चार क्लबले बहिष्कार गरे एन्फा यू-१६ युथ लिग

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । चार क्लबले एन्फा यू-१६ युथ लिग बहिष्कार गरेका छन् । फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा उमेर समूहका खेलाडीलाई एक्सपोजर दिने उद्देश्यले यू-१६ लिगको सुरुवात गरिएको थियो । तर, दोस्रो चरणका खेल सम्पन्न नहुँदै ‘ए’ डिभिजनका चार क्लबले लिग बहिष्कार गरेका छन् ।

बढी उमेरका खेलाडी खेलाएको आरोपमा एनआरटीमाथि एन्फाले कारबाही गरेको थियो । एन्फाले एनआरटीको तीन अंक घटाउने र एमआरआई गर्दाको शुल्क र थप १० हजार जरिवाना गर्ने निर्णय गरेको थियो । निर्णयविरुद्ध क्लबहरूले एन्फामा अपिल गरेका थिए । माग सम्बोधनमा एन्फा नेतृत्व जिम्मेवार नभएको भन्दै चार क्लबले लिग बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

‘ए’ डिभिजनका एनआरटी, संकटा, फ्रेण्ड्स र मनाङले युथ लिग बहिष्कार गर्ने सहमति गरेका थिए । लिग सञ्चालनमा एन्फाले आफ्ना माग सम्बोधन नगरेको क्लबहरूको गुनासो छ । खेलाडीको एमआइआई खर्चिलो रहेकाले सरकारी दस्तावेजअनुसार उमेर मानेर खेलाडीलाई खेल्न दिनुपर्ने विषयमा क्लबले एन्फासँग छलफल गर्न खोजेका थिए । तर, शुक्रबारको बैठकमा एन्फाका कुनै पदाधिकारीले छलफलका लागि समय नै दिएनन् । एन्फाको व्यवहारबाट रुष्ट क्लबले लिग बहिष्कारको निर्णय लिएका हुन् ।

शुक्रबारको सहमतिअनुसार मनाङ शनिबार च्यासल मैदानमा उपस्थित भएन । शनिबार च्यासल मैदानमा मनाङ र मच्छिन्द्र खेल्ने तालिका थियो । चारमध्ये मनाङसहित फ्रेण्ड्स क्लब र एनआरटीले शनिबार खेल्ने तालिका छ । संकटाले बिहीबार चर्च ब्वाइजसँग खेलिसकेको छ । फ्रेण्ड्सलाई मनाउन एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले क्लब पदाधिकारीसँग छलफल गरिरहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?