काठमाडौं । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणमा काठमाडौं आउनुभएको छ । उहाँ सोमबार बिहान काठमाडौं आइपुग्नुभएको हो । उपविदेशमन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले स्वागत गर्नुभएको थियो ।
भ्रमणका क्रममा उहाँ आज (मंगलबार) काठमाडौंमा हुने नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुने छ भने प्रतिनिधि मण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनुहुने छ । भ्रमणका क्रममा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा सोमबार भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले सो अवसरमा नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गर्नुभएको थियो ।
आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक पर्ने प्रधानमन्त्रीको भनाइ थियो ।
चीनका उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाठका अवसरमा नेपालको पर्यटन प्रवद्र्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल-२०२५’ मनाउने निर्णय गरेको जानकारी गराएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । नेपालको आर्थिक-सामाजिक विकासमा चीनबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता उपविदेशमन्त्री सुनको थियो ।
चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम छ । उपविदेशमन्त्री सुन असार १२ गते बुधबार स्वदेश फिर्ता हुने जनाइएको छ ।
बाक्लिँदो उच्चस्तरीय भ्रमण
पछिल्लो समय चीनबाट हुने उच्चस्तरीय भ्रमणहरू बाक्लिएका छन् । चिनियाँ जन-राजनीतिक परामर्शदात्री सभा (सिपिपिसिसी) को राष्ट्रिय कमिटी उपाध्यक्ष बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल गत सोमबार फकिएलगत्तै अर्को उच्चस्तरीय टोली नेपाल आएको थियो । गृह मन्त्रालयको निमन्त्रणामा सिचुवान प्रान्तको उपप्रमुख एवं पब्लिक सेक्युरिटिज विभागका प्रमुख ये हानपिन नेतृत्वमा पाँच सदस्यीय टोली यही असार ४ गते मंगलबार सिचुवान एयरबाट काठमाडौं आएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार हानपिन नेतृत्वको टोलीले परराष्ट्रमन्त्री, गृहमन्त्री, गृहसचिवलगायत उच्च अधिकारीहरूसँग भेट गरेको थियो । गृह मन्त्रालयमा आपसी हित र सुरक्षा चासोका विषयमा द्विपक्षीय छलफल भएको गृह मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । भ्रमण टोलीमा तङ हुवा, जङ सिआओछिन, चुङ ख, थाङ जिआसिन रहनुभएको थियो ।
सरकारी पक्षले ती भेटवार्ताहरूमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको उल्लेख गरेको छ । तर, विज्ञहरू चिनियाँ पक्षबाट राजनीतिक तहमा भएको भ्रमणलाई सुरक्षा र राजनीतिक पक्षमा केन्द्रित भएको बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच