गाईघाटमा एकल महिलाहरूको सुपथ मूल्य पसल

हिमालय टाइम्स
Read Time = 4 mins

सरोज निरौला/हिटा
उदयपुर । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, त्रियुगा नगरपालिका, गाईघाट एकल महिला समूह र वडा ११ को सहकार्यमा सात लाख ३७ हजार पाँच सय रुपैयाँ लागतमा खाद्यान्न तथा किरानाको सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो । एकल महिलाको आर्थिकोपार्जनमा सघाउ पुर्‍याउन प्रदेश र स्थानीय सरकारको सहयोगमा उदयपुरको सदरमुकाम गाईघाटमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।

एकल महिला सञ्जाल उदयपुरकी अध्यक्ष शोभा दाहालले सात लाख ३७ हजार पाँच सय रुपैयाँ लागतको पसलमा खाद्यान्न तथा किरानाका सुपथ मूल्यमा सामान बिक्री गरिने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयको पाँच लाखमा तीन लाख ५० हजार, त्रियुगा नगरपालिकाबाट दुई लाख र एकल महिला समूहको एक लाख ८७ हजार पाँच सय बिउ पुँजी लगानी भएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले दिएको बाँकी एक लाख ५० हजार भने उद्यमशीलता तालिममा खर्च गरेर उद्यमी उत्पादन गरिएको छ । सुपथ मूल्य पसलको उद्घाटन गर्दै कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक नभइरहेको अवस्थामा यस्ता व्यावसायिक क्रियाकलापले थोरै भए पनि आर्थिक समृद्धिको यात्रामा सघाउ पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि एकल महिलालाई विभिन्न लाञ्छना लगाएर चौघेरामा राख्ने र केही गर्न नदिने परम्परा र संस्कार छ, त्यसले अझ उनीहरू आर्थिकरूपले विक्षिप्त छन्, आर्थिरूपमा सघाउ पु¥याउन उद्यमी र व्यवसायी बनाउन जरुरी छ ।’

आर्थिकस्तरमा सुधार ल्याउने उद्देश्यले सरकारसँगको साझेदारीमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको एकल महिला जिल्ला सञ्जालका अध्यक्ष शोभा दाहालले बताउनुभयो । उहाँका अनुसार तरकारी बजार क्षेत्रमा सञ्चालनमा ल्याइएको पसलमा दैनिक उपभोग्य सामग्री राखिएका छन् । दाहालले भन्नुभयो, ‘अन्य पसलको तुलनामा सामग्री सस्तोमा पाइनेछ, हामीले खरिद गरेको मूल्यको निश्चत प्रतिशत मुनाफा राखेर सामान उपभोक्तालाई उपलब्ध गराउँछौँ ।’

कम्प्युटर प्रणालीमा स्रेस्ता राखिएको पसलमा दुईजना कर्मचारी रहनेछन् । जसको आम्दानीले एकल महिलाकै आयस्तर वृद्धि हुने अन्य कार्यक्रम सञ्चालन गरिने अध्यक्ष दाहालले बताउनुभयो । मन्त्रालयले उपलब्ध गराएको तीन लाख ५० हजार बिउ पुँजी तीन वर्षपछि अर्को वडाका एकल महिलाका गतिविधिमा लगाइने पनि उहाँले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?