![जोखिम मोलेर नदीले बगाएर ल्याएका काठ दाउरा निकाल्दै स्थानीय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/kathadaura-khola.jpg)
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्रे हुन थालेका छन् ।
वि.सं २०५२ सालमा सडक सञ्जालमा जोडिएको म्याग्दीमा हालसम्म करिव ३२ किलोमिटर सडक कालोपत्र भएको छ ।
२०७७ सालसम्म जिल्लामा सदरमुकाम बेनीबजार वरपर र बेनी नगरपालिकाको क्षेत्रमा जम्मा ११ किलोमिटर सडक कालोपत्रे भएकोमा चालु आर्थिक वर्ष २०८०/८१ मा मात्रै थप १६.२ किलोमिटर सडक कालोपत्रेको अन्तिम चरणमा रहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।
कार्यालयका प्रमुख विष्णु पौडेलले चालु आर्थिक वर्षमा बहुवर्षीय र सालबसाली आयोजना मार्फत १६.२ किलोमिटर सडक कालोपत्रे÷आरसिसि र पिसिसि ढलान गर्ने कार्य अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।
कार्यालयका प्रमुख पौडेलले ६ किलोमिटर ग्राभेल, १० किलोमिटर नयाँ मार्ग खोल्ने, १५ किलोमिटर सडक विस्तार, ४ किलोमिटर नाली निर्माण, १० हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालन भएको बताउनुभयो ।
२०७७ सालसम्म बेनी नगरपालिका क्षेत्र भित्र पर्ने बेनी बजार,बेनी–गलेश्वर र बेनी–रत्नेचौर, बेनी–महारानी थानको करिव ११ किमि सडक बाहेक बेनी नगरपालिका बाहिर कालोपत्रे भएको थिएन ।
त्यसपछि बेनी नगरपालिका–१ रत्नेचौर र मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा सदरमुकाम बाहिर पहिलोपटक सडक कालोपत्रे भएको थियो ।
त्यसैगरी सडक विभागले म्याग्दीको बेनी–जोमसोम सडक, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर घार खिवाङ शिख चित्रे, प्रदेश सरकारले बेनी–दरवाङ र गलेश्वर–पिप्ले–भगवती–बेग सडक कालोपत्रे गर्दैछन् ।
गण्डकी प्रदेश सरकारमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८०/०८१ मा थप १६ किलोमिटरभन्दा बढी सडक कालोपत्रे गर्ने आयोजना अन्तिम चरणमा छन् ।
सडक निर्माण, स्तरोन्नति, कालोपत्रे, झोलुंगे र सडक पुल सम्बन्धी नयाँ ७० वटा योजना रहेकोमा ११ वटा आयोजना बहुवर्षीयका लागि स्रोत सुनिश्चितता गर्न सिफारिस भएकोमा ४ वटा ठेक्काको मूल्याङकन भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
सालबसाली २३ वटा योजनाको ठेक्का र १३ वटा उपभोक्ता समितिमार्फत कार्यान्वयन भइसकेका छन् । सात वटा सालबसाली योजना सम्पन्न भइसकेका छन् । चार वटा आयोजनाको ठेक्का सम्झौता भएर काम सुरु भएको छ । यसअघि ठेक्का सम्झौता भएका १३ वटा आयोजना अन्तिम चरणमा रहेका छन् ।
चालु आर्थिक वर्षमा कुल ७१ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा १३.२८ किलोमिटर पक्की सडक, ७.२ किलोमिटर ग्राभेल, २३.२७५ किलोमिटर माटे सडक निर्माण भएको थियो ।
यस वर्ष ५.६ किलोमिटर दूरीको गलेश्वर–पीपले–भगवति सडक कालोपत्रे र दरवाङ–धारापानी सडकको ६ किलोमिटर ६०० मिटर ग्राभेल सकिएको छ । बेनी–दरवाङ सडकको सिम–लाम्पाटा खण्ड र लाम्पाटा–ढाडखर्क खण्डमा करिब आठ किलोमिटर कालोपत्रे भएको छ ।
२० करोड रुपैयाँ लागत अनुमान गरिएको बेनी–पाखापानी, २५ करोड रुपैयाँ लागत अनुमान गरिएको धारापानी–ताकम–शिवाङ कालोपत्रे गर्न आव्हान गरिएको ठेक्का प्रस्ताव मूल्यांकन भएको छ । बेनी–भकिम्ली, अदिभारा–डाडागाउँ र पखेर–बरंजा सडक स्तरोन्नतिका लागि १०÷१० करोड बजेटको आयोजनाको ठेक्का लागेको छ ।
दरवाङ–बिम सडक कालोपत्रे गर्न २५ करोड रुपैयाँको बहुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितता भइसकेको निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच