राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा पाण्डे विजेता

हिमालय टाइम्स
Read Time = 2 mins

नवलपुर । नवलपुरको गैंडाकोटमा आयोजित आठौँ राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा अर्णव पाण्डे पहिलो हुनुभएको छ । देशका २७ जिल्लाका ९५ विद्यार्थीको सहभागिता रहेको उक्त प्रतियोगितामा गैंडाकोट इङ्लिस स्कुलका पाण्डे पहिलो हुनुभएको हो ।

प्रतियोगितामा कास्कीको सैनिक आवासीय माध्यमिक विद्यालयका आयुश ढकाल दोस्रो तथा बाराको राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका रोशनकुमार यादव तेस्रो हुनुभयो ।

गैंडाकोटमा सम्पन्न प्रतियोगितामा सहभागी ९५ प्रतिस्पर्धीबाट अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उत्कृष्ट २० विद्यार्थी छनोट गरिएको स्क्र्याबल खेलका कार्यक्रम संयोजक अर्जुन पाण्डेले जानकारी दिनुभयो । छनोट गरिएका ती विद्यार्थीलाई आगामी फेब्रुअरीमा बंगलादेशमा हुने अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा सहभागी गराइने आयोजक संस्था पोखरा स्क्र्याबल क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीले बताउनुभयो ।

शब्दको खेलका रूपमा लिइने स्क्र्याबल खेलले रचनात्मक बन्न प्रेरित गर्ने उक्त क्लबका नवलपुर जिल्ला संयोजक विना कोइरालाले जानकारी दिनुभयो । गैंडाकोट इङ्लिस स्कुलका प्रिन्सिपल हिरालाल अर्यालले यस खेलले गैंडाकोट नगरकै पहिचान बढाएको बताउनुभयो । उहाँले आगामी दिनमा फरक खालका कार्यक्रम गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?