✍️ अशोक विष्ट
नेपालको खेल जगतको सात दशक लामो यात्रालाई समेटेर खेलकुद पत्रकार नवीन अर्यालको ‘नेपाली खेलकुदको वृत्तान्त’ शीर्षकको पुस्तक अध्ययन गरेँ । लेखकले धेरै अध्ययन, खोज र अनुसन्धान गरेर यस पुस्तकमा हरेक घटनाक्रमको पुष्ट्याइँसहित निकै रोचक ढंगबाट प्रस्तुत गर्नुभएको छ । आजसम्म नेपालको खेलकुद इतिहास लिपिबद्ध नभएको अवस्थामा २००७ साल देखि २०४५ सालसम्मको खेलकुद जगतको नालीबेली यस पुस्तकमा पाउन सकिन्छ । मैले यस लेखमा प्रथम एशिन खेल जुन मेरो हजुरबुवा मीनबहादुर विष्टको जीवनमा एक महत्वपूर्ण इतिहास बनेर आयो । त्यही विषयलाई समेटेर समीक्षा गर्ने प्रयास गरेको छु ।
२०५९ साल मंसिर २१ गते राजधानी दैनिक पत्रिकामा प्रकाशित नवीनको ‘एथलेटिक्स संघबाट उपेक्षित नेपालका पहिलो म्याराथन धावक’ भन्ने समाचारले मेरो मन छोएको थियो । त्यसपछि पहिलो एशियाली खेलकुदको बारेमा इन्टरनेटमा धेरै खोजे । नेपालबाट भाग लिने खेलाडीहरू वास्तवमै को को थिए । कुन-कुन खेलमा भाग लिएका थिए । कसकसले के-के खेलहरू खेले, त्य’ बेलाको अवस्था कस्तो थियो ? यी र यस्तै कुराहरू इनटरनेटको खोज्दा फेला परेनन् । मेरो हजुरबुवा मीनबहादुर विष्टले नवीनजीको इन्टरभ्युमा बोलेका हरेक शब्द र उहाँको कुराले मेरो मनमा कौतुहलता जागिरहेको थियो ।
नेपाल २००७ साल फागुन ७ गतेको परिवर्तनलगत्तैै सन् १९५१ सालमा भारतको नयाँदिल्लीमा नेपाल पहिलो पटक एशियाली खेलकुदमा सहभागी भएको थियो । त्यस समयदेखि २०४५ सालसम्मको नेपालको खेलकुद क्षेत्रको इतिहास समेटिएको यो पुस्तक नेपालको खेलकुद इतिहासको कोसेढुंगा सावित हुनेछ ।
यो खेलको बारेमा मेरा हजुरबुवाले कहिल्यै हामीलाई बताउनु भएन । २००७ सालमा नेपालमा प्रजातन्त्र आएता पनि जाहानियाँ राणा शासनको १०४ वर्षे रवाफ र हैकम अन्त्य भइसकेको थिएन । त्यसैले पहिलो एशियाडमा दौडेर कीर्तिमान राखेका मेरा हजुरबुवाको एशियाडमा दौडेर नेपाल फर्केपछि जसरी जागिर खोसियो त्यो घाउ सधैंभरि उहाँको जीवनमा आलै भएर बस्यो । २००७ सालबाट २०५६ साल, झण्डै ४९ वर्षपछि उहाँले विभिन्न मिडियाको अन्तर्वार्तामा भनेका ती शब्दहरू अझै पनि मेरा दिमागमा ताजै छन् । नयाँदिल्लीको प्रचण्ड गर्मीमा दौडँदा दौडँदै मेरा जुत्ता फाटे । त्यो कालो अलकत्रामा म खाली खुट्टा नै दौडिएँ ।
पदक जित्न नसके पनि मैले दौड पूरा गरँे । मैले चौथो स्थान हाँसिल गरे । मेरो खुटभरि अलकत्रा टाँसिएको थियो । भारतका प्रधानमन्त्रीले मलाई स्याहावासी दिए, अखबार र रेडियोले मेरो अन्तरवार्ताहरू छापे । भनेजस्तो खानेकुरा हुँदैनथ्यो । यही घरको खाना खाएर खेल्न गएका थियौँ । हजुरबुवा भन्नुहुन्थ्यो । अनि मार्च पास गरेको श्यामश्वेत फोटोहरू हामीलाई देखाउँनुहुन्थ्यो । जब नेपालमा नेपाल एमेच्योर भेटरान्स एथलिट कमिटी नामक संस्था खोलियो, त्यसपछि सन् १९५१ को नयाँदिल्लीमा आयोजित नेपालको तर्फबाट भाग लिने खेलाडीहरूको खोजी हुन थाल्यो । मेरा बुबा पनि तत्कालीन रोयल नेपाल वायुसेवा निगमको टिमबाट फुटबल खेल्नुहुन्थ्यो । हजुर बुबा पहिलो एशियाडको खेलाडी ।
एक दिन नयाँदिल्ली जान्छु र हजुरबुबाले भनेका सबै कुराको दस्तावेजहरू लिएर आउँछु । उहाँको बारेमा हिन्दुस्थान टाइम्सले लेखेको कुरा । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले दिएको स्याबासी, नेपाली खेलाडीहरूको वृत्तान्त सबै लिएर आउँछु भन्ने सोच्दा सोच्दै २०६० साल असार १६ गते हजुरबुबाको निधन भयो । त्यसपछि उहाँको सम्झनामा एउटा मीनबहादुर विष्ट स्मृति प्रतिष्ठान नामक संस्था खोलेर वर्षको एकपटक दौड प्रतियोगिता गर्न थालियो । विभिन्न संघसंस्थाहरूबाट आर्थिक सहयोग जुटाएर केही वर्ष त चल्यो तर सँधै यसरी नसकेपछि केही वर्ष संस्था मौन रहृयो ।
२०७२ सालपछि नेपालको राजनीतिक अवस्था फेरियो र स्थानीय सरकारको सहयोगमा अहिले निरन्तर उहाँको संस्थामार्फत देशका खेलकुद जगतका उत्कृष्ट व्यक्तिहरूलाई सम्मान र म्याराथन दौड प्रतियोगिता गर्दै आइरहेका छौँ । यसै बीचमा यो पुस्तक विमोचन हुनुभन्दा ठीक एक महिनाअगाडि नवीन अर्यालले फोन गर्नुभयो । उहाँ हाम्रा हजुर बुबाको बारेमा किताब लेख्दै हुनुहुँदोरहेछ । उहाँले नयाँ दिल्ली पुगेर हजुरबुबाका बारेमा सबै वृत्तान्त ल्याइसक्नु भएछ । नेपाल २००७ साल फागुन ७ गतेको परिवर्तनलगत्तै सन् १९५१ सालमा भारतको नयाँदिल्लीमा नेपाल पहिलो पटक एशियाली खेलकुदमा सहभागी भएको थियो । त्यस समयदेखि २०४५ सालसम्मको नेपालको खेलकुद क्षेत्रको इतिहास समेटिएको यो पुस्तक नेपालको खेलकुद इतिहासको कोसेढुंगा सावित हुनेछ ।
यस पुस्तकमा समेटिएका हरेक तथ्यहरू जिउँदा प्रमाण हुन् । यस अर्थमा यस पुस्तकमा समेटिएका २००७ सालदेखि २०४५ सालसम्मको नेपालको खेलकुद जगतको यर्थात् घटनाक्रम हो भन्न सकिन्छ । मीनबहादुर विष्टले अन्तर्वार्तामा बोलेका सबै तथ्यहरू यस पुस्तकमा छन् । नेपालबाट भाग लिने खेलाडीहरूको नाम, खेल त्याग गर्नुपर्दाको पीडा, नेपालले भाग लिएको खेल, प्रशिक्षणको कमीले पदक जित्न नसकेको आदि सबै तथ्यपूर्ण रूपमा प्रमाणसहित यस पुस्तकमा नवीनजीले उल्लेख गर्नुभएको छ । पहिलो एसियाड खेलका चिफ अफ मिसन नरशमशेर राणालाई मेरा हजुर बुबा बारम्बार सम्झनुहुन्थ्यो ।
नयाँदिल्लीको खेल सकेर स्वदेश फर्किएपछि तत्कालीन राजनीतिक परिवर्तन र देशको अस्थिर व्यवस्थापनको कारण ती खेलाडीहरूको अस्तित्वै विलीन हुन पुग्यो । मीनबहादुर विष्ट तत्कालीन बबरजंग पल्टनका होनाहार सिपाई थिए । जसले जापानविरुद्ध हिन्दुस्थानबाट सन् १९४४ ताका दोस्रो विश्वयुद्ध लडे र पाँच वर्षसम्म हिन्दुस्थानको बसाइमा भारतको अमला आर्मी स्कुलबाट पिटी र एथ्लेटिक्सको सात महिने कोर्स गर्ने सौभाग्य पाए । त्यही कोर्सको फाइदा उठाएर मीनबहादुर विष्टलाई एशियाली खेलकुदमा भाग लिने खेलाडीहरूलाई अभ्यास गराउने जिम्मासमेत दिइएको थियो । हिन्दुस्थानबाट फर्केर आएपछि उनी भीमसेन दल गणमा सरुवा भए र सोही गणबाट पहिलो एशियाली खेलकुदमा भाग लिन नयाँदिल्ली पुगेका थिए ।
जब उहाँलगायत छ जना खेलाडीहरूले नयाँदिल्लीमा नेपालका लागि एउटा इतिहास रचेर नेपाल पर्किए । त्यसपछि उनीहरूको भाग्यमा कालो दिनको सुरुवात भयो । आफूले काम गरेको गण भीमसेन दल गण नै खारेज भयो र उनको जागिरको पनि पत्तो भएन । त्यसपछि उनी परिवारको भविष्यका लागि वन विभागमा जागिर खान पुगे । विसं २०५६ सालतिर उनले जागिर खाएको नेपाल आर्मी र वन विभागको नोकरी अवधि जोडेर पेन्सन पाउने कुरा चल्यो । उहाँ निकै उत्साही र खुशी हुनुभयो । वन विभागको नोकरीको प्रमाण उहाँसँगै रहेछ तर नेपाल आर्मीमा खाएको जागिरको प्रमाण भएन । सो खोज्नका लागि पुरातत्व विभागमा रहेको संग्रहालयमै झण्डै ६ महिना हामीले बितायौं तर कुन प्रमाण फेला पार्न सकिएन ।
तत्कालीन अवस्थामा जे जस्ता स्रोत र साधन उपलब्ध थियो त्यसै अनुरूप हाम्रा पुर्खाहरूले कर्म गरे । खोजी गर्दै जाँदा कालान्तरमा त्यो एउटा कहिल्यै नमेटिने इतिहास बन्यो । अब त्यो इतिहासलाई हामीले बलियो बनाउनुपर्छ । अन्यको पनि खोजी हुनुपर्छ ।
यही कारणले उहाँले पेन्सन पाउनु भएन । ८३ वर्षको उमेरमा २०६० साल असार १६ गते उहाँको निधन भयो । सन् १९५३ सालमा जब एडमन हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले विश्वको उच्च शिखर सगरमाथा चढेर विश्वसामु कीर्तिमानी कायम गरे त्यो देखेर सन् १९५४ सालमा मेरो हजुरबुबा पनि सगरमाथा चढ्न जानुभएछ । गाउँमा हजुरबुवाको तारिफ हुन्थ्यो । हामी दंग पथ्यौं । उहाँको नाम सुनेर सबै डराउथे अरे । उहाँ सगरमाथा चढ्न हिँड्नु भएछ । दुई महिनासम्म बेखबर भएपछि घरमा सबैलाई पिर भयो । तीन महिना बितेपछि घर आइपुग्नु भएछ । सगरमाथा चढ्न हिँडेका हजुरबुबा सगरमाथाको आधा शिविर पुगेपछि भारी हिमपात भएको कारण घर फर्कनु भएछ । पहिलो एशियाली खेलकुदमा सहभागी हुने मेरा हजुरबुबाका सहपाठी साथीहरू बारम्बार उहाँले सम्झनु हुन्थ्यो ।
टोखा निवासी गजराज जोशीसँग मात्र उहाँको भेट हुन पायो । सँगै गएका चमकबहादुर तामाङ र रामबहादुर क्षेत्री जसले दश हजार मिटर वाकमा नेपालको तर्फबाट क्रमशः चौथो र पाँचौं स्थान हासिल गर्नुभएको थियो । त्यस्तै मेरा हजुर बुबाको मुखबाट आइरहने अर्का नाम हुन् अमरबहादुर क्षेत्री र देवी । उहाँहरू पनि समयको अन्तरालसँगै हराउनुभयो । सायद पक्कै पनि म जस्तै उहाँहरूका सन्ततीहरू यहीँ कतै हुनुहन्छ होला । उहाँहरूले आजभन्दा करिब ७२ वर्ष पहिले आफ्नो युवा उमेरमा नेपालको तर्फबाट खेलकुदको अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सुरुवात गर्नुभएको थियो । तर, देशले कहिल्यै पनि उहाँहरूलाई खोज्ने र सम्झने काम गरेन । यस विषयमा कसले सोच्ने ? आशा छ नवीन अर्यालको यस पुस्तकमार्फत नेपालको खेलकुद इतिहासका ती सबै महान् खेलाडीहरूले न्याय पाउने छन् ।
वर्तमानमा गरेको अशल कर्म नै भविष्यमा गएर इतिहास बन्छ । वर्तमानमा कर्म गर्दा तन, मन र वचनले गर्नुपर्छ । निश्वार्थ भावले गरेको कर्म मरणउपरान्त एउटा दस्ताबेज बन्छ । यस्तै भयो पहिलो एसियाडबाट अन्तर्राष्ट्रिय जगतमा नेपालबाट खेल्न गएका मीनबहादुर विष्ट लगायत ती छजनै खेलाडीको जीवनमा पनि । इतिहासलाई बिर्सने र अवहेलना गर्ने होइन । तत्कालीन अवस्थामा जे जस्ता स्रोत र साधन उपलब्ध थियो त्यसैनुरूप हाम्रा पुर्खाहरूले कर्म गरे । खोजी गर्दै जाँदा कालान्तरमा त्यो एउटा कहिल्यै नमेटिने इतिहास बन्यो । अब त्यो इतिहासलाई हामीले बलियो बनाउनुपर्छ । दश हजार मिटर दौडमा चौथो र पाँचौ हुने चमकबहादुर र रामबहादुरका सन्तानहरू कहाँ छन् आज ? राज्यले त्यसको खोजी गर्नुपर्छ ।
आज देशमा संघीयता छ । ७५३ वटा स्थानीय सरकार बनेका छन् । ती होनाहार खेलाडीहरू कहीँ न कहीँका स्थानीय तहका बासिन्दा हुन् । त्यहाँको स्थानीय सरकारले उनीहरूको खोजी गरी उनीहरूको परिवारको इच्छा र भावनाअनुरूप तिनका पुर्खाले रचेको इतिहासलाई जीवन्त राख्ने काम गर्न सहयोग गर्नुपर्छ । अहिले स्थानीय सरकारहरूमा पर्यटन पार्क बनाउने, सडकहरूको नामकरण गर्ने, भ्युटावरहरू बनाउने होडबाजी चलिरहेको छ । त्यस्ता ठाउँहरूमा त्यस्ता व्यक्तित्वहरूको नामबाट पार्क लगायत अन्य ऐतिहासिक नामकरण गरिने काम हुनुपर्छ । उनीहरूका सन्ततीहरू कहाँ र कुन अवस्थामा छन् राज्यबाट खोजी भई उनीहरूको संरक्षण हुनुपर्छ । अनिमात्र राणाकालीन समयलगायत त्यसपछिका दिनहरूमा राष्ट्रको नाममा खेल खेलेर विश्वसामु राष्ट्रलाई चिनाउने हाम्रा पुर्खाको आशीर्वाद लाग्नेछ ।
(विष्ट महाँगाल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच