काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको महाधिवेशनको बन्द सत्रले अध्यक्षमण्डल गठन गरेको हो । अध्यक्षमण्डलमा वेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, घनेन्द्र बस्नेत, प्रवेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई, रामचन्द्र झा, नागेन्द्र चौधरी, सावित्रा भुसाल, महबुज आलम र गणेश विक सदस्य हुनुहुन्छ । अध्यक्ष नेपालले महाधिवेशन सम्पन्न गर्न अध्यक्ष मण्डलका अध्यक्ष खनाललाई टोपी र झोला प्रदान गरी जिम्मेवारी हस्तान्तरण गर्नुभयोे । अध्यक्ष मण्डललाई सम्पूर्ण महाधिवेशन सञ्चालन गर्न विभिन्न संयन्त्र बनाउने, विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिई दस्तावेज बनाएर पारित गर्ने जिम्मेवारी तोकिएको छ ।
त्यस्तै, बन्द सत्रले उपमहासचिव प्रकाश ज्वाला संयोजक रहेको तीन सदस्यीय माइन्युट लेखन कमिटी गठन गरेको छ । यसमा गंगालाल तुलाधर र विजय पौडेल सदस्य हुनुहुन्छ । यसैगरी, बन्द सत्रले उपमहासचिव जगन्नाथ खतिवडाको संयोजकत्वमा बहस नोट कमिटी गठन गरेको छ । यस समितिमा राजेन्द्र राई, रामकुमारी झाँक्री, धर्मनाथ साह, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महता, भवीश्वर पराजुली, यादव रायमाझी, अनारकली मियाँ, अब्दुल हुसेन खान, सरिता खड्का र नवराज श्रेष्ठ सदस्य हुनुहुन्छ । बन्द सत्रमा पुराना कम्युनिष्ट नेताहरू सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, शम्भु शाह, रामऔतार पासवान, हुन्छेबहादुर ढुकुचु, नारायणप्रसाद वैद्य, शीतल झा र विजयलाल श्रेष्ठलाई सम्मानित गरिएको छ । महाधिवेशनमा एक हजार ८४९ प्रतिनिधि सहभागी छन् । असार २० गतेसम्म सञ्चालन हुने महाधिवेशनले नेतृत्व चयन गर्नेछ ।
आगामी नेतृत्वका लागि माधव नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । बन्दसत्र जारी रहँदा भावी नेतृत्वका लागि नेपाल र भुसालबीच प्रतिस्पर्धा हुने तय भएको हो । माधव नेपालले अध्यक्ष पद नछाड्ने भएपछि झलनाथ खनाल पक्षले भुसाललाई अघि सार्न लागेको हो । ‘जसको नीति उसकै नेतृत्व’ का लागि भुसाल अध्यक्षको प्रतिस्पर्धामा उत्रिएको अनेरास्ववियूकी अध्यक्ष आरती लामाले जानकारी दिनुभयो । अध्यक्षका अर्का दाबेदार झलनाथ खनाल अध्यक्ष मण्डलको अध्यक्ष बनेपछि घनश्याम भुसाललाई खनाल पक्षका नेताहरूले साथ दिएका हुन् । यद्यपि, माधव नेपालले उहाँलाई महासचिवमै दोहोरिन प्रस्ताव गर्नुभएको छ ।
६५ पृष्ठको समाजवादी कार्यक्रम पेस
नेकपा (एकीकृत समाजवादी)को ‘सम्मानित नेता’ झलनाथ खनालले हिजोका कुनै पनि कार्यक्रमहरूको रक्षा र विकास गरेर नेपाली जनता र राष्ट्रलाई अग्रगतितिर लैजान नसकिने निष्कर्ष प्रस्तुत गर्नुभयो । जारी पार्टीको दशौँ महाधिवेशनमा जेठको १ र २ गते बसेको केन्द्रीय कमिटी बैठकले पारित गरेको नेपाली विशेषताको समाजवादी कार्यक्रम पेस गर्दै त्यस्तो बताउनुभएको हो । नयाँ आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्ने दस्तावेजमा उल्लेख छ । नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद वा जनताको बहुदलीय जनवादका कार्यक्रमहरू त्यस बेलाको वस्तुगत परिस्थितिका उपज भएको दस्तावेजमा उल्लेख गरिएको छ । ‘हिजो हामीले जनवादी क्रान्तिको क्रममा अघि सारेका कार्यक्रमहरूका जुन अंशहरू लागू भइसकेका छैनन्, तिनीहरू अब समाजवादी कार्यक्रमका अभिन्न अंग बन्छन् र बनाउनुपर्छ । तर, कार्यक्रमिक रूपमा भने अब नयाँ धरातलबाट अघि बढ्नुपर्छ,’ दस्तावेजमा भनिएको छ ।
नयाँ आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि बढाउनुपर्ने दस्तावेजमा उल्लेख छ । ‘अब हिजोका कुनै पनि कार्यक्रमहरूको ‘रक्षा र विकास’ गरेर नेपाली जनता र राष्ट्रलाई अग्रगतितिर लैजान सकिँदैन । हामीले बिल्कुल नयाँ धरातल, नयाँ औचित्य र नयाँ आवश्यकताका आधारमा अब समाजवादी कार्यक्रम अघि सार्नुपर्छ । त्यो नेपाली क्रान्तिको इतिहासमा विल्कुल नयाँ र ऐतिहासिक कार्यक्रम हुनेछ,’ दस्तावेज ६५ पृष्ठ लामो छ ।
राईको फरक मत
नेकपा (एकीकृत समाजवादी) को जारी महाधिवेशनमा पार्टी सचिव राजेन्द्र राईले फरक मत राख्नुभएको छ । उहाँले जनताको बहुदलीय जनवादको उपादेयता नसकिइसकेको निष्कर्ष पेस गर्नुभएको हो । त्यस्तै, सचिव राईले पार्टी पहिचानको पक्षमा उभिनुपर्ने बताउनुभएको छ । प्रदेशको नामकरणको विषय एकीकृत समाजवादीमा निर्णय हुन बाँकी विषय नभएको उहाँले बताउनुभयो । एमालेमा हुँदै प्रदेशको नाम पहिचान सहितको वा बहुपहिचानको राखिनुपर्छ भन्ने निर्णय भइसकेको उहाँको तर्क छ । कोशीका पूर्व-मुख्यमन्त्रीसमेत रहेका राईले नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीले २०४९ साल अगाडि सारेको नेपाल विशेषताको कार्यक्रम जनताको बहुदलीय जनवादका १४ विशेषता अझै सान्दर्भिक रहेको व्याख्या गर्नुभयो ।
‘जनताको बहुदलीय जनवाद (जबज) सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद, साम्राज्यवादविरोधी नेपाली क्रान्तिको कार्यक्रम हो । नेपाली समाज सामन्तवादबाट अगाडि बढेर पुँजीवादमा प्रवेश गरेको कारणले क्रान्तिको कार्यक्रमको रूपमा चाहिँ जबजको च्याप्टर क्लोज भयो आमरूपमा । तर, जनताको बहुदलीय क्रान्ति नभईकन नेपाली समाज सामन्तवादबाट पुँजीवादी चरणमा प्रवेश गरेको कारणले जबजका कतिपय कार्यक्रमहरू पूरा हुन सकेनन्,’ उहाँले भन्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच