शासक र प्रशासक नै भ्रष्टाचारमा आकण्ठ डुबेका हुन्छन् जहाँ त्यो देशको नागरिक हुँ म । यसो भनिरहँदा मन खुशी छैन तर देशको यथार्थ यस्तै छ । धेरै राम्रा कुरा होऊन् देशमा अनि लेखिरहन पाइयोस् कसलाई मन नहोला र यस्तो । परिवारका सदस्य राम्रा भए परिवारको गौरव सुनाउन मन हुन्छ देशका समाचार राम्रा भए देशका कुरा सुनाउन मन हुन्छ । सायद यस्तो हुनु पनि कमजोरी नै । देशफोबिया भयो भने देशका कुरा गरिरहन मन हुन्छ क्यारे । देशका समाचारले गम्भीर बनौँ कि रसिक बनौँ भन्ने दोधारमा परेको छु । कुरा ठूलै मात्र आउँछन् । काण्डैकाण्डका कुरा सार्वजनिक हुनछन् । भर्खरैको देशको खबर पनि त्यत्तिकै ठूलो छ ।
नेपाल सरकारका मुख्यसचिवज्यू अर्बौंको अनियमिततामा मुछिनुभएको छ । हिजो विभिन्न मन्त्रालयको सचिव हुँदा गरेका कतिपय नीतिगत निर्णयहरू अहिले उहाँको गलाको पासो बनेर आएका छन् । कहिले मन्त्री, कहिले सचिव, कहिले न्यायाधीश, कहिले नेता, कहिले अभिनेता, कहिले प्राध्यापक, कहिले डाक्टर, कहिले डाइरेक्टर, कहिले ब्याङ्कर, कहिले व्यावसायी, कहिले मेनपावर, कहिले सहकारी सञ्चालक हुँदाहुँदा मुख्य सचिव नै यस्तो काण्डमा मुछिएपछि अब मुछिन कोही पनि बाँकी नरहेजस्तो लाग्छ । देशका सबै संयन्त्र नै यस्ता काण्डमा मुछिएपछि हरेक क्षेत्रको नैतिक जिम्मेवारी लिनुपर्ने सरकार स्वतः काण्डको सरदार हुने नै भयो । अनगिन्ती यस्ता खबरले नागरिकलाई पिरोलेको छ ।
देशमा हाकाहाकी अनियमित कामहरू भइरहेका छन् सरकार तिनलाई नियन्त्रण गर्न असफल भइरहेको छ । यस्तो बेला देशका मुख्यसचिव नै अर्बौंको घोटालामा पदबाट निलम्बन भए भन्ने समाचारलाई सत्य समाचार भन्न मनले नै मान्दैन ।
देशको सर्वसाधारण नागरिकले बाहिर आएका कुरा मात्र सुन्दछ र त्यसलाई जसरी प्रचार गरिएको छ त्यसरी नै बुझ्छ । सत्य त्यस्तै नहोला । सुनेभन्दा बढी होला वा सुनेभन्दा कम होला तर समाचार सुखद छैन । कतै सैद्धान्तिक भष्टाचार, कतै नीतिगत भ्रष्टाचार अनि कतै अनैतिक भ्रष्टाचार, व्यभिचार, अनाचार र दूराचार । जुन व्यक्तिलाई नेपाल सरकारले देशको सबैभन्दा उच्च पदमा पु¥याएर सम्मानित गर्छ उही व्यक्ति अनैतिक कर्म गरेर देशले आफूप्रति लगाएको गुन तिर्न तम्सिन्छ । अनि विद्यमान सरकार यिनै काण्डका नायकहरूलाई सुरक्षित गर्छ, संरक्षण दिन्छ अझै सम्मानित गर्छ । यसभन्दा विडम्बनाका समाचार अरू के हुन सक्छन् ।
देशमा भइरहेका तमाम अनियमित गतिविधिहरू सुन्दा सुन्दै वाक्क भएर यी वाक्य लेखिरहँदा पीडा र आक्रोशले अनुहार रातोपिरो भएको हुनुपर्दछ । म एउटा प्रतिनिधि पात्र हो देशका नागरिकलाई चौतर्फी सास्ती कटाएर सफाइमाथि सफाइ दिइरहने अनि देशमा फैलिएको दुर्गन्धलाई ढाकछोप गरिरहने सत्ता र शासकप्रति नागरिक बेखुस छन् भन्ने कुरा यो सरकारलाई कसले सुनाइदेला ? अनि नैतिकता नभएकाहरूलाई यस्ता खबरले पनि रहर जगाएको होला म पनि एकपटक मन्त्री वा सचिव हुन पाएको भए कम्तीमा पनि करोडमा मेरा कुरा हुन्थे । सके त अरबमै पनि पुगिन्थ्यो होला ? आखिर हामी यस देशका नागरिकहरू हौँ ।
रहर कसलाई हुँदैन र ठूलो मानिस बन्ने । सानातिना काम कुराले कहिले ठूलो मानिस बन्ने ? कहिले सम्पत्ति आर्जन गर्ने ? कहिले सुखसयल गर्ने ? अनि कहिले समाचारको विषय बन्ने ? खुद्राखाद्रीमै उच्च ओहदालाई खेर फाल्नु पनि त भएन । फलानो मन्त्रीले यस्तो काम गर्नुभयो र रेकर्ड राख्नुभयो । फलानो सचिवले यस्तो काम गरेर संसारकै अब्बल मानिस बन्नुभयो । धेरै रहरहरू छन् देशका बारेमा लेख्न तर यस्ता कुरा साँच्चैमा लेख्न मिल्छ कि मिल्दैन थाहा छैन । देशको संविधान, ऐन, कानुन र नियमले दिन्छ कि दिँदैन ? त्यसैले यस्ता कुराहरूलाई एकादेशका कथा हुन् भनेर साहित्य बनाऊँ र मनोविनोद गरौँ जस्तो लाग्छ ।
जहाँ दिनहुँ भ्रष्टाचार, अनियमितता, चोरी, ठगी र तस्करीका मात्र कुरा बाहिर आउँछन् तिनका विषयमा साँचा कुरा लेखेर साध्य नै छैन । देशका आवश्यक समाचार कता छन् कता ? बाजुरामा नुनको हाहाकार छ । कर्णालीमा पुल छिँदेर बाटो अवरुद्ध छ । पूर्वमा बाढीपहिरोले जनधनको विनाश गरिरहेको छ । अर्बौंको लगानी रहेका शिक्षण संस्थाहरूबाट एसइई दिएका त्रिपन्न प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । देशमा हाकाहाकी अनियमित कामहरू भइरहेका छन् सरकार तिनलाई नियन्त्रण गर्न असफल भइरहेको छ । यस्तो बेला देशका मुख्य सचिव नै अर्बौंको घोटालामा पदबाट निलम्वन भए भन्ने समाचारलाई सत्य समाचार भन्न मनले नै मान्दैन ।
मन्त्रीले नागरिक बेच्छन् भन्ने खबर होस् वा मन्त्रीले ठगी धन्दा चलाउँछन् र लाज पचाएर सफाइ दिँदै हिँडिरहन्छन् भन्ने कुरा लेख्न कम्तीमा पनि मलाई लाज लागेर आएको छ । यस्ताखबर सुनेपछि कसलाई देशप्रति भरोसा होला र ? नागरिकले शासनप्रति आस्था राख्ला ? अनि कसलाई यस्ता खबर सत्य हुन् भनेर लेख्न मन होला र ? तर सँगसँगै बाध्यता के पनि छ भने यस्ता गम्भीर कुरा लेख्न आफ्नै मर्यादाले पनि दिँदैन । आफ्नो मर्यादालाई पनि ख्याल गरिरहनुपर्ने भएकाले र कानुनी दायरामा पनि रहनु पर्ने भएकाले यस्ता घटनालाई एकादेशका कथाभित्र राखेर मनगढन्ते पारौँ कि भन्ने इच्छा प्रकट भएको हो ।
हामी पनि देशका बन्न सकिरहेका छैनौँ सत्ताका सामू । हामीमा त्यस्तो के अपसगुन बसेको मानिन्छ कुन्नि हामी देशका हुनै सक्दैनौँ । आँखा जुधे सत्ता हामीदेखि तर्सिन्छ । किन यो लोकतन्त्र हामी सबैको बन्न सकिरहेको छैन ?
यसरी कथा बनाउँदै जाने हो भने आफ्नै देशभित्रबाट धेरै कथा बनाउन सकिँदो रहेछ । कथा न हो जेभन्न पनि त पाइयो । मुलुकको गणतन्त्रलाई बाँदरको हातको नरिवल बनाउन पाइयो । अनि त्यही नरिवललाई आफ्नो बनाउनकै निम्ति बाँदरहरू तँछाडमछाड गरेर दौडिरहेका छन् भनेर पनि लेख्न पाइयो । त्यतिले पनि कथा पुगेन भने सत्ता नामको सिँढीमा चढेरअरू फेरि त्यही सिँढी नचढोस् भनेर सिढी नै भत्काउन खोजेको कुरा पनि लेख्न पाइयो । माथिल्लो तलामा बसेर तल उभिएकालाई खुच्चिङ गरेर गिज्याइरहेको कुरा लेख्न पाइयो । सिँढी चढ्न पालो पर्खेर बसेका अरू धेरै आकाङ्क्षीहरूका कुरा लेख्न पाइयो । सिँढी चढेर माथि-माथि जान रहर बुनेका विदूषकहरूका कुरा लेख्न पाइयो । रमिते, हुक्के, बैठके, बगैँचेहरूका कुरा लेख्न पाइयो । अरू पनि धेरैका कुरा लेख्न पाइयो ।
नागरिक बेचेर आफ्ना घरको व्यवस्था मिलाउन पल्केकाहरूका कुरा, जनताको पैसा ठगेर अग्ला घरका बस्नेहरूका कुरा लेख्न पाइयो । सुनका बोरा छिराएर, सुनकै चुरोट सल्काएर, सुनकै जुत्ता लगाएर, सुनौला मोटरमा चढेर सिंहदरबार भित्रबाहिर गर्ने नव धनाड्यहरूका कुरा पनि लेख्न पाइयो । मन नछुने समाचार कसले पढ्छ ? जसमा रोचकता नै छैन । कतै देशका कुरा कतै दर्शनका कुरा । जीवनमा देश पसेको छ कतै दर्शनमा जीवन फसेको छ कतै । कतै विमति आक्रोश, कतै सहमतिको साखुल्ले पन कहिले आफ्ना कहिले अरूका कुराहरू गरिएको साहित्यशास्त्र जहाँ सबैलाई पालैपालो सामेल गर्न पाइयोस् सबैलाई भाग पुर्याउन पाइयोस् त्यस्तो काल्पनिक साहित्य कसैलाई अभियोग नलागोस् सबैलाई पालैपालो अवसर प्राप्त होस् त्यस्तो साहित्य पो साहित्य ।
यस्ता भ्रष्टाचार, अनियमितता, चोरी, ठगी तस्करी र बेइमानीका कुरा गरेर कसरी साहित्य बिकाउने म अहिले त्यो पनि चिन्तामा छु । सत्ता र शासकका सामु यो रूखो अभिव्यक्तिमात्रै भयो कि भन्ने डर लागिरहेको छ । मन राम्रो र नराम्रो दुबैले हुन्छ । मन छुने साहित्य अबको अबस्थामा यस्तै हुन्छ । सस्याना कुरामा मतान्तर, व्यक्तित्वको टक्कर, अहङ्कार प्रदर्शनवुभुक्षा, जिजीविषा र महत्वाकाङ्क्षाहरूको प्रतिस्पर्धा । आफ्ना आफ्ना दृष्टिकोणलाई पूर्ण मान्ने अज्ञानता, मोटर, महल,र साइबरको दुनियाँमा एक अर्कालाई पछार्दै आफू अघि बढ्ने होड आत्मीयता र सहयोगको कमी स्वार्थलोलुपता, अर्थोपार्जनको मोहमा नैतिकता बिर्सिएका गुनासाहरू दिनहुँ झैझगडा, क्षणक्षणमा मिलतीको नाटक तर त्याग र समपर्णको जहिले पनि कमी, आफूबाट आफैँ हराएको बोध, धरातल छोडेर अग्लिएको भ्रम यस्तै यस्तैमा अहिलेको मानिस अल्झिएको छ ।
यस्तो परिस्थितिमा मिलाएका कथाहरू जोडेर च्याट्ट पारिएका रचनाहरूले विखण्डित मानव मस्तिष्कलाई कसरी प्रभाव दिन सक्छ ? साथै ती रचना युगका प्रतिनिधि कसरी बन्न सक्छन् ? हामीले धेरै कुरा गरिसक्यौँ, जताततै छोइयो, आफ्नो जीवन अरूको जीवन सुखदुख केही बाँकी नराखी बोलिसकियो । देशबाट कुरा उठेर आफूमा टुङ्गियो, आफूबाट कुरा उठेर देशमा टुङ्गियो । यो कथा हामीले रचेका होइनौँ देशले नै रचेको हो । यो कथाको पृष्ठभूमिमा अनगिन्ती नागरिकका पीडा र आक्रोश अटाएका छन् । निरोका सामु देश जलेको समाचार पठाउनु हाम्रै नादानी हो । तैपनि हाम्रो धृष्टतालाई हामीले सम्मान गरेका छौँ ।
सिङ्गै देशअघि राखेर आफ्ना कुरा गर्नु त्यति राम्रो होइन ।कल्पनाका कलात्मक आँखा र बनावटी देशभक्तिमा अभिव्यक्ति उज्जर बनेर आउँदो हो । देशको पीडालाई आत्मसात गर्नेले कला भर्न नजान्ने रहेछ । दुखेको घाउमा कलाको सौन्दर्य त्यति चम्किलो नलाग्दो रहेछ ? देशलाई साहित्य बनाएर कुन मुलुकको बजारमा बेच्ने ? देश यसै पनि दलालहरूको फन्दामा परेको अबस्था छ । रहे हाम्रा कुरा जहाँ देशले दुर्गति बेहोरिरहेको छ त्यहाँ हाम्रो अर्को गति कसरी सम्भव छ र ? अलौकिक सपना उनेर गाँसेको बनाबटी मालामा त्यो सुगन्ध नै कहाँ बस्न सक्छ र जसमा देशको माटोको सुवास आओस् । त्यो त आडम्बरमात्र रहेछ देशलाई झुक्याउने ? देशबारे साँचो कुरा गर्ने व्यक्ति त्यति सजिलै अटाउँदैन सत्ता र शासकका सामु ।
त्यसैले हामी पनि देशका बन्न सकिरहेका छैनौँ सत्ताका सामू । हामीमा त्यस्तो के अपसगुन बसेको मानिन्छ कुन्नि हामी देशका हुनै सक्दैनौँ । आँखा जुधे सत्ता हामीदेखि तर्सिन्छ । किन यो लोकतन्त्र हामी सबैको बन्न सकिरहेको छैन ? किन हामी लोकतन्त्रका बन्न सकेका छैनौँ ? हामी देशको पीडाले छट्पटाएको यो बेलामा पनि देशका शासकहरूले तारे होटलमा विकासे पार्टी गरिरहेका होलान् ।
दलालहरूलाई जोगाउने र भ्रष्टहरूलाई चोख्याउने तानाबाना बुनिरहेकै होलान् । र ती अनैतिक प्रशासकहरू जसको अनुहार ध्वाँसो पोतिएर कुरूप बनेको छ तैपनि नियम र कानुनको दुहाइ दिँदै अनुहारमा पोतिएको ध्वाँसोलाई सत्ताको सुगन्धी क्रिमले निर्मलीकरण गर्दै होलान् ।
प्रिय सञ्चेतना ! हामीले सहन सक्ने भनेकै पीडाको घाउ रहेछ । सत्तामोहको अँध्यारो गुफामा उहिल्यैदेखि हराएकाहरूलाई खोज्ने हाम्रो असफल प्रयत्न अब सायद छोड्नुपर्छ । सुकरातले हाँसी हाँसी पिएको हेमलक जस्तै अब हामी नागरिकले पनि सत्ताले पिलाएको अपमान र तिरस्कारको पीडा पिउने बानी बसाल्दै जानु छ । यो एस्तो र ऊ उस्तो भनेर नालीबेली गर्ने बानी छोडेर सत्ताले निर्देश गरेको बेसुर धुनमा लय नमिलेको गीत गाउनु नै यो समयको सुन्दर सङ्गीत हुनेछ । जय सत्ता ! जय साहित्य !!
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच