सन्दीपलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले बुधबार पुनः चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गत असोज २० पक्राउ परेका क्रिकेटर लामिछानेलाई २० गतेबाट गणना हुनेगरी गत असोज २४ गते सात दिनका लागि म्याद थप गरिएको थियो । सो समय सकिएपछि असोज २७ गते पुनः थप पाँच दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको थियोे । दोस्रो पटक थपिएको समय पनि सकिएपछि कात्तिक १ गतेका लागि अदालतमा उपस्थित गराउनुपर्नेमा सार्वजनिक बिदाका कारण बुधबार अदालतमा उपस्थित गराइएको हो ।

अदालतले पुनः चार दिनको म्याद थप गरी अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गत सोमबार अदालतमा उपस्थित गराएको थियो । अनुसन्धानका लागि प्रहरीले सात दिनको समय माग गरे पनि अदालतले चार दिनको समय उपलब्ध गराएको अधिवक्ता सरोजकृष्ण घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रहरीले सात दिनको म्याद माग्नुभएको थियो, श्रीमान्ले चार दिनको मात्रै म्याद थप्नुभयो । आइतबार प्रस्तुत गर्ने शर्तमा चार दिनको म्याद थपिएको छ ।’

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?