अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ : सभामुख घिमिरे

काठमाडाैं । सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अझै पनि नेपालमा शिक्षा व्यवहारिक हुन नसकेको भन्दै शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताउनु भयो । उहाँले शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रुपमा विकास गर्नुपर्ने बताउनु भयो ।

उहाँले नेपालको शिक्षा नेपाली जनजीवन, नेपाली समाजको जीवनमा आधारित भइ प्राकृतिक श्रोत साधनहरुको सदुपयोग गर्ने सन्दर्भमा केन्द्रित हुनुपर्ने बताउनु भयो । उहाँले अहिलेको समयानुसारको पाठ्यक्रमहरु निर्माण गरी दक्ष शिक्षकहरुबाट विद्यार्थीलाई शिक्षित बनाउनुपर्ने बताउनु भयो । उहाँले शिक्षालाई सर्वसुलभ बनाइ, शिक्षा जीवनउपयोगी बनाउने र शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउनका लागि हो भन्ने हिसावबाट अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि हामीले शिक्षालाई सर्वसुलभ बनाउन सकेका छैनौँ । शिक्षा व्यवहारिक हुन सकिरहेको छैन । शिक्षाले समाजलाई परिवर्तन गर्ने दर्शन सिक्ने ठाउँको रुपबाट विकास गरेको छैन । त्यो दर्शन मान्छेको जीवनमा, नेपाली समाजको जीवनमा यहाँका विभिन्न जातजातिहरुको, विभिन्न संस्कार, संस्कृतिहरुको, धनी र गरिवहरुबीचको, सुविधा सम्पन्न शहर र धेरै दुर्गम ठाउँको र नेपालको विशिष्टतामा आधारित देहायका प्राकृतिक श्रोत साधनहरुको सदुपयोग गर्ने सन्दर्भमा, यहाँको पर्यापर्यटनहरुका विभिन्न क्षेत्रहरुको उद्घाटन गर्ने सन्दर्भमा कसरी यसलाई प्रयोग गर्न सकिन्छ ? भन्नेबारेमा त्यस दिशामा यसले धेरै जमर्कोहरु गरिरहेको छ । तदनुकुलको पाठ्यक्रमहरु निर्धारण गर्ने, तदनुकुलका दक्ष शिक्षकहरु राखेर प्रशिक्षण दिने, यि कामहरुमा कोशषि गरिरहेको छ । तर जुन किसिमबाट विकास गर्नुपर्ने हो, प्रतिकुलताका कारण सकिरहेको छैन । शिक्षालाई सर्वसुलभ बनाइ, शिक्षा जीवनउपयोगी बनाउने र अझै शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउन सकिन्छ ।’

सभामुख घिमिरेले विचारबाट समाजलाई परिवर्तन गर्ने वैज्ञानिक शिक्षा विद्यार्थीहरुलाई सिकाउन आवश्यक रहेको बताउनु भयो । उहाँले अहिलेको शिक्षालाई वैज्ञानिक शिक्षा नीतिमा लैजानुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?