सडकमार्गबाट एक वर्षमा चार लाख पर्यटक मुस्ताङ पुगे

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 9 mins

म्याग्दी । २०८० सालमा बैशाख १ देखि चैत ३० गतेसम्मको एक वर्षको अवधिमा सडकमार्ग हुँदै हिमालपारीको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् ।

म्याग्दी मुस्ताङ छिर्ने नाका अन्तर्गतको घासा प्रहरी चौकीमा रहेको तथ्याङ्क अनुसार गत वर्षको वैशाख एक गतेदेखि चैत मसान्तसम्म चार लाख १४ हजार,दुई सय ८० जना आन्तरिक तथा वाह्य पर्यटकहरु मुस्ताङ पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने आन्तरिक पर्यटकहरूको संख्या तीन लाख ३५ हजार चार सय ६६ रहेको छ । ती मध्ये दुई लाख २० हजार, सात सय २४ जना पुरुष छन् भने महिलाको संख्या एक लाख १४ हजार सात सय ४२ छ। यसैगरी वर्ष २०८० मा ७८ हजार आठसय १४ बाह्य पर्यटक मुस्ताङ घुमेका छन् । यीमध्येका पनि ७२ हजार,सातसय ५६ जना सार्क राष्ट्र भित्रका हुन् भने छ हजार ५८ जना सार्क राष्ट्र बाहिरका हुन् । सार्क राष्ट्रबाट ३८ हजार आठसय २१ जना पुरुष र ३३ हजार नौसय ३५ जना महिला छन् । सार्क राष्ट्र बाहिरबाट तीन हजार छ सय ४८ पुरुष र दुई हजार चारसय १० महिला मुस्ताङ पुगेका प्रहरीको तथ्याङ्कबाट देखिएको छ ।

त्यसैगरी एक वर्षको अवधिमा हवाई मार्गबाट ११ हजार चारसय ८४ पर्यटक मुस्ताङ भित्रिएका छन् । यीमध्येका एक हजार एकसय ३४ जना पुरुष र पाँचसय ४५ महिला गरी एक हजार छ सय ७९ आन्तरिक पर्यटक रहेका छन् । त्यसैगरी सार्क राष्ट्रबाट तीन हजार सातसय ६७ जना पुरुष र चार हजार दुईसय ८८ महिला गरी आठ हजार ५५ पर्यटकले मुस्ताङ घुमेका छन् । सार्क राष्ट्र बाहिरबाट आठसय ८६ जना पुरुष र आठसय ६४ जना महिला गरी एक हजार ७५० पर्यटक मुस्ताङ भित्रिएका तथ्याङ्कले देखाएको छ ।

सडकको सहज पहुँचदेखि सामाजिक सञ्जालहरूको बढ्दो प्रभावका कारण पनि पछिल्ला वर्षहरूमा पर्यटकको सङ्ख्या बढ्दै गइरहेको कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङले बताउनुभयो ।

पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाइमा मुस्ताङ आकर्षक गन्तव्य स्थल बनेको छ ।सडक मार्ग सहज बनेपछि मुस्ताङमा पर्यटकको लर्को लाग्न थालेको छ। बिदा सदुपयोग र तीर्थयात्रा गर्ने आन्तरिक पर्यटकदेखि प्राकृतिक दृश्य नियाल्न चाहने बाह्य पर्यटकसम्मलेमुस्ताङ भ्रमण गर्न चाहने हुँदा मुस्ताङमा पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरुको भिड बड्न थालेको हो ।

मुस्ताङ आफैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । मुस्ताङमा घुमफिर गरेर रमाउनका लागि थुप्रै धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरु रहेका छन् । पछिल्लोपटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकहरु धेरै पुग्ने गरेका छन् ।

मुस्ताङ प्रवेशद्वारमा रहेको थासाङ गाउँपालिकामा पर्यटकीय टिटीताल पर्दछ । यसका साथै यहाँ सेकुङ ताल, धौलागिरि आईसफल, टुकेचे (हिमाल) पिक, भुसर्तोताल, नाउरीकोटा गाउँ (जहाँ कबड्डी–कबड्डी फिल्म सुटिङ) भएको थियो । यसैगरी घरपझोङ गाउँपालिकामा जोमसोम बजार, पर्यटकीय ढुम्बाताल, छेमाताल, यारुजो डाँडा (भ्यु–प्वाइन्ट), कुछपतेरङ्गा गुम्बा, छैरु गाउँ (जहाँ तिब्बतीयनहरु बस्दछन्), मार्फा गाउँ र स्याउ बगैचा रहेको छ ।

बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा प्रसिद्ध मुक्तिनाथ मन्दिर पर्दछ । यस्तै यहाँ कागबेनी (पितृ तर्पण दिने स्थान), तिरीगाउँ, बाह्रवटा गाउँहरु, तिरीताल (डोल्पा जाने बाटोमा पर्ने), छुसाङ पारी ऐतिहासिक गुम्बा र तेताङ नुनखानी समेत पर्दछ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाभित्र दामोदरकुण्ड (पवित्र कालीगण्डकी नदीको उत्पत्ति भएको स्थान), चुङ्सी गुफा, घिलिङ गाउँलगायत वस्ती र धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पर्दछन् । त्यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लोमान्थाङ गाउँ (माटोको सहर)को चिनिन्छ ।

उपल्लो मुस्ताङमा मुस्ताङ र तिब्बतको बीचमा हुने व्यापारको राजश्व सङ्कलन गर्ने नेचुङ–लिची भन्सार कार्यालय समेत रहेको छ । यसैगरी छोसेर गाउँमा रहेको चर्चित झोङ गुफा, बहुचर्चित (मुस्ताङ–तिब्बत) कोरला नाकालगायत पर्यटकीय क्षेत्रहरु उपल्लो मुस्ताङमा रहेका छन् ।

सन् २०२२ मा विदेशी पर्यटकहरु ६५ हजार ९ सय ४० जनाले मुस्ताङको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रशासन सहायक कमलराज जोशीले बताउनुभयो । सन् २०२३ मा ७८ हजार, आठसय १४ जना वाह्य पर्यटक मुस्ताङ भित्रिएका छन् ।

मुस्ताङमा खासगरी धार्मिक पर्यटकहरु कागबेनीमा आफ्ना पितृहरुको उद्धारका लागि पिण्डदान (श्राद्ध गर्न) जाने गर्दछन् भने प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्नुका साथै १०८ वटा धारा र पोखरीमा स्थान गर्न पुग्छन् ।

यसका साथै मार्फाको स्याउ बगैचा, जोमसोम बजार क्षेत्र, उपल्लो मुस्ताङको लोमान्थाङ र बहुचर्चित मुस्ताङ–तिब्बत कोरला नाका, गुफा तथा गुम्बाहरुको अवलोकन तथा भ्रमणमा वर्षेनी पर्यटकहरु पुग्ने गरेका छन् । पछिल्लो समय मुस्ताङमा विदेशी भन्दा पनि स्वदेशी पर्यटकहरुको बाहुल्यता बढ्दै गएको छ । मुस्ताङ पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ ।

विश्वमै चर्चित स्थानहरुमध्ये पर्ने मुस्ताङमा भारतसहित तेस्रो मुलुकहरुबाट अधिकांश पर्यटकहरु विभिन्न समयमा भ्रमण गर्न पुग्ने गर्दछन् । पछिल्लोपटक नेपालीहरुमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै अहिले देशका विभिन्न जिल्लाहरुबाट पनि मुस्ताङ घुम्न जाने पर्यटकहरुको भीड लाग्ने गरेको छ । पछिल्लोपटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकहरुको सङ्ख्या बढ्दै जान थालेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

मुस्ताङ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु खासगरी म्याग्दीको बेनी हुँदै सवारीसाधनमार्फत पुग्ने गरेका छन् । कतिपय पर्यटकहरु ट्रेकिङ एजेन्सीमार्फत पर्यटक गाइडहरुको सहयोगमा मनाङको थोरङ्लापास क्षेत्र र कोही पर्यटक पोखरा–जोमसोम हवाई मार्गबाट पनि पुग्ने गर्दछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?