काठमाडौं । सहकारी विभागले ऋण तथा बाँकी बक्यौता असुलीलाई थप प्रभावकारी बनाई आफ्ना सदस्यको बचत रकम समयमा फिर्ता गर्न सहकारी संघ संस्थाहरूलाई निर्देशन दिएको छ । सहकारी क्षेत्रमा पछिल्लो समय देखापरेका समस्याका कारण सहकारी संघ संस्था तथा सदस्यको व्यवसायसमेत प्रभावित भएको भन्दै विभागले बुधबार छबुँदे निर्देशन दिएको हो । विभागका रजिष्ट्रार पिताम्बर घिमिरेद्वारा जारी निर्देशनमा आफ्ना सदस्यसँग नियमित समन्वय र सम्पर्क गर्दै वित्तीय साक्षरता अभिवृद्धि र समस्या केन्द्रित सेवा प्रवाहमार्फत् सदस्यको विश्वास आर्जनमा केन्द्रित हुनुपर्ने उल्लेख छ ।
एउटै व्यक्ति दुर्ई वा दुईभन्दा बढी सहकारी संघ संस्थामा सञ्चालक भए ३० दिनभित्र त्यो त्याग्नुपर्नेछ ।
सहकारी क्षेत्रमा पछिल्लो समय देखापरेको समस्याका कारण सहकारी संघ संस्था तथा सदस्यको व्यवसायसमेत प्रभावित भएकाले सहाकारी क्षेत्रको पुनरुत्थानका लागि सहकारी नियमावली, २०७५ को नियम ७६(१)(झ) बमोजिम निर्देशन जारी गरिएको विभागले जनाएको छ । ऋण तथा बाँकी बक्यौता असुली थप प्रभावकारी बनाई आफ्ना सदस्यको बचत रकम समयमा फिर्ता गर्ने, परिस्थितिजन्य कारण समस्यामा परी कर्जा नियमित गर्न नसकेका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी ऋणी सदस्यलाई परेको प्रभाव मूल्यांकन गरी सदस्यको माग, आवश्यकता र औचित्यतासमेतका आधारमा गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीहरूको हकमा मात्र कर्जामा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी साँवा तीन महिना अवधिका लागि पुनरतालिकीकरण गर्न सकिने निर्देशनमा उल्लेख छ । यसरी कर्जा पुनरतालिकीकरण गर्नुपर्ने स्पष्ट आधार प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्ने, पुनरतालिकीकरणपछि कर्जा नोक्सानी व्यवस्थाबाट राइट ब्याक हुने अवस्था आएमा राइट ब्याक गरिए बराबरको रकम सञ्चित मुनाफा खाता खडा गरी छुट्टै खातामा लेखांकन गर्नुपर्ने बताइएको छ । यसरी लेखांकन गरिएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न नपाइने, साथै पुनरतालिकीकरणबापत ऋणी सदस्यबाट कुनै प्रकारको शुल्क÷हर्जना लिन नपाइने पनि निर्देशनमा उल्लेख छ ।
निर्देशनअनुसार पुनरतालिकीकरण गरिएका कर्जाको किस्ता लगातार छ महिनासम्म नियमित भएपछि त्यस्ता कर्जाको कर्जा नोक्सानी व्यवस्थाबाट राइट ब्याकमा गरिएको रकममात्र छुट्याई सञ्चित मुनाफा खातामा लेखांकन गर्न सकिने, आर्थिक वर्ष २०८०/८१ को ब्याज २०८१ साउन १५ गतेभित्र भुक्तानी गरेमा यसै आर्थिक वर्षको आयका रूपमा गणना गर्न सकिनेछ । निर्देशन विपरीत कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने पनि विभागले स्पष्ट पारेको छ ।
सञ्चालकको दोहोरो पद छोड्न निर्देशन
सहकारी विभागले एउटै व्यक्ति दुर्ई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई निर्देशन दिएको हो । एउटै व्यक्ति दुर्ई वा दुर्ईभन्दा बढी सहकारी संघ संस्थामा सञ्चालक भए ३० दिनभित्र कुनै एउटा संघ संस्थाको मात्रै सञ्चालक बस्नुपर्नेछ ।
सहकारी बैंकको हकमा पनि सोही व्यवस्था लागू हुने बताइएको छ । निर्देशन कार्यान्वयन भए-नभएको अनुगमन गरिने र कार्यान्वयन नभएको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ ।
अघिल्लो दिन मंगलबार सहकारी संस्था बचत रकम दुरूप्रयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) र राष्ट्रिय सहकारी बैंकका पदाधिकारी एवं कर्मचारीसँग सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गरेको थियो । समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकम सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरूपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा छलफल गरेको हो ।
छलफलमा समितिका सभापति सूर्य थापाले सहकारी समस्या र समाधानको उपाय पत्ता लगाउने सम्बन्धमा विभिन्न सरोकारवालासँग छलफल जारी रहेको जानकारी गराउँदै तथ्यगत रूपमा अध्ययन अनुसन्धान गरेर समस्या समाधानका लागि उपाय खोजी गर्ने बताउनुभएको अभियानकर्मीले जनाएका छन् । महासंघ अध्यक्ष तथा संविधानसभा सदस्य ओमदेवी मल्लले समस्या हुनुको मुख्य कारण र समाधानका उपायबारे जानकारी गराउँदै लिखित रूपमै सुझावसमेत दिनुभएको थियो ।
छलफलमा महासंघका निवर्तमान अध्यक्ष मीनराज कँडेल, उपाध्यक्ष डिबी बस्नेत, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाई सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच