काठमाडौं । देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण प्राकृतिक विपत्तिका घटनाहरू बढ्न थालेका छन् । तराई क्षेत्रमा बाढी तथा डुबानले वितण्डा मच्चाउन थालेको छ भने हिमाली र पहाडी भेगमा पहिरोका कारण जनधनको क्षति पुगेको छ ।
गुल्मीमा शुक्रबार राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उहाँकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएर मृत्यु भएको छ । पहिरोमा पुरिएकामध्ये भेषबहादुर, सीता र सपनाको शव पहिले नै भेटिएको थियो । सुन्तली र विपना पनि पछि मृत अवस्थामा भेटिनुभएको हो । घटनास्थलमा इस्मा प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी पुगेको मालिका-६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिनुभयो । भारी पानी पर्दा जिल्लाका अन्य स्थानमा पनि गएका पहिरोले कच्ची बाटोहरू प्रभावित भएका छन् ।
उता, बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् । गलकोट नगरपालिका-८ काँडेबाँस, बिसौनीका ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । शुक्रबार राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका-८ का वडासदस्य लोकनाथ कँडेलले बताउनुभयो । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा छोरीको मृत्यु भएको छ । शुक्रबार राति साढे ११ बजे स्याङ्जाको फेदीखोला गाउँपालिका-५ बाँगेस्थित दुर्गा जिटीको ढुंगा माटो र टिनले छाएको घर पहिरोले पुरिँदा उहाँसँगै उहाँकी तीन वर्षीया छोरीको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरू घरमा सुतिरहेको बेला घरभन्दा करिब २०/२५ मिटर माथिबाट पहिरो खसेको थियो । पहिरोले ढुंगामाटो र टिनले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पूर्ण रूपमा पुरिएको प्रहरीले जनाएको छ । ३१ वर्षीय दुर्गा र उहाँकी छोरी निकिसाको घटनास्थलमै मृत्यु भएको हो । पहिरोले गोठ पुरिँदा त्यहाँ रहेको एउटा भैँसीसमेत मरेको प्रहरीले जनाएको छ । बाढी पहिरोेका शृङ्खला बढ्दै गए पनि सरकारले भने आवश्यक पूर्वतयारी अपनाउन सकेको छैन ।
ठाउँ ठाउँका सडक अवरुद्ध
शुक्रबार दिउँसो देखिको अविरल वर्षात्ले कालीगण्डकी करिडोरसहित ठाउँ ठाउँका यातायात सेवा ठप्प भएका छन् । करिडोरको दर्जनभन्दा बढी स्थानमा पहिरोसमेत खसेको छ । पहिरोले नजिकका बस्तीमा पुग्नसमेत अवरोध गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । करिडोरसँगै जोडिएका दर्जनभन्दा बढी ग्रामीण सडकसमेत अवरुद्ध छन् । मुख्य सडक नै रोकिएपछि ग्रामीण सडक मर्मतका लागिसमेत अप्ठ्यारो परेको उहाँले बताउनुभयो । जैमिनी–५ को लामाबगरमा झण्डै दुई सय मिटर खण्ड पहिरो खसेको छ । नेपाली सेनाले बनाएको ठेउलेखोला बेलीब्रिजमा पनि पहिरो र खोलाको कटानले क्षति पुगेको छ । नजिकैको स्थानीय लक्ष्मी श्रेष्ठको घर ठेउले खोलामा खसेको छ । उनीहरू घरबारविहीन भएका छन् । करिडोरकै बागलुङ गुल्मी सिमानामा पर्ने बरालबा भन्ने स्थानमा पहिरोले सडक ठप्पै भएको छ । वडा नं ५ को बिनामारे ६ को अर्जेवा र ७ को जैदीमा पनि करिडोरका पहिरोले यातायात सञ्चालन हुन सकेको छैन ।
बागलुङ नगरपालिका–१० को दब्ल्याङमा पनि पहिरोले करिडोरमा क्षति पुगेको छ । एक्लेसालको पहिरोले करिडोरमा क्षति पुगेको हो ।
बागलुङ नगरपालिकाले डोजर पठाएर एकतर्फी सडक खुलाएपछि बलेवासम्म सवारीसाधन चलिरहेको छ । करिडोर निर्माण गरिरहेको कालिका कन्स्ट्रसनका इञ्जिनियर विशाल घिमिरेले बताउनुभयो । उहाँले ब्रेकर ल्याएर ठूला ढुंगा फोड्ने काम थालिसकेको जनाए । दर्जनौं पहिरो भएकाले आइतबार वा सोमबारसम्म सडक नियमित सञ्चालनमा ल्याउने गरी काम भइरहेको उहाँले जनाउनुभयो । त्यसबाहेक जैमिनी-९ को पैयुँथन्थाप, सर्कुवा, जैदी, कुश्मीसेरा, दमेक लगायतका गाउँका दर्जनभन्दा बढी सडक पहिरोले अवरुद्ध भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच