सामुदायिक उद्यान वा पार्क वा वाटिका वा उपवन आदिले सम्बोधन गरिने सार्वजनिकस्थल अष्ट्रेलियन नागरिकहरूको मनोरञ्जन, व्यायामका साथै भेटघाट र टहलिने मुख्य ठाउँ हुन् । सधैं खुला रहने यस्ता पार्कमा विभिन्न पृष्ठभूमिका मानिस व्यस्त देखिन्छन् । पार्कको स्वच्छ हवा, वातावरणको लाभ लिने विषय शहर वा आवासीय क्षेत्रका बासिन्दाको नियमित दैनिकीभित्र पर्छ । धुलो, धुवाँ र अन्य प्रदुषणमुक्त सुविधयुक्त पार्क स्वास्थ्यका दृष्टिकोणले महत्वपूर्ण मानिन्छन् । काम र तनावले थाकेको मन र मस्तिष्कलाई मनोरञ्जन दिने, विभिन्न उमेर समूहलाई शारीरिक व्यायामको सुव्यवस्थाले पार्क बालबालिका, युवा तथा वृद्ध सबैलाई एकै ठाउँमा जम्मा गर्ने सूत्र हुन् ।
मानव जीवन र सार्वजनिक पार्कको अन्योन्यास्रित सम्बन्धको जति व्याख्या गर्दा पनि कम हुन्छ । बाग, बगैँचा, पार्क, उद्यान, वाटिका आदिको सुन्दरता मानवीय आकर्षणका महत्वपूर्ण क्षेत्र हुन् । पार्क मानव निर्मित हँुदाहँुदै पनि यिनीहरूले प्राकृतिक वातावरणको प्रतिनिधित्व गर्छन् । रूख, बिरुवा र मानव स्वास्थ्यको अन्तरनिहीत सम्बन्धका दृष्टिकोणले पार्कहरूको विशेष महत्व छ । प्रकृतिलाई कोरीबाटी गरेर सुन्दर बनाउने अष्ट्रेलियाको पार्क प्रणाली बाँकी विश्वले अनुकरण गर्नुपर्ने विषय हुन् । बिरुवा जहाँ हुन्छन् तिनीहरूले त्यस वरपरको कार्बनलाई शोषण गरेर मानवमात्रलाई अक्सिजन जस्तो प्राणवायु दिने हुनाले पार्क, वाटिकाको महत्व अवर्णनीय छ ।
पार्कमा सबै उमेर समूहका मानिस रमाउने व्यवस्था छ । बालबालिकाका लागि विभिन्न खेलका, मनोरञ्जनका सामग्रीको व्यवस्था भएकाले घरका साना बालबालिकालाई खेल्न र भुलाउन प्रायः सबै अभिभावकले आफ्ना बालबालिकालाई पार्कमा लैजान्छन् ।
बोटबिरुवाको जराले माटोलाई स्थिर राख्न मद्दत गर्छन् भने भूस्खलनजस्ता प्राकृतिक प्रकोपको उपचारमा उल्लेखनीय विषय हुन् । पार्क, वागबानी, उपवन, वाटिका आदिले जैविक खेती, जलसंरक्षण, माटोको संरक्षण साथै पर्यावरण संरक्षणमा विशेष भूमिका खेल्छन् । आवासीय बस्तीहरूको सुन्दरता, मनोरञ्जन, व्यायामलाई प्रबद्र्धन गरेर मानवलाई स्वस्थ र तनावमुक्त बनाउने उत्तम थलो हो । मानव स्वास्थलाई चुस्त दुरुस्त राख्ने दृष्टिकोणले उच्च मूल्यांकन गर्नुपर्ने हुन्छ । देख्दा सामान्य लाग्ने पार्कको मानव जीवनमा पार्ने प्रभाव र भूमिकाले महत्व र उपयोगिता वास्तवमा अवर्णनीय विषय हुन् । अष्ट्रेलियाका मुख्य शहर, आवासीय क्षेत्रमा रहेका प्रायः सबै पार्क बालबालिकालाई भुलाउने, खेलाउने, सबै उमेर समूहलाई मनोरञ्जन दिने र स्वास्थ्यलाई अनुकूल बनाउन व्यायाम गर्ने ठाउँको रूपमा परिचित छन् ।
आवासीय क्षेत्रहरूमा औषतमा चार-पाँच दर्जन घरलाई पायक पर्ने हिसाबले सानाठूला पार्कहरूको अनिवार्य व्यवस्था छ । अष्ट्रेलियामा पार्कहरूको निर्माण, व्यवस्थापन स्थानीय निकायका रूपमा रहेका काउन्सिलहरूबाटै हुन्छ । सबै पार्कहरूको रेखदेख, मर्मत र हरियाली प्रबद्र्धनका अतिरिक्त सरसफाइ आदिको सम्पूर्ण व्यवस्था स्थानीय निकायका रूपमा रहेका काउन्सिलले गर्छन् ।
पार्कमा सबै उमेर समूहका मानिस रमाउने व्यवस्था छ । बालबालिकाका लागि विभिन्न खेलका, मनोरञ्जनका सामग्रीको व्यवस्था भएकाले घरका साना बालबालिकालाई खेल्न र भुलाउन प्रायः सबै अभिभावकले आफ्ना बालबालिकालाई पार्कमा लैजान्छन् । के बिहान के दिन के बेलुका सबै समयमा अभिभावकले आफ्ना बालबालिकालाई पार्कमा लैजान स्टलरमा हालेर डोहोर्याउँदै हिँडेको दृश्य सर्वत्र देखिन्छ । फेरि पार्कमा बालबालिका एकआपसमा भेटघाट हुने भएकाले अष्ट्रेलियाका बालबालिकालाई सामाजको एक जिम्मेवार सदस्यको रूपमा व्यवहार गर्न सिकाउने पाठशालाको भूमिका पार्कले खेलेका हुन्छन् ।
बालबालिकालाई सानैदेखि सामाजिक बनाउने र एकआपसमा घुलमिल हुने स्वभाव तथा बानीको विकास गर्ने दृष्टिकोणले बालबालिकालाई पार्कमा लैजाने गरिन्छ । घरमा परिवारको अत्यन्तै सीमित संख्या हुने र श्रीमान्-श्रीमती दुवै काममा जाने हुँदा सबै आप्रवासीले बालबच्चा हेर्न आमाबाबुलाई बोलाउने गरेका छन् । बालबालिका हेर्न लगाउने मानिस राख्दा वा केयर सेन्टरमा राख्दा खर्चिलो र स्वास्थ्यसम्बन्धी जोखिमका कारण धेरैले बालबच्चा हेर्नलाई अभिभावक बोलाउने विषय सामान्य मानिन्छ । नेपालीहरूले मात्रै होइन भारतीयलगायत विकासोन्मुख देशका आप्रवासीले बच्चा हेर्ने ध्येयले नै अभिभावकलाई बोलाउने गरेका छन् । यसले अभिभावकलाई अष्ट्रेलिया घुम्ने अवसर जुटेको छ ।
अष्ट्रेलियाका पार्कमा तिनै अभिभावक आ-आफ्ना बच्चा लिएर जाँदै गरेको देख्न सकिन्छ । बालबालिकाहरूका लागि विविध प्रकारका मनोरञ्जनात्मक सामग्रीको व्यवस्थाका कारण अष्ट्रेलियाका पार्क बालबालिकालाई विशेष आकर्षण गर्ने ठाउँभित्र पर्छन् । पार्कमा बालबालिकालाई मनोरञ्जन दिने अनगिन्ती सामग्रीको व्यवस्था छ । खेल्ने ठाउँमा बालकहरू यदि लडे भने चोटपटक नलाग्ने प्रकारका देख्दा पक्का देखिने तर कुल्चदा नरम वस्तु बिच्याइएको हुन्छ । यदि बालक खेल्दा चोटपटक लाग्यो भने काउन्सिलहरू दण्डित हुने हुँदा सुरक्षा उनीहरूको प्राथमिकताको विषयमा पर्छ ।
पैदलबाटोमा स्ल्याबहरू नमिलेका कारण पैदल यात्रु लड्यो र चोटपटक लाग्यो भने त्यसको जिम्मेवारी काउन्सिलले लिनुपर्ने भएकाले पैदलमार्गको अवस्थाको रेखदेख र मर्मतका काममा सम्बन्धित व्यक्ति अहोरात्र खटेका हुन्छन् । बोटबिरुवामा पानी, मल र काँटछाटजस्ता काममा कहिँ कतै कमजोरी देख्न नै पाइँदैन । घामपानी छेक्न ओत पनि हुन्छ । पिउने र हात खुट्टा धुने पानीको छुट्टाछुट्टै व्यवस्था हुन्छ । अधिकांश पार्कमा शौचालय अनिवार्य बनाउनुपर्ने प्रावधान छ । यहाँ खुला दिसापिसाबमा पूर्णप्रतिबन्ध छ । सार्वजनिकस्थलमा शौचालय अनिवार्य विषयभित्र पर्छ । आवास क्षेत्रबाट पार्कसम्म पुग्ने बाटाघाटामा केही फराकिलो ठाउँहरूमा बस्ने बेञ्चको व्यवस्थाले वृद्ध पैदलयात्रीहरू लाभान्वित हुनेगर्छन् ।
अष्ट्रेलियाको शहरीमात्रै होइन आवासीय क्षेत्रमा रहेका घरबीच एकआपसमा सम्बन्ध हुँदैनभन्दा नेपाल तथा भारतलगायतका देशका नागरिकका लागि अनौठो लाग्नसक्छ । तर यथार्थ के हो भने यहाँ जोडिएका घरका परिवारबीच चिनजान, बोलचाल, भेटघाट नै हुँदैन । वर्षौंसम्म एकै ठाउँमा घर जोडिएकाबीच चिनजान र बोलचालसम्म नहुने अनौठो, असामाजिकपन किन विकास भएको छ भनेर अध्ययन र अनुसन्धान गर्नेहरूका लागि अष्ट्रेलिया उर्वरस्थल हो । पैदल हिँडनेहरूको संख्या अत्यन्तै सीमित छ । पैदल हिँड्दा आँखा जुध्दा मुस्कुराउने र हलो शब्दमै भेटघाट टुंगिन्छ । छिमेकीहरूसँग भेटघाट भइहाल्यो भने पनि सञ्चो बिसञ्चोका विषयमा प्रवेश नै गर्दैनन् ।
जनप्रतिनिधिहरूको संस्था इमानदार हुँदा देश कसरी विकसित र व्यवस्थित हुन्छ भन्ने विषयको ज्ञान अष्ट्रेलियाले प्रदान गर्ने राम्रो खुराक हो । हरियाली र पार्क व्यवस्थापनमा काउन्सिलहरूको महत्वपूर्ण योगदान छ ।
आवासीय क्षेत्रमा पैदलमार्ग भएर हिँड्दा मानिस देखिने बोलचाल गर्ने विषय दुर्लभ हुन्छ । विकसित देशमा बस्ने नागरिकहरूमा देखिएको यो असामाजिकपनको केही हदमा उपचार गर्ने काम पार्कको भेटघाटबाट हुने भएकाले पार्क मनोरञ्जन, व्यायामका अतिरिक्त नागरिकबीच न्यूनतम् सामाजिक सम्बन्ध र सद्भाव राख्ने दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छन् । यहाँका नागरिक काम, दाम र त्यसपछि दामलाई मनोरञ्जनमा कसरी प्रयोग गर्ने भन्ने चिन्तनमा केन्द्रीकृत छन् । समाजसँगको सम्बन्धका विषयमा यहाँका नागरिकमा चिन्तन र चिन्ता छैन । आर्थिक रूपमा यिनीहरू कामबाट प्राप्त धनराशिले सन्तुष्ट र आत्मनिर्भर छन् । आर्थिक अभावका कारण कसैसँग सम्पर्क गर्न जरुरी हुँदैन । यदि बिरामी अवस्थामा हस्पिटल नै जानुपर्ने अवस्थामा श्रीमान्-श्रीमतीमात्रै बसेको घरमा पनि श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई खबर नगरिकन आफैं एम्बुलेन्स बोलाएर हस्पिटलसम्म जाने गर्छन् । उपचार गर्ने र रेखदेख अस्पतालकै विषयमा सबै विश्वस्त भएकाले बिरामी हुँदासमेत घरपरिवारको आवश्यकता नठान्ने मनोविज्ञानले छिमेक र वरपरकासँगको सम्बन्धलाई महत्व नदिने विषय खासै अनौठो हुँदैन । नेपाली र भारतीय समाजका लागि अनौठो घटना मानिन्छ ।
मानिस-मानिसबीचको सम्बन्ध, सामाजिकपन हस्पिटलको उपचार र सेवाप्रति पूर्णविश्वास भएकाले बिरामी रहँदा पनि आपसी सम्बन्धलाई त्यति आवश्यक नठान्ने मनोविज्ञानका कारण नागरिकको व्यवहारमा असामाजिकपन झल्कन्छ । नागरिकमा विकसित असामाजिकपनलाई चिर्न थोरै भने पनि सामाजिक सद्भावना कायम गर्न पार्कमा हुने भेटघाट र आपसी कुराकानीले पुर्याएको योगदानका कोणबाट पनि यस्ता सार्वजनिक पार्कहरूले समाजलाई व्यवस्थित गर्न खेल्ने भूमिकाको उच्च मूल्यांकन गर्नैपर्छ । आत्मनिर्भरताले यहाँ सामाजिक सम्बन्ध किन भन्ने दृष्टिकोण प्रबल भएको देखिन्छ । यहाँ मानिस सामाजिक प्राणी हो भन्ने कुरा नै बिर्सेका हुन् कि जस्तो अनौठो परिस्थितिको बोलवाला छ ।
आफ्नो दैनिक कामसँग सम्बन्धित सहकर्मीबाहेक अन्यत्रको सम्बन्धलाई आवश्यक नै नठान्ने मनोविज्ञानले सामाजिक भावनाको खडेरी छ । देखावटी सद्भावनाको भने बिगबिगी छ । बाटोमा आँखा जुध्न नपाउँदै मुस्कानका साथ हेलो भन्ने शब्दावली प्रयोग गर्न चिनजान गर्नु नै पर्दैन । त्यो मुस्कान र हेलोपछि अर्को शब्द उच्चारण गरेर गफगाफ नगर्ने संस्कृतिले जरो गाडेको हुनाले छिमेकीबीच समेत सम्बन्ध र मानवीय व्यवहारमा कञ्जुस्याइँको अवस्थाभित्र विचरण गर्ने हो भने विकसित देशका नागरिकको असामाजिक अवस्थाले कतै विकास भनेको सामाजिक सद्भाव र मानवीय सम्बन्धलाई कमजोर बनाउने वस्तु त होइन भन्ने आशंका उत्पन्न हुन्छ ।
पार्कको व्यवस्थाले अष्ट्रेलियावासीहरूको जीवनलाई आनन्द, ऊर्जा र मानसिक शान्ति प्रदान गरेको छ । सानु बच्चादेखि वृद्धसमेतलाई मनोरञ्जन र व्यायामका साथै भेटघाटको केन्द्रको रूपमा काम गर्ने सार्वजनिकस्थल हो । अष्ट्रेलियामाका स्थानीय निकायलाई काउन्सिल भनिन्छ । पार्कहरू स्थानीय निकायको व्यवस्थापनअन्तर्गत पर्छन् । स्थानीय निकायको सक्रियता र नागरिकमैत्री क्रियाकलाप बाँकी संसारका लागि अनुकरणीय विषय हुन् । स्थानीय निकाय जिम्मेवार भएको अवस्थामा नागरिक कसरी लाभान्वित हुन्छन् भनेर अध्ययन गर्ने थलो पनि हो ।
जनप्रतिनिधिहरूको संस्था इमानदार हुँदा देश कसरी विकसित र व्यवस्थित हुन्छ भन्ने विषयको ज्ञान अष्ट्रेलियाले प्रदान गर्ने राम्रो खुराक हो । हरियाली र पार्क व्यवस्थापनमा काउन्सिलहरूको महत्वपूर्ण योगदान छ । विशेषता भनेको जिम्मेवारी प्राप्त निकाय र जिम्मेवारी प्राप्त व्यक्तिले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने आचरणले नै अष्ट्रेलियालाई विकासको शिखरमा पुर्याएको । स्थानीय निकाय स्वतः क्रियाशील हुने संयन्त्रको विकासलाई र अष्ट्रेलियाका जस्तै सार्वजनिक पार्कहरूको अनुकरण गर्न सके विश्वका विकासोन्मुख देशका नागरिकले पनि राज्यप्रदत्त मनोरञ्जन र शारीरिक व्यायामको लाभ लिन सक्थे । (मेल्बर्नको ओलर्टबाट)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच