काठमाडौं । संविधान संशोधन र सत्ता सहकार्यको प्रस्तावसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि सत्ता राजनीति फेरि तरंगित भएको छ । राष्ट्रियसभा निर्वाचनपछि माओवादीसँग सहकार्य टुटाएको कांग्रेस चार महिनादेखि प्रमुख प्रतिपक्षको भूमिकामा छ । माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्दै चार महिनादेखि एमाले सरकारमा सहभागी छ । यही बीचमा संसद्का सबैभन्दा ठूला दुई दलका शीर्ष नेताहरूबीच सुरु भएको संवादले नयाँ गठबन्धनको सम्भावनाबारे बहस बढाएको छ ।
कांग्रेस सभापति देउवा शनिबार दिउँसो एमाले अध्यक्ष ओलीको बाल्कोटस्थित निवास पुग्नुभएको थियो । दुवै नेताबीच तीन घण्टाभन्दा बढी समय ‘वान टु वान’ वार्ता भएको थियो । शनिबार कुनै सार्वजनिक समारोहमा सहभागी नरहे पनि देउवासँग वार्ता गर्नुभएका ओली आइतबार एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन सत्रमा पनि सहभागी हुनुभएन । बरु प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसँग केहीबेर छलफलमा सहभागी हुनुभयो । राजनीतिक मञ्चमा यतिबेला सत्यनिरूपण विधेयक केन्द्रमा छ । सो विधेयक पारित गराउनेबारे प्रधानमन्त्री प्रचण्डले केही दिनअघि देउवा र ओलीसँग छलफलसमेत गर्नुभएको थियो । सो विधेयेकका केही विषयमा कांग्रेस-एमालेका साझा सरोकार छन् । यही कारण देउवा-ओली भेटले नयाँ राजनीतिक समीकरणको सम्भावना उजागर गरेको अर्थमा विश्लेषण गरिएको छ ।
सत्ता सहकार्यको प्रस्ताव
कांग्रेस सभापति देउवाले अचानक एमाले अध्यक्ष ओलीलाई सरकारको नेतृत्वका लागि प्रस्ताव गर्नुभएको छ । वैकल्पिक समीकरण निर्माणबारे पार्टीभित्र संस्थागत छलफल नभए पनि सभापति देउवा उपयुक्त मौकाको पखाईमै हुनुहुन्थ्यो । बजेट पारित भइसकेको, सत्यनिरूपण विधेयक सदनबाट पारित गराउनुपर्ने अवस्था रहेको तथा संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नेबारे सार्वजनिक बहस सुरु भएको मौका पारेर देउवाले ओलीलाई सहकार्य प्रस्ताव गर्नुभएको हो । वर्तमान सरकारले पाँच वर्षे कार्यकालमध्ये १८ महिना पूरा गरिसकेको छ । बाँकी ४२ महिना आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने, शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने तथा साना दलको अप्रत्यााशित ‘दबदबा’ अन्त्य गर्ने प्रस्ताव देउवाले ओलीसमक्ष गर्नुभएको छ । ‘कांग्रेस र एमालेबीच सहकार्य भए मुलुकले निकास पाउँथ्यो भन्ने धारणा आमरूपमा प्रकट भइरहेकै छ । त्यसैको पहल हाम्रो सभापतिले थाल्नुभएको छ’, देउवानिकट एक कांग्रेस नेताको भनाइ छ । ती नेताका अनुसार अहिले संवादको थालनी मात्रै भएकाले परिणाम आउन केही समय लाग्ने नै छ । ‘दुई नेता भेट्नेबित्तिकै सबै समीकरण फेरिन्छ भन्ने होइन । अहिले संवाद सुरु भएको छ । एक-अर्काका धारणा बुझ्ने काम भएको छ । दुवै पक्षले सहकार्य महसुस गरेर विषयले परिपक्वता हासिल गर्न केही समय लाग्छ’, कांग्रेस नेताको भनाइ छ । सभापति देउवाले निकट नेताहरूसँग गरेको ब्रिफिङलाई आधार मान्ने हो भने देउवा उत्साहित देखिनुभएको छ । एमालेले अघि सारेका राजनीतिक संशय समाधान गर्दा नयाँ समीकरण बन्नसक्ने सम्भावना रहेको कांग्रेस नेताहरू बताउँछन् ।
के चाहन्छ एमाले ?
एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डको कार्यशैलीमा सहमत हुनुहुन्न । बजेटकै समयमा ओलीले प्रधानमन्त्रीको आलोचना गर्नुभएको थियो । सरकारमा एमाले साक्षी मात्रै भएको गुनासो एमालेकै मन्त्रीहरूले गरिरहँदा विकल्पबारे सोच्न ओलीलाई पनि दबाब नभएको होइन । यद्यपि, सहकार्यका लागि कांग्रेसले गरेको प्रस्ताव ओलीले मानिसक्नु भएको छैन । ‘दुई ठूला पार्टीबीच सहकार्य गर्ने कुरामा अध्यक्षले सहमति वा असहमति केही राख्नुभएको छैन । केही समय लिएर उपयुक्त निर्णय लिनुपर्छ भन्ने छ’, एमाले नेताको भनाइ छ । प्रचण्ड सरकार विघटन भए संविधानको धारा ७६ को ३ अनुसार ठूलो पार्टीका रूपमा कांग्रेसले सरकारको नेतृत्व लिनसक्छ । एमाले नेतृत्वले संविधानको धारा ७६ को २ अनुसार नै सरकार गठन हुने, कांग्रेसले बीचमै सरकार नढाल्ने लगायतको प्रतिबद्धता चाहेको छ । जसका लागि देउवा सकरात्मकसमेत देखिनुभएको छ । ‘पहिलो चरणमा ओलीको नेतृत्वमा सरकार बनाउने । शान्तिप्रक्रिया र संविधान संशोधन गराउने । चुनाव गराउन मात्रै कांग्रेसले नेतृत्व लिने भन्ने प्रस्ताव आएको छ’, एमाले नेताको भनाइ छ । एमालेभित्र माओवादीलाई बोक्नुको सट्टा कांग्रेससँग मिलेर संविधान र व्यवस्था सुरक्षित राख्नुपर्ने मत पनि सुषुप्त रहेको । यही कारण वर्तमान सरकारमा एमालेले दोस्रो वा तेस्रो तहका नेतालाई मात्रै सहभागी गराएको छ ।
बल ओलीको कोर्टमा
कांग्रेस नेताहरू सत्ता समीकरणको बल ओलीको कोर्टमा रहेको दाबी गर्छन् । ठूला दलहरू मिलाएर पाँचै वर्ष सरकार चलाउने प्रचण्डको अभिव्यक्तिलाई एमालेले ‘सिरियसली’ लिनुपर्ने कांगे्रेस नेतृत्वको भनाइ छ । ‘कहिले कांग्रेस कहिले एमालेसँग मिलेर पाँचै वर्ष सरकार चलाउँछु भनेर प्रचण्डले भनिसक्नु भएको छ । एमालेलाई प्रचण्डबाट धोका हुने निश्चित छ । हिजो मिलेरै संविधान बनाएको शक्ति भएकाले कांग्रेस एमाले मिल्दा अन्यथा केही हुँदैन’, कांग्रेसका एक नेताले हिमालय टाइम्ससँग भन्नुभयो । उहाँका अनुसार एमाले अध्यक्ष ओलीले स्वीकृति जनाउनेबित्तिकै सत्ता समीकरण बदलिने मात्रै नभएर संविधान र व्यवस्थामाथि देखापरको चुनौती पनि समाधान हुन्छ ।
सजग प्रचण्ड
कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीसँग ‘वान टु वान’ वार्ता गरेपछि प्रधानमन्त्री प्रचण्ड विशेष सजग हुनुभएको छ । उहाँले सत्ता समीकरणमा पर्नसक्ने प्रभाव न्यूनीकरणका लागि निकटस्थ नेताहरूलाई संवादमा खटाउनुभएको छ । उहाँ आफैँले आइतबार एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेसँग भेटवार्ता गर्नुभएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले देउवासँगको भेटबारे ओलीसामु जिज्ञासा राख्नुभएको बताइन्छ । भेटमा ओलीले देउवासँग सामान्य छलफल भएको जवाफ दिए पनि प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको निरन्तरता सुनिश्चितताबारे ओलीसँग चासो राख्नुभएको बताइन्छ । बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग एमाले अध्यक्ष ओलीले लगातार भेटवार्ताहरू भइरहेको बताउनुभयो । ‘भेटघाटहरू भइरहन्छन् । भेटघाटपछि भेटघाट हुन्छ फेरि हुन्छ । सामान्य हो’, ओलीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच