कृषि मात्रै होइन, नेपालमै युवा आकर्षण छैन । अधिकांश युवाको एउटै मिसन हुन्छ, विदेश । सके युरोप, अमेरिका, नसके खाडी मलुक । खाडीसम्म पनि पहुँच नहुनेका लागि छिमेकी गन्तव्य भारत छँदै छ । बढ्दो युवा पलायनसँगै नेपालमा कृषि मात्रै होइन, औद्योगिक जनशक्ति पनि अभाव हुन थालेको छ । जनशक्ति अभावमा निजी क्षेत्रले विदेशबाट महँगा कामदार ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ । निजी क्षेत्र मात्र होइन, कतिपय सरकारी निकायमा समेत दक्ष जनशक्तिको खडेरी छ । उदाहरणका रूपमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले लामो समयदेखि रिक्त कृषि वैज्ञानिक पदपूर्ति गर्न सकेको छैन । सरकार तथा राजनीतिक दलहरू आत्मनिर्भर अर्थतन्त्रको कुरा गरिरहेका छन्, खाद्य सुरक्षा र खाद्य सम्प्रभूताको नारा दिइरहेका छन् । तर, देशमा खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढ्दोे छ, अर्बौंको खाद्यन्नलगायत कृषिजन्य वस्तु आयात भइरहेको अवस्था छ ।
तथापि पछिल्लो समय कृषि क्षेत्रमा केही सकारात्मक संकेत पनि देखिन थालेका छन् । कृषि क्षेत्रका समस्यालाई अवसरमा रूपान्तरण गर्ने पहल र प्रयास सुरु भएका छन् । निर्वाहमुखी र परम्परागत कृषिलाई व्यावसायिक बनाउन कृषिमा निजी क्षेत्र अगाडि आउन थालेको छ, पुँजी र प्रविधि र बजाररहित, अनि युवा पुस्ता समेट्दै । किनभने युवा पुस्ता पुरानो प्रविधि हलो-कोदालो नभई आधुनिक कृषि प्रविधिमार्फत कृषि र किसानसँग जोडिन चाहन्छ । यस्तै अभियान रहेका दर्जनौँ कम्पनीमध्ये मुक्तिनाथ कृषि कम्पनी लिमिटेड पनि रहेको छ । जसले ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानमार्फत व्यावसायिक कृषिका मूल्य र मान्यताभित्र रही समग्र कृषि मूल्य शृंखला व्यवस्थापन सवल बनाई कृषिलाई मर्यादित र प्रतिस्पर्धी पेशाका रूपमा विकास गर्दै लाखौँ युवालाई रोजगारी तथा स्वरोजगारी अवसर सिर्जना गर्दै दिगो कृषि अर्थतन्त्र विकासको लक्ष्य लिएको छ । कृृषिका सबै क्षेत्र समेट्ने गरी कम्पनीले मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ फर्टिलाइजर बैंक, मुक्तिनाथ लाइभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फुड बैंक, मुक्तिनाथ एग्रो मेसिनरी, मुक्तिनाथ ट्रेडिड सहायक कम्पनीका रूपमा स्थापना गरेको छ । पछिल्लोपटक कम्पनीले मुक्तिनाथ क्लाइमेट केयर, मुक्तिनाथ आइटेक पनि थप गरेको छ । कृषि क्षेत्रका विविध विषय हिमालय टाइम्सका लेखनाथ पोखरेलले कम्पनीका उपमहाप्रबन्धक रामशरण तिमल्सिनासँग गर्नुभएको कुराकानी :-
मुक्तिनाथ कृषिको पछिल्लो प्रगति के छ ?
मुक्तिनाथ कृषि कम्पनीले गतवर्ष कृषिसँग सम्बन्धित विभिन्न आठवटा सहायक कम्पनी स्थापना गरेको थियो । यसवर्ष फेरि दुईवटा कम्पनी थप भएका छन् । एउटा मुक्तिनाथ आइटेक र मुक्तिनाथ क्लाइमेट केयर लिमिटेड थप भएका हुन् । मुक्तिनाथ आइटेक लिमिटेडले इन्नोभेसनदेखि इन्फर्मेसन र इन्टेलिजेन्स क्षेत्रमा समेत काम गर्नेछ । मुक्तिनाथ क्लाइमेट केयरले जलवायु परिवर्तनसँग सम्बन्धित मुद्दाहरूमा काम गर्नेछ । कार्बन ट्रेडिङको काम पनि हामीले सुरु गरेका छौँ ।
गत वर्ष स्थापित आठवटा कम्पनीको प्रगति के छ ?
आठवटा सहायक कम्पनीहरूले पनि काम सुरु गरिसकेका छन् । फर्टिलाइजर बैंकले चितवनमा उद्योग सुरु गरिसकेको छ । केही महिनामै विभिन्न आठदेखि १० वटा मलजन्य उत्पादन बजारमा आउँदै छन् । जसमा जैविक विषादी प्रोडक्टसमेत रहेका रहनेछन् । मुक्तिनाथ नर्सरी बैंकले फलफूलजन्य विरुवा उत्पादन गरिरहेको छ । अहिले नै करिब पाँच लाख विरुवा हामी उपलब्ध गराउन सक्छौँ । हामीसँग सुन्तला, आँप कटहर लगायतका फलफूल विरुवा उपलब्ध छन् । मुक्तिनाथ सिड बैंकले पनि बीउ उत्पादनको काम सुरु गरिसकेको अवस्था छ । अर्को ठूलो उपलब्धि भनेको बुटवलमा आधुनिक पशु वधशाला हामीले सञ्चालनमा ल्याएका छौं । बुटवल महानगरपालिका र लुम्बिनी प्रदेशले करिब २५ करोड लगानीमा निर्माण गरेको उक्त पशु वधशालाको व्यवस्थापन हामीले लिएका हौँ । वधशाला पूर्णरूपमा संचालनमा आउँदा नेपाली किसानले उत्पादन गरेका आठदेखि १० अर्बको खसीबोका वाइब्याक हुनसक्छ । त्यसैगरी, हर्बल बैंकले महांकाल गाउँपालिकामा लोठ सल्लो प्रशोधन प्रक्रिया सुरु गरेको छ । पब्लिक, प्राइभेट, पार्टनरसिप मोडलमा हामीले काम अघि बढाएका हौँ । लोठ सल्लाबाट क्यान्सर औषधिमा प्रयोग हुुने भएकाले स्वदेश र विदेशमा समेत निर्यात हुनसक्ने सम्भावना छ । आइटेकले पनि आइटी क्षेत्रसँग सम्बन्धित काम सुरु गरेको छ भने फुड बैंकले रैथाने खाद्यान्न र दालजन्य प्रोडक्ट प्रोसेसिङ उद्योग संचालनमा ल्याउँदै छ । समग्र किसानलाई प्रविधि दिने र इनपुटहरू दिने र उनीहरूका उत्पादन वाइब्याक ग्यारेण्टीका साथै भ्यालु एडिसन गरेर कसरी बजारमा स्वस्थ उत्पादन पुर्याउने भन्ने नै हाम्रो अभियान हो ।
यति धेरै प्रशोधन उद्योगका लागि यहीँको उत्पादनले धान्न सक्छ र ?
प्रविधि र उत्पादनसँग सम्बन्धित कुरा कति नेपालमै उपलव्ध नहुन पनि सक्ने र उपलब्ध हुनसक्ने भए पनि समय लाग्नसक्ने अवस्था रहेकोले अहिले बाहिरबाट पनि हामीले ल्याइरहेका छौँ । यही उत्पादन हुनसक्ने यही पनि उत्पादन गरिरहेका छौँ । तर खाद्य वस्तु भने बाहिरबाट ल्याएर यहाँ प्रशोधन गर्ने भन्ने हाम्रो भिजन अहिलेसम्म छैन । सकेसम्म त्यस्तो गर्न नपरोस् भन्ने नै हाम्रो मान्यता हो ।
अधिकांश कृषि बीउ बिजन आयात हुने गरेको छ । मुक्तिनाथले पनि आयात नै गर्ने हो ?
अहिलेसम्म त हामीले बाहिरबाट ल्याएकै छैनौँ । केही धानको बीउ दर्ता प्रक्रियामा रहेका छन् । धान, चामल आयात प्रतिस्थापनका लागि चैते धानको उत्पादन र उत्पादकत्व बढाउनुपर्ने अवस्था छ । चैतेधानको हाइब्रिड भेराइटी नभएकोले हामी त्यसमा काम गरिहेका छौँ । बढी पानी र सुक्खा पनि सहन सक्ने चैते धानको हाइब्रिड भयो भने उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले नै विकास गरेको हर्दीनाथ धानको भेराइटीहरूमा पनि हामीले काम गरिरहेका छौँ । हामीले त्यसमा सफलता पनि पाइसकेका छौँ । त्यसको व्यावसायिक उत्पादन नै सुरु गरिसकेको अवस्था छ । अर्को कुरा, इरीले पछिल्लो समय सिड विदाउट बोर्डरको अवधारणा ल्याएको छ । त्यसमा पनि हामी काम गर्दै छौँ ।
बीउको प्यारेन्टलाइन नै ल्याउन पाउने हो र ?
प्यारेन्टलाइन नै ल्याउन पाउने अवस्था त बनिसकेको छैन । किनभने त्यसमा हालसम्म खासै पहल भएको देखिएको छैन । बीउ बिजनसम्बन्धी कम्पनीहरू पनि प्यारेन्ट लाइनभन्दा तयारी बीउ आयातमै रमाइरहेको देखिन्छ । त्यसो त बीउ बिजन कारोबारमा हाम्रोमा नीतिगत समस्या पनि छ । विगतमा निजी क्षेत्रलाई लाइसेन्सिङको मेकानिजम थिएन । हाम्रो लाइन भने प्यारेन्ट लाइन नै ल्याएर यही उत्पादन गर्ने हो । त्यसो त नार्कले विकास गरेकै कतिपय जात धेरै राम्रा छन् । तर, जात विकास गर्ने र किसानसम्म नपुग्ने समस्याका कारण राम्रा जात भएर पनि ओझेलमा परेका छन् । नार्कले विकास गरेको रामपुर हाइब्रिड १०, रामपुर हाइब्रिड १६ धेरै राम्रो छ । हामीले पनि त्यसमा काम गरेका छौँ ।
प्रमुख खाद्यान्न बाली धान उत्पादन कसरी बढाउने ?
हाम्रोमा धानको उत्पादन र उत्पादकत्व खासै बढ्न सकेको छैन । उत्पादन र उत्पादकत्वमा बीउको महत्वपूर्ण भूमिका हुन्छ । अहिलेकै उन्नत बीउको गुणस्तर मात्रै सुधार गर्ने हो भने पनि ३० प्रतिशतसम्म धान उत्पादन बढ्ने सरकारको सिड भिजनमै उल्लेख छ । त्यस्तै, मलको कुरा छ । धान लगाउनु एक महिनाअघि ढैंचा लगायो भने धानलाई चाहिने आधा रासायनिक मलको आवश्यकता ढैँचाले पूरा गर्छ । ढैँचा मलका रूपमा प्रयोग गर्दा प्रतिहेक्टर सय केजी रसायनिक मल प्रयोग गर्नुर्पेमा ५० प्रतिशत मात्रै रसायनिक मल प्रयोग गर्दा हुन्छ । तर, त्यसतर्फ खासै ध्यान गएकै देखिँदैन । खाली रासायनिक मलको मात्रै कुरा हुने गरेको छ । त्यस्तै, माटो सुधार, सिँचाइ व्यवस्थापन, वेदर फोरकास्ट कुरा भयो, मेकनाइजेसनको कुरा भयो । अहिले कम्वाइन हार्भेष्टिङ मेसिन आएको छ । जसले हार्भेष्टिङ कष्ट घटाउन सक्छ । उत्पादन र उत्पादकत्वका लागि विभिन्न फयाक्टर्सको भूमिका हुन्छ । चैते धानमा जोड दिएर उत्पादन बढाउन सकिने सम्भावना छ ।
खाने बानीमा परिवर्तन नगर्दा पनि धानामा मात्रै चाप परेको भनिन्छ नि ?
हो, मुख्य खाद्यान्नमध्ये ६७ प्रतिशत उपभोग चामलको छ । यो एकदमै धेरै हो । खाने बानी परिवर्तन गर्न नसक्दा चामलको माग बढ्दै गएको छ । हुन त शहरी क्षेत्रमा खानपानकै कारण स्वास्थ्य समस्या आएको भन्दै पछिल्लो समय भातको विकल्प खोज्ने क्रम बढेको छ । तर, उपलब्धता र मूल्यका हिसाब अझै भातको विकल्प देखिएको छैन । हाम्रो कोदो, मकै धेरै उत्पादन छैन भने कतिपय रैथाने भन्ने नाममा महँगो बनाइएको अवस्था छ । जुम्लाको सिमी केजीकै चारसय रुपैयाँ पर्छ । मुसुरो दाल त्योभन्दा सस्तो पाइन्छ भनेपछि उपभोक्ताले मुसुरो नै रोज्ने भए । मुसुरो उत्पादकले सय रुपैयाँ केजीमै दिनसक्छ भने जुम्लाको सिमी किन चारसय बनाउनुपर्यो । यहीको उत्पादन सस्तोमा पाए आयातित आझै विस्थापित हुन्छ ।
गाँजा खेतीको कुरा पनि आएको छ नि ?
गाँजा सम्बन्धमा मेरो संस्थागतभन्दा पनि व्यक्तिगत धारणा छ । गाँजामा हामी धेरै पछि परेका छौँ । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्नसक्ने गाँजामा हामी आफ्नै कमजोरीले परेका हौँ । पहिल्यै हाम्रो लागुऔषध नियन्त्रण ऐनमा गाँजालाई अति हानिकारक राखिएको रहेको छ । सोहीअनुसार संयुक्त राष्ट्रसंघको फ्रेमवर्कमा नेपालले हस्ताक्षर पनि गरेको रहेछ । क्यानडा, जर्मनी लगायतका बाठा मुलुकले आफ्नो नोटसहित हस्ताक्षर गरेछन् तर हाम्रो त्यसमा ध्यान पुगेन । उनीहरूले औषधी लगायतको प्रयोजनमा युएनमा हस्ताक्षरले बाधा पार्ने छैन भनेर नोटसहित हस्ताक्षर गरेछन् । त्यही भएर उनीहरूले गाँजामा धेरै अध्ययन अनुसन्धान गरे, गाँजा खुला गरे, धेरै फाइदा पनि लिरहेका छन् । हामीले पनि औषधीय प्रयोजन र पर्यटन प्रवद्र्धनका लागि गाँजा खुलाउनुपर्छ । गाँजा भनेको त हाम्रो वेदमै लेखिएको कुरा हो । गाँजाका केही कम्पोनेन्ट मात्रै हानिकारक हुन्छन्, हानिकारण कम्पोनेन्ट हटाएर आवश्यकताअनुसार गाँजा उपयोग गर्न सकिन्छ । गाँजाका अधिकांश कम्पोनेन्ट फाइदाजक छन् । औषधीका रूपमा आन्तरिक वा बाहृय प्रयोग मात्रै नभई गाँजाबाट बहुमूल्य वस्तुहरू पनि बनाउन सकिन्छ । यो सबै मैले अध्ययनका आधारमा भनिरहेको छु । मुक्तिनाथ कृषिले गाँजाको अध्ययन नै गरेको छ । हामी गाँजाका लागि पनि तयारी अवस्थामै छौँ । त्यसो त गाँजा प्रतिबन्धित भए पनि नेपालमा अवैध रूपमा ठूलै कारोबार भइरहेको छ । विभिन्न नाममा दुई अर्ब रुपैयाँभन्दा बढीको गाँजा आयात हुने गरेको तथ्यांकले नै देखाइरहेको छ । तर पनि गाँजाखेती खुला गर्दा अहिलेको खाद्यान्न बाली विस्थापित गर्ने गरी भने गर्नुहुँदैन । त्यसले खाद्यान्न संकट लगायतका जोखिम निम्त्याउने खतरा रहन्छ । अहिलेको बाँझो जमिनमा मात्रै गाँजाखेती गर्न दिनुपर्छ, अन्य खाद्यान्न बाली विस्थापित गर्नेगरी होइन । अनि प्रभावकारी नियमन पनि हुनुपर्छ ।
मुक्तिनाथ कृषिको सोच चाहिँ कसरी आएको थियो ?
मुक्तिनाथ कृषि कम्पनी कृषिलाई संस्थागत गर्ने उद्देश्यका साथ स्थापना भएको हो । तर, कम्पनीको पहिलो आधार भनेको सहकारी हो । सहकारीबाटै कृषि अभियान सुरु भएको थियो तर सहकारीले सबै वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएपछि मुक्तिनाथ विकास बैंक स्थापना भयो । विगतमा वित्तीय पहुँच नहुँदा कृषि गर्न सहज थिएन । अहिले वाणिज्य बैंकहरूले अनिवार्य रूपमा कृषिमा पनि लगानी गर्नुपर्ने व्यवस्था भयो । त्यतिबेला मुक्तिनाथ विकास बैंकले किसानलाई पैसा दिन थाल्यो तर मल, बीउ, प्रविधि, बजार छैन । पैसा मात्रै दिएर कृषिको विकास नहुने रहेछ, किसानका लागि गैरवित्तीय सेवा पनि चाहिने रहेछ भन्ने महसुस गरेर मुक्तिनाथ विकास बैंकका लगानकर्ताले कृषि कम्पनी सोच बनाउनुभयो । सोही सोचका कारण यो कम्पनी जन्मिएको हो । बैंकले गैरवित्तीय क्षेत्रमा लगानी गर्न नपाउने भएकाले नयाँ कम्पनी स्थापना भएको थियो ।
किसानलाई चाहिने सबै सेवा दिनेगरी कम्पनी स्थापना भयो त ?
समग्रमा भन्नुपर्दा कृषि मूल्य शृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने सोचका साथ कम्पनी स्थापना भएको हो । कृषिको जुन क्षेत्रमा ग्याप छ, त्यसमै काम गर्ने हो । उत्पादनमा ग्याप छ भने उत्पादनमा जाने तर हामी आफैँ उत्पादनमा जाने होइन । किसान र सहकारीमार्फत उत्पादनमा जाने, त्यसका लागि हामीले किसानलाई आवश्यक सेवासुविधा उपलब्ध गराउने र उत्पादित वस्तुको वाइब्याक ग्यारेण्टी गर्ने हो । किनभने हालसम्म कृषिमा देखासिकीमा काम गर्ने धेरै भए, अध्ययनबिना गरिएका त्यस्ता कृषि व्यवसाय खासै सफल देखिएनन् । साना व्यवसायीलाई मध्यम व्यवसायीले विस्थापित गर्ने, मध्यम व्यवसायीलाई ठूला व्यवसायीले विस्थापित गर्ने अवस्था देखियो ।
कृषिमा मुनाफा छैन भनिन्छ, मुक्तिनाथ चाहिँ कसरी चलेको छ ?
यस्तो कुरामा हामी विश्वास गर्दैनौँ । मुनाफा नहुने भए त पब्लिक कम्पनीमा जाने नै थिएनौँ, थप कृषिसम्बन्धी झण्डै एक दर्जन सहायक कम्पनी खोल्ने नै थिएनौँ । मुनाफा कमाउन सकिने भएरै हामीले यति धेरै लगानी विस्तार गरेका हौँ । मुक्तिनाथ कृषि कम्पनीमा करिब दुईसय स्टाफ हुनुहुन्छ । अधिकांश स्टाफ युवा हुनुहुन्छ । अर्थात् यो कृषि कम्पनी युवाको हातमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच