सर्बियामा बन्धक बनाइएकालाई उकास्न पीडित परिवारले पठायो साढे नौ लाख

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 4 mins

झापा । अज्ञात समूहले दक्षिण पूर्वी युरोपेली मुलुक सर्बियामा चरम शारीरिक र मानसिक यातना दिएर बन्धक बनाइएका झापाका तीन व्यक्तिको परिवारले  फिरौती बापत साढे नौ लाख रुपैयाँ पठाएको छ ।

बन्धक बनाइएका पीडित परिवारले रोमानिया बस्ने रुपा खत्रीको नाममा शनिबार सो रकम पठाएको हो । इसेवामार्फत सो रकम पठाइएको बन्धक बनाइएका परिवारको आफन्त शर्मिला राजवंशीले जानकारी दिनुभयो । अपहरणकारी समूहले शुक्रबारदेखि ह्वाटस्‌एपमा लगातार फोन गरेर रकम नपठाए बन्धक बनाइएकाको ज्यान मार्ने धम्की दिएपछि आफूहरूले रुपाको नाममा पैसा पठाउन बाध्य भएको शर्मिलाले बताउनुभयो ।

सो समूहले झापा बाह्रदशी गाउँपालिका फूलबारीका दीपेश राजवंशी,  बिर्तामोड नगरपालिका २ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशीलाई बन्धक बनाएको छ । अपहरणकारी समूहले झापा शिवसताक्षी नगरपालिका-६ शिवगञ्जका अर्का एक व्यक्तिलाई पनि बन्धक बनाएको छ ।

बन्धक बनाइएका भनिएका नेपालका ११ जनामध्ये थप दुईजना झापाकै भएको बुझिएको छ । तर, उनीहरूको उमेर समूह, नाम र ठेगाना खुल्न सकेको छैन । यद्यपि, उनीहरू दुबैजना राजवंशी समुदायका व्यक्ति भएको बुझिएको छ ।

जनही साढे ६ लाख रुपैयाँ खर्चिएर गत चैत र वैशाखमा इजिप्ट गएका उनीहरूलाई बन्धक बनाइएको हो । ११ जना नेपाली  बन्धक बनाएर  अपहरणकारी सो समूहले जनही साढे तीन लाख रुपैयाँ मागिरहेको  र नदिए ज्यान लिने धम्की निरन्तर दिएको शर्मिलाले बताउनुभयो ।

उहाँहरूलाई बन्धक बनाएर फिरौती माग भएपछि उनीहरूको परिवार तनावमा छ । मार्ने धम्कीसहित अपहरणकारी समूहले उहाँहरूलाई  हातखुट्टा बाँधेर बन्धक बनाइएको कुटपिटसमेत गरिरहेको शर्मिलाले सुनाउनुभयो । गत चैतको अन्तिम र  वैशाखको पहिलो साता वैदेशिक रोजगारीका लागि इजिप्ट गएका उहाँहरू मानव तस्करीमा सम्लग्न समूहले चंगुलमा फसाएर सर्विया पुर्‍याएको अनुमान पीडित  परिवारले दाबी गरेको छ । उहाँहरुलाई जंगलमा राखिएको छ ।

झापा मेचीनगर नगरपालिका इँटाभट्टाकी सपना राजवंशीमार्फत उहाँहरु काठमाडौंका विज्ञान खरेलको सम्पर्कमा पुगेको  बताइएको छ । उनीहरू सबैलाई खरेलले नै विदेश पठाएको दाबी गरिएको छ । सपनाका श्रीमान् नरेश राजवंशी रोमानियामा छन् । नरेशमार्फत उहाँहरु विदेश गएको बताइएको छ। एजेन्ट सपनासँग बुझ्दासमेत उहाँहरूको वास्तविकता स्पष्ट हुन नस्केको शर्मिलाको भनाइ छ ।

हिमालय टाइमससँगको सम्पर्कमा शर्मिला हतार र अलिक हतास रुपमा प्रस्तुत हुनुभयो । उहाँले थप कुरा पछि गर्ने बताउनुभयो । पैसा पठाए पनि उहाँहरु सकुशल उद्दार हुने नहुने स्पष्ट नभएको शर्मिलाले बताउनुभयो । तर, पैसा पठाएपछि आफूहरू केही आशावादी भएको सुनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?