पर्यटन प्रवद्र्धनका लागि गिडिदहमा पदमार्ग निर्माण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 6 mins

जुम्ला । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका गर्नेका लागि जुम्लाको तातोपानी गाउँपालिका–४ मा रहेको सुन्दर ताल गिडिदहमा पदमार्ग निर्माण गरिएको छ । गिडीदहलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन पदमार्ग निर्माणदेखि दहको सौन्दर्य र महत्वबारे थप प्रचारप्रसार गर्ने स्थानीयवासिले समेत पहल थालेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

अप्ठ्यारो बाटो, उचित बासस्थानको अभावका कारणले गिडीदहमा पर्यटक जान कठिन छ । यहाँका सुन्दर पाटन, भेडीखर्क, तालतलैया र मगमग बास्ना छर्ने विविध जडीबुटी र फूलको अवलोकनले पर्यटकलाई आकर्षण गर्ने भएको छ । दहसम्म पुग्नका लागि पर्यटकीय पदमार्ग बनाउन सुरु गरिएको छ । भविष्यमा सक्दो धेरै पर्यटक भित्र्याएर आर्थिक रूपमा समृद्ध बनाउने लक्ष्यसहित पदमार्गलगायत पर्यटन प्रवद्र्धनका काम अघि बढाइएको वडाध्यक्ष अमर रोकायाको भनाइ छ ।

समन्द्री सतहदेखि तीन हजार ४८२ मिटर उचाईमा अबस्थित गिडिदहमा दुईवटा दह (ताल) रहेकाछन । पाटन हुँदै गिडिदह सम्मको यात्रालाई सहज र पर्यटकको आगमनमा सहज गर्न पदमार्ग निर्माण गरिएको हो । वडाध्यक्ष रोकायाले भन्नुभयो,‘गिडिदह तातोपानीको मात्र सम्पत्ति र सम्पदा हैन । हामीले ओझेलमा परेको सम्भावना उजागर गर्ने प्रयास गरेका छौ । गिडीदहमा पुग्न सबैभन्दा अप्ठ्यारो भनेकै बाटो हो । त्यसपछि खान बस्नको समस्या छ । पछिल्लो समय गिडिदह पुग्ने पर्यटकको रुचि बढेपछि सहजताका लागि गिडिदहदेखि पाटनसम्म पदमार्ग निर्माण गरेको वडाध्यक्ष रोकायाको भनाई छ ।’

जुम्लाको प्रसिद्ध ताल गिडीदह पुग्ने पर्यटकलाई अवलोकन गर्न सजिला होस भनि पदमार्ग निर्माण गरिएको छ । गिडीदहलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्धेश्यले प्रचारप्रसार थालिएको छ । पदमार्ग निर्माण तथा बाटोमा केही बासस्थान तथा प्रतिक्षालय निर्माणपछि सुन्दर पाटनहरूको अबलोकन गर्दै गिडीदहको काँखमा सयौं पर्यटक लिन सके यहाँको आन्तरिक पर्यटनको घुइँचो लाग्ने वडाध्यक्ष रोकायाले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम र बजेटमार्फत तातोपानीका पर्यटकीय क्षेत्रलाई प्रबर्धन गर्ने विशेष नीति लिएको गाउँपालिकाले जनाएको छ ।

गुमनाम यो तालमा गत वर्ष असोजमा तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंको नेतृत्वमा पहिलो पटक स्थानीय सरकारको टोली पुगेको थियो । भविष्यमा धेरै पर्यटक भित्र्याउने लक्ष्यसहित पदमार्गलगायत पर्यटन प्रवद्र्धनको काम अघि बढाइएको वडाध्यक्ष अमर रोकायाले बताउनुभयो । दह–किनारमा निर्मित धर्मशालादेखि ३५ सय मिटर पदमार्ग निर्माण गरिएपछि सहज भएको छ । गाउँपालिकाले सहयोग गरेपछि स्थानीय युवाहरूले उपभोक्ता समिति बनाएर पदमार्गको काम गरेका छन ।

१० दिन लगातार काम गरेपछि पदमार्ग निर्माण भएको हो । अब आन्तरिक र बाह्य पर्यटक गिडीदह पुग्न कुनै समस्या छैन । स्थानीय युवा कौरव पाण्डेको नेतृत्वमा गिडीदहमा धर्मशालादेखि पाटनसम्म पर्यटन पदमार्ग निर्माण गरिएको हो । पालिकाले आन्तरिक स्रोतबाट ७ लाख २५ हजार रकम पदमार्ग निर्माणका लागि विनियोजन गरेको वडाध्यक्ष रोकायाको भनाइ छ । तातोपानी–४ को आग्रहमा ताल विकास बोर्डको टोली आएर पनि गिडीदहको अवस्था अध्ययन गरेर गएको छ । टोलीले तालमै ‍¥याफ्टिङ गरेको थियो । लम्बाइ, चौडाइ र उचाइ नाप्ने कामसमेत सकिएको छ ।

टोलीले गिडीदहमा पाइने जीवदेखि ताल वरिपरि भेटिएका हरेक वस्तुको अध्ययन गरेको जनाइएको छ । गिडीदह आसपास झन्डै दुई दर्जन विभिन्न प्रजातिका वन्यजन्तु र लोपोन्मुख पंक्षीदेखी कस्तुरी, रेडपान्डा, घोरल, थार, बाघ, भालु, रतुवाजस्ता जनावर र डाँफे, कालिज, फग्रास, ढुकुरजस्ता पंक्षीसमेत यसै क्षेत्रमा पाइन्छन । यार्सागुम्बा, जटामसी, पाँचऔँले, खिरौलो, पदमचाल, भूतकेश, शिलाजितजस्ता सयौँ प्रकारका जडीबुटी पाईने गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?