेर नेपाली कांग्रेसको नेतृत्व अहंकारी, निरंकुश र विवेकहीन अराजक हुन पुगेको छ । परिवारवाद हावी हुनु, धनवाद, डनवाद, आयातितहरूको प्रभुत्व हुनुको मूल कारण यही नै हो । यही कारण कांग्रेसको वटवृक्षमा धमिरो लागेको, ऐंजेरु पलाएको, मक्किएको अवस्था छ । बाहिर सग्लो देखिए पनि भित्र धराप भएको छ ।

(४) उम्मेदवारी, जिम्मेदारीमा विवेकविहीनता :
स्थानीय निर्वाचनमा अधिकस्थानमा देखिएको विवेकहीनता प्रदेश र संघसहित समानुपातिकमा पनि दोहोरियो । १६५ संघीय स्थानमध्ये उम्मेदवारी ९१ मा र ३३० मध्ये प्रदेशमा १७५ उम्मेदवारी दिँदा अनेक योग्यहरू, पुराना र नयाँ समर्थहरू निरीह दर्शक बन्नुपर्ने अवस्था देखियो । केही अपवादलाई छाडेर करिब असी प्रतिशत समानुपातिकतामा त परिवारका सदस्य, नातेदार, कुण्डलीवृत्तका चाकरीदार, आयातीत, पैसावाल, डण्डावाल, समाजमा कालो छवि भएका र अतिरिक्त अनुहारहरूलाई सम्मान गरिएको छ । कहिल्यै पनि पार्टीबाट राष्ट्रका लागि निर्णायक जिम्मेदारी नपाएका तर चारपाँच दशकभन्दा बढी योगदान गरेकाहरूलाई पाखा लगाउँदै एकातिर आयातीतहरूका झिक्रा बटुल्ने काम भयो भने अर्कातिर विगत तीस-बत्तीस वर्षदेखि निरन्तर सत्तामा तर मारेर बसेकाहरूको कुण्डलीका शीर्ष र उनीहरूका परिवारलाई नै जिम्मेदारी दिने काम भयो ।

योगदानविहीन शासकीय पारिवारिक लिगेसीलाई स्थापित गर्न योगदान दिनेहरूलाई अपमानित गर्दै अनुशासनको डण्डाले पेल्ने गैरराजनीतिक काम कांग्रेस नेतृत्वले गरिरहेको छ, किन ? यस्तो नांगो सत्यलाई टुलुटुलु हेरेर बस्ने पार्टीका अरू सदस्यहरू नेपाली कांग्रेसका संस्थापक र विचारका भाष्यकार जननायक बीपी कोइरालाका शब्दमा दासबाहेक कोही पनि हुन सक्दैनन् । राणा शासन, निर्दलीय पञ्चायत र माओवादी आतंकको सामना गरेको गौरव गर्ने कांग्रेसहरू पद, धन, डन, शक्तिका सामु अत्मसमर्पण गर्न पुगेका हुन् त ? त्यस्तै देखिन्छ ।

(५) तल अनुशासनको डण्डामाथि बार्गेनिङ र अराजकता :
वर्तमान कांग्रेसको अवस्थाका लागि यो शीर्षक नै पर्याप्त छ । महामन्त्री, पदाधिकारीसहित केन्द्रीय नेताहरू भागबण्डाको माग गर्दै विद्रोहको सार्वजनिक धम्की दिने गर्छन् । त्यो धम्की पूरा भएपछि उनीहरूको अहंकार चुलिन्छ । केन्द्रीय पदाधिकारीहरू सभापतिलाई विद्रोहको धम्कीदिनसक्छन् भने स्थानीय पदाधिकारी र सदस्यहरूले म अमूक उम्मेदवारविरुद्ध विद्रोह गर्छु भन्न किन नपाउने ? केन्द्रमा धम्की दिनेहरूमाथि कारबाही हुन्न भने तलकामाथि मात्रै अनुशासनका धारा कसरी लाग्छन् ?

अहिले नेपाली कांग्रेसबाट पाँचजना संघीय उम्मेदवारहरूले आफ्ना क्षेत्रका मतदातासँग निर्वाचनपछिको प्रधानमन्त्री म हुँ भनेर मत मागिरहेका छन् । आसन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेले मात्रै आफ्नो नेता र प्रधानमन्त्रीको नाम अनुमोदन गरेको सार्वजनिक भएको छ । एमालेले केपी शर्मा ओलीको नेतृत्वमा चुनाव लडिरहेको छ तर नेपाली कांग्रेसले कसको नेतृत्वमा निर्वाचन लडिरहेको हो जानकारी दिएको छैन ।

दलीय व्यवस्थामा पहिले पार्टीमा सहमति गरी संसदीय दलले आफ्नो नेता चयन गर्दछ । अथवा निर्वाचन पहिले नै आफ्नो प्रस्तावित प्रधानमन्त्रीको घोषणा गरेको हुन्छ । यस्तो घोषणा नगरेसम्म कुनै पनि क्षेत्रका मतदातालाई म प्रधानमन्त्री हुने हुँ वा अमूक क्षेत्रको अमूक उम्मेदवार पार्टीको भोलिको प्रधानमन्त्री भनेर मतदातालाई आकर्षित गर्न खोज्नु अमर्यादित, अनुशासनहीन र अनैतिक पनि हो ।

यसै पनि अहिले पाँच दलको गठबन्धन छ । त्यसमा वर्तमान प्रधानमन्त्री देउवा नै यस गठबन्धनका मूल नायक भएको हुनाले उहाँ नै निर्वाचनपछिको स्वाभाविक नेता हो । त्यसपछि गठबन्धनका दुईजना पूर्वप्रधानमन्त्रीहरू विजयी हुनुभएमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल हुनुहुन्छ । यसबाट विकल्प खोज्नु परेमा सबभन्दा पदका लागि अति उत्साही र चिन्तित पुराना नेता रामचन्द्र पौडेल हुनुहुन्छ । यी सबैको पालो सकिए वा पराजित भएमा मात्रै शेखर, शशांक, प्रकाशमान वा गगनहरूको दाबी हुनसक्ने छ तर ती दाबीहरूले गठबन्धन यथावत् रहन्छ कि रहँदैन ? विचारणीय छ ।

केही दिन पहिले मात्रै गोरखामा डा.बाबुराम भट्टराईको उद्घोष छ : निर्वाचनपछि पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुनेछ । प्रकारान्तरले गठबन्धन फेरिनसक्ने विचार माओवादी पक्षबाट आइरहेको छ । तर, कांग्रेसमा अति उत्साही, महत्वाकांक्षी, भ्रमित तुल्याएर लोकप्रियताको पाखण्ड प्रदर्शन गर्नेहरूले आफूलाई मतदाता सामु प्रधानमन्त्री मै हुँ भनेर ढाँट्ने काम गरिरहेका छन् । के यो अराजकता होइन ? कांग्रेस नेतृत्व यसमा मौन र लाचार छ किन ?

(६) कांग्रेसका निम्ति गठबन्धनबाट कति लाभ कति हानी ?
२०७४ को आमनिर्वाचनका समयमा १३ वर्षको युवा अहिले अठार पुगेको छ । २०७४ पछि १८ वर्ष उमेर पुगेका मतदाताहरू करिब चालीस लाख होलान् । यीमध्ये नेपाली कांग्रेसका पक्षमा मत दिनेहरू पचास प्रतिशतमा रहेमा करिब बीस लाख हुन्छन् । अहिले कांग्रेसले ती नयाँ मतदातामध्ये सिटका आधारमा हेर्दा करिब १५ लाखलाई हँसियाहथौडा र कलममा मतदान गर्न निर्देशन दिएको छ । पुराना पैतीस लाखमध्ये करिब १६ लाख मतदातालाई कांग्रेसको चुनाव चिहृन रूखमा मत नहाल्न र हालेमा कारबाही गर्ने धम्की दिएको छ ।

यसै पनि गठबन्धन सिद्धान्तहीन, विचार र तर्कहीन सत्तास्वार्थका लागि अवसरवादको परिणाम हो । गठबन्धनकै कारण अनेक निष्ठावानहरू, योग्यहरू, विगतमा अवसर नपाएकाहरूको आफ्नो उमेर, योग्यता, श्रम र समर्पण सबै व्यर्थ भएको छ ।

पार्टीको सैद्धान्तिक, वैचारिक निरन्तरता यथावत् राख्न पार्टीमा नयाँ सदस्यहरूको भर्ती हुने गर्छ । कुनै पनि पार्टीले आफ्ना पक्षका सदस्यहरूलाई अर्को पार्टीमा जाऊ भन्दैन तर कांग्रेसको वर्तमान नेतृत्व आफ्ना सदस्यहरूलाई कम्युनिष्ट पार्टीमा भर्ती गराउन सक्रिय छ । यसमा तर्क सुनिँदै छ : माओवादी र समाजवादीले पनि मत दिने हुनाले बराबर हुन्छ । तर प्रश्न उठ्छ : नेपाली कांग्रेसमा कम्युनिष्ट पार्टीको जस्तो स्कुलिङ छ ? छैन । कम्युनिष्ट पार्टीका सदस्यहरूले आफ्नै चुनाव चिहृनमा रहने र कांग्रेसका मतदाताहरूले आफ्नो चुनाव चिहृन थाहा नपाउने, बिर्सने वा छाड्ने हुन्छ । त्यसैले गठबन्धनका कारण बेलुन फुलेजस्तो नेपाली कांग्रेसको आकार बने पनि यो फुस्स हुने निश्चित छ ।

यसै पनि गठबन्धन सिद्धान्तहीन, विचार र तर्कहीन सत्तास्वार्थका लागि अवसरवादको परिणाम हो । गठबन्धनकै कारण अनेक निष्ठावानहरू, योग्यहरू, विगतमा अवसर नपाएकाहरूको आफ्नो उमेर, योग्यता, श्रम र समर्पण सबै व्यर्थ भएको छ । उमेर हुनेहरू त आशावादी हुनसक्लान् जसको उमेर ढल्किदै छ उनीहरूका लागि अवसरको अन्त्य भएको हुनाले भोलिका सन्ततिका लागि पनि फरक शैलीमा सोच्न बाध्य हुने अवस्था छ । यसै पनि यो सिद्धान्तहीन, अवसरवादी गठबन्धन भएको हुनाले जसले जताबाट जसरी फाइदा पुग्छ त्यही गर्न प्रेरित गर्ने सन्देश भएको छ ।

गठबन्धनका सन्दर्भमा मैले यही १४ गते सोमबारको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा विस्तृत चर्चा गरेको हुनाले यहाँ दोहो¥याउनु आवश्यक छैन । अहिलेको गठबन्धन, नेपाली कांग्रेसमा अन्तिम सत्य सत्ता भन्ने लुब्ध, निरंकुश चिन्तन, विकसित विवेकहीनता, अहंकार, महत्वाकाक्षा, परिवारवाद, धनवाद, डनवाद जस्ता अनेक कुलक्षणहरूका कारण लोकतान्त्रिक विकल्प अनिवार्य देखिएको छ । समयले ती दिन पनि ल्याउन सक्नेछ । (निर्वाचनका सन्दर्भमा आगामी कुनै अंकमा मेरो मतदान क्षेत्रका उम्मेदवारहरूलाई प्रश्नमा केन्द्रित हुनेछ ।)

Subscribe
Notify of
guest
4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
TP Mishra
TP Mishra
2022-11-02 11:59 am

Wonderful and practical remarks from a sakkali congress
बिचारको खडेरि को माहोल्मा सहीं बिस्लेषण
सबै ले मनन र चिन्तन ग़रनै पर्ने
कंग्रैचुलेशन

सीता
सीता
2022-11-02 10:52 pm

सबैले पढ्नै पर्ने लेख ।

Shantikrishna Adhikaree
Shantikrishna Adhikaree
2022-11-03 7:54 pm

पुरु दाइलाई यस्ता प्रश्नहरूको उत्तर दिने व्यक्तित्व ठान्थ्यौं तर उहाँले नै प्रश्न उठाए पछि उत्तर कसले दिने? यी प्रश्नहरू निरुत्तर नै रहने भए । होइन भने पुरु दाइले नै एकदिन कलम चलाउनु पर्ला। यस्तै भैरह्यो भने कांग्रेसमा पहिरो गैरहन्छ।

भट्टराई बन्धु
भट्टराई बन्धु
2022-11-05 6:03 am

चुनावको समयमा कंग्रेसको जग हल्लाउने सामर्थ्य राख्ने साधकबाट यस्तो गंभीर तथ्य सार्वजनिक हुदा संपूर्ण प्रजातांत्रिक जगत सोचमग्न हुन स्वाभाविक हुन्छ । यथार्थमा यस्तो चुनौतिको सामना गर्न सक्ने सामर्थ्य पार्टी भित्र होला जस्तो लाग्दैन । यसबाट नेपाली कंग्रेस सुनामीको संघारमा उभिएको यथार्थलाई आत्मसात गर्नु पर्ने हुन्छ ।
संसदीय व्यबस्थाको भण्डाफोर गर्ने उद्घोष गरेका कम्युनिष्टहरूको संगतको घनचक्करमा कंग्रेस सिद्धिन आटेको तथ्य पुरूजीको लेखमा आगामी अंकमा पढ्न पाइने होला , मलाई त्यस्तो लाग्छ ।
बाटो विराएको बटुवाले गन्तव्य भेटाउन सक्दैन । नेपाली कंग्रेस त्यही अवस्थामा पुगेको हो कि ? पुरूजीका अनुत्तरित रहने प्रश्न संगै यस्ता कुराको कुनै अर्थ नरहने मलाई लाग्छ ॥
दव विकल्प नभएको स्थिति देखा पर्दा येनकेन अस्तित्व रहेको आत्मरतिका लागि सतिको सराप संझने नेपालीमा म पनि जोडिन पुग्छु ॥

रिलेटेड न्युज

छुटाउनुभयो कि ?