चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार देशलाई धानमा मात्र नभई खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन लागिपरेको बताउनुभएको छ । भरतपुर महानगरले शनिबार चितवनमा आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको बताउनुभयो । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिँचाइ, बीउ एवं मल सहज रूपमा उपलब्ध गराउने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने बताउनुभयो ।
धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहका सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आहृवान गर्नुभएको छ । कृषि क्षेत्रमा आधारित व्यापार-व्यवसायमा लाग्न र देशको आर्थिक क्षेत्रको प्रवद्र्धनमा जोड दिँदै प्रधानमन्त्रीले कृषि कर्मका माध्यमबाट देश समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
‘जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्छौं’
प्रधानमन्त्री प्रचण्डले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभएको छ । चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताउनुभयो । ‘जलवायु परिवर्तनका कारण धानलगायत बालीहरूमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘जैविक विविधताको उपयोग गरी पोषणयुक्त उच्च उत्पादन दिने धानका जातहरूको विकास, तथा उत्पादनमा कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीति लिएको छ ।’ कृषि क्षेत्रको व्यवसायीकरण र विविधिकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायुमैत्री प्रविधिहरूको अबलम्बन गरेर उत्पादन वृद्धि गर्न र धान तथा चामलको आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
हरित ग्यास उत्सर्जनमा न्यून भूमिका भए पनि जलवायु परिवर्तनका प्रतिकूल असरहरूको जोखिम उच्च रहेका राष्ट्रहरूमध्ये नेपाल भएको बताउँदै प्रधानमन्त्रीले जलवायु परिवर्तनका दृष्टिले संवेदनशील र प्रभावित उपक्षेत्रमध्ये नेपालको प्रमुख खाद्यान्न बाली धान भएको उल्लेख गर्नुभयो ।
‘मल बीउको अभाव हुन दिइँदैन’
प्रधानमन्त्री प्रचण्डले यो वर्ष किसानलाई मल र बीउको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही वर्ष अघिसम्म विकराल रहेको मल र बीउको अभाव पछिल्ला वर्षहरूमा कमी हुँदै गएको बताउँदै यसको आपूर्ति र व्यवस्थापनमा थप मेहनत सरकारले गर्ने बताउनुभयो । धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिँदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम बजेटमा प्राथमिकतामा राखिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसमा सरकारले पूर्ण तागत लगाउने बताउनुभयो ।
कृषिमा यान्त्रिकीकरण र व्यावसायीकरण गर्दा देशभित्र नै युवाहरू बस्ने र विदेशमा पुगेका युवाहरूसमेत केही गर्न सकिन्छ भनेर देश फर्किने अवस्था आउने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले किसानहरूले उत्पादन गरेका वस्तुहरूको न्यूनतम समर्थन मूल्य तोक्ने विषयमा सरकार गम्भीर भएर लाग्ने र यसलाई अझै व्यवस्थित गर्ने बताउनुभयो । देशको कुल गार्हस्थ उत्पादनको २४ प्रतिशत कृषिको रहेको र त्यसमा पनि धानको १५ प्रतिशत रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सडक सञ्जालको विस्तार, दुई छाक भातै खाने भन्ने सोच, जनसंख्या वृद्धि जस्ता विषयले बार्षिक अर्बौं रुपैयाँको धान चामलको आयात हुने गरेको बताउनुभयो ।
उहाँले बढ्दो आयातले परनिर्भरता चुलिँदै जानुका साथै व्यापार असन्तुलन पनि बढेको बताउनुभयो । धानमा आत्मनिर्भर हुन व्यावसायिक खेती प्रणाली, सिँचाइको सुविधा, यान्त्रिकीकरणलाई प्राथमिकतामा राखिने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले दुग्ध किसानलाई अनुदान उपलब्ध गराउने, कृषि प्रवद्र्धन गर्ने र रोजगारी सिर्जनाका कार्यक्रम अघि बढाएको बताउनुभयो । भरतपुर महानगरका प्रमुख रेणु दाहालले चितवनका सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ उपलब्ध गराउने व्यवस्था मिलाइने बताउनुभयो । कृषकमैत्री कार्यक्रम कार्यान्वयन गरी उत्पादकत्व बढाउने उल्लेख गर्दै उहाँले खाद्यान्नमा चितवनलाई आत्मनिर्भर बनाउन आफू क्रियाशील रहेको बताउनुभयो ।
शीतल निवासमा रोपाइँ कार्यक्रम
२१औँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा शनिबार आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी हुनुभयो । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतीकात्मक रूपमा रोपाइँमा सहभागी भएको बताउनुभयो ।
उहाँले जलवायु परिवर्तनले धान खेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरूक बनाउनुपर्ने आजको आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले कृषि क्रान्तिको पहिलो कदम सिँचाइ सुविधा भएको भन्दै आधुनिक खेती प्रणालीमार्फत जनताको जीवनस्तर माथि उठाउन खेतीयोग्य जमिनमा सिँचाइ सुविधासहित आधुनिक उपकरण, मल, उन्नत बीउ र दक्ष जनशक्ति तयार गर्न हाम्रो ध्यान जान जरुरी रहेको उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच