पुस्तक : ‘तुषानल’ एउटा पठनीय पुस्तक

हिमालय टाइम्स
Read Time = 8 mins

✍️ सुशीला घिमिरे

अहिले मेरा हातमा एउटा स्तरीय पुस्तक छ ‘तुषानल’ । यसका लेखक हुनुहुन्छ देवप्रकाश त्रिपाठी । यति भनेपछि यसै थाहा हुन्छ यो पुस्तकको स्तर बारे किनभने पुस्तकका लेखक त्रिपाठी नेपालका चर्चित पत्रकार हुनुहुन्छ । उहाँले नेपालको पछिल्लो पटकको प्रजातन्त्र आएदेखि यता विभिन्न सञ्चारमाध्यममा रहेर काम गर्नुभयो भने विभिन्न राजनीतिज्ञहरूको निकटमा रहेर पनि काम गर्नुभयो । यसो भएका कारण उहाँले नेपालको राजनीतिलाई निकटबाट हेर्ने मौका पाउनुभएको छ ।
त्यसैको चित्रण हो यो पुस्तक । त्रिपाठी हाससम्म पनि पत्रकारिताको अग्रस्थानमा रहेर काम गरिरहनु भएको छ र ती राजनीतिज्ञहरूका विभिन्न गतिविधिलाई पर्गेलेर चित्रण गर्नुभएको छ, त्यसमा उहाँ अझै क्रियाशील रहिरहनु भएको छ । उहाँकै पुस्तक हो यो ‘तुषानल’ । पहिले त मलाई यसको अर्थ नै के होला जस्तो लाग्यो तर तुष भनेको भुष र अनल भनेको आगो भन्ने थाहा भएपछि यी दुई शब्दको सन्धिबाट बनेको शब्द रहेछ तुषानल र यसको अर्थ रहेछ ‘भुषको आगो’ भन्ने जानकारी भयो ।

लेखकले पहलो कुरा त शब्द चयन नै बडो सोचपूर्ण ढंगले बुद्धिमत्तापूर्ण र अर्थपूर्ण रूपबाट छनौट गर्नु भएको पाइएको छ । पुस्तक पनि सोही अनुसारको आकर्षक छ र यसको प्रकाशक पैरवी बुक हाउस प्रा.लि. पुतलीसडक काठमाडौं रहेको छ । यस पुस्तकको आवरण राजेन्द्र तारकिणीले तयार गर्नु भएको छ र लेआउट यदु उपाध्यायले गर्नुभएको छ । पुस्तकको आवरण आकर्षक छ । गाढानीलो रङको पृष्ठभूमिमा माथि ठूला सेता अक्षरमा पुस्तकको शीर्षक ‘तुषानल’ भनेर दिइएको छ र यससँगै साना पहेंला अक्षरमा ‘नेपाली राजनीतिको अन्तर्य’ भनिएको छ ।

तल सेता मझौला आकारका अक्षरमा लेखकको नाम ‘देवप्रकाश त्रिपाठी’ भनेर दिइएको छ । बीचमा सूक्ष्मदर्शक यन्त्रले नियालेर नेपालको राजनीतिलाई हेरेको प्रतीकात्मक अर्थबोध गर्नेगरी गोलाकारभित्र चित्राङ्कन गरिएको छ र त्यहाँ आगाका लप्काहरू दन्किरेको देखाइएको छ । यसलाई नै सम्भवतः नेपाली राजनीतिमा सधैँ सल्किरहेको भुषको आगोका रूपमा देखाउन खोजिएको हो कि भन्न सकिन्छ । पृष्ठ आवरणमा फोटोसहित यस पुस्तकका लेखक त्रिपाठीको चिनारी दिइएको छ । यस चिनारीबाट उहाँका बारेमा धेरै जानकारी प्राप्त गर्न सकिन्छ । तल प्रकाशक संस्थाको लोगोसहित चिनारी र ठेगानासमेत दिइएको छ ।

इतिहासको अध्येताका साथै प्रजातन्त्र आएदेखि यता र समसामयिक राजनीतिलाई समेत बुझ्न चाहनेहरू सबैका लागि अत्यन्त उपयोगी पुस्तक हो यो । कस्ता-कस्ता घटनाबाट गुज्रिँदै यो ३३ वर्षे राजनीतिक यात्रा अगाडि बढेको रहेछ भन्ने जान्न यो पुस्तक अत्यन्त उपयोगी सिद्ध हुनसक्छ ।

यो पुस्तक डिएमआई साइजमा छ र यसको भाषा सम्पादन रामचन्द्र फुयाँलले गर्नुभएको छ । सर्वाधिकार लेखकमै रहेको यस पुस्तकको यो प्रथम संस्करण हो र यस संस्करणमा यो पुस्तक २००० प्रति छापिएको जनाइएको छ । सुजल अपसेट प्रेस काठमाडौंमा पुस्तकको मुद्रण भएको छ । यस पुस्तकमा भूमिका खण्डमा १६ र पाठ्य खण्डमा २२२ गरी जम्मा २३८ पृष्ठ रहेका छन् । पुस्तक यसै वर्ष अर्थात् २०७९ सालको असोज महिनामा प्रकाशित भएको जनाइएको छ । पुस्तकको मूल्य बाक्लो गाताको ७९५ रुपैयाँ र पातलो गाताको ५९५ रुपैयाँ रहेको छ । पुस्तक डिएमआई साइजमा छ र यस पुस्तकमा पहेंलो हलुका तौलरहित कागजको प्रयोग भएको छ ।

यस पुस्तकको छपाइ स्तरीय छ र अशुद्धिहरू पनि कमै मात्र भेटिन्छन् । यस पुस्तकको भूमिका खण्डमा सुरुमा ‘समर्पण’ दिइएको छ ‘नेपालको शान्ति, स्थिरता र समृद्धि चाहने सम्पूर्ण देशभक्त र राष्ट्रवादी नेपाली जनमा’ भनेर । त्यसपछि ‘प्रारम्भ’ शीर्षकमा लेखकको भनाइ राखिएको छ र त्यसपछि पुस्तको प्रकाशक संस्था पैरवी बुक हाउस प्रा.लि.का तर्फबाट अधिवक्ता चन्द्रप्रसाद सिवाकोटीको ‘प्रकाशकीय’ दिइइको छ । यसपछि विषयसूची राखिएको छ ‘विषयक्रम’ भनेर ।
यो पुस्तक वास्तवमा नेपालको इतिहास हो र लेखक त्रिपाठीको अनुभव पनि हो । अर्को शब्दमा भन्दा लेखकले आपूm साक्षी भएर हेरेका घटना परिघटनाको दस्तावेजका रूपमा आएको छ यो पुस्तकभन्दा फरक नपर्ला । सचेत पात्र भएका कारण र सधैँ सचेततापूर्वक नेपालको राजनीतिलाई हेर्नुपर्ने ठाउँमा रहिरहेका व्यक्ति भएका कारण ती घटना र राजनीतिज्ञहरूका जालझेल र कपटलाई उहाँले विस्तारित रूपमा देखाउनु भएको छ ।

इतिहासको अध्येतालाई मात्र होइन प्रजातन्त्र आएदेखि यता र समसामयिक राजनीतिलाई समेत बुझ्न चाहनेहरू सबैका लागि अत्यन्त उपयोगी पुस्तक हो यो । कस्ता-कस्ता घटनाहरूबाट गुज्रिँदै यो ३३ वर्षे राजनीतिक यात्रा अगाडि बढेको रहेछ भन्ने जान्न यो पुस्तक अत्यन्त यपयोगी सिद्ध हुनसक्छ । त्यसकारण यो पुस्तक पठनीय र संग्रहणीयसमेत छ । यसमा केही दस्ताबेजलाई परिशिष्टाङ्कमा दिइएको छ । त्यसकारण यस पुस्तकका लेखक त्रिपाठी धन्यवादका पात्र हुनुहुन्छ । उहाँलाई बधाई र पुस्तकको सफलताको कामना । यस्ता पुस्तक हाम्रा लागि सधैँ अपेक्षित छन्, त्यसका लागि पनि उहाँलाई अग्रीम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?