मगर संस्कृति र मौलिक थाली नाँच संरक्षणमा युवा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । लोपोन्मुख अवस्थामा पुगेको थाली नाँच संरक्षणमा म्याग्दीका मगर समुदायका युवा जुटेका छन् ।

विभिन्न संघसंस्था र सरकारी निकायको सहयोग लिई आफ्नो मौलिकता र पुर्ख्याैली धरोहरलाई जिवित राख्नका लागि मगर समुदाय जुटेका हुन् ।

मगर भाषा,संस्कृति र पुर्ख्याैली सम्पदाहरुको संरक्षण गर्नका लागि विभिन्न किसिमका तालिम र खोज अनुसन्धान गर्दै आएको मगर संघ म्याग्दीका सचिव हिराबहादुर पुनले बताउनुभयो ।

यसैक्रममा म्याग्दीको चिमखोलाबाट सुरु भइ देश विदेशमा विस्तार भएको थाली नाँचको संरक्षण र नाँच्ने सीपको विकासका लागि हालै एकहप्ते तालिम सम्पन्न भएको छ ।

सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा एक हप्ते थाली नाच सम्बन्धी तालिम प्रदान गरिएको हो । ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभव युवा पुस्तालाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको तालिम शनिवार सम्पन्न भएको छ ।

थाली नाँच म्याग्दीको पहिचान हो । जिल्लाको रघुगङ्गा गाउँपालिका-७, चिमखोला थाली नाँचको उद्गम स्थल हो । पाँच दशक अघि चिमखोलाकी हिरामाया पुनले सिर्जना गर्नुभएको लोकप्रिय थाली नाच युवा पुस्ताको समेत आकर्षण बनेको छ । पाका पुस्तामा सीमित लोकप्रिय थाली नाच युवा पुस्तामा हस्तान्तरण हुँदैछ ।

रेकर्डिङ गीतमा थाली नाच सम्बन्धी सिप सिकाइएको छ । म्याग्दीकै पहिचान बनेको लोकप्रिय थाली नाचको मौलिकता संरक्षण र संवर्धन गर्दै युवा पुस्तामा हस्तान्तरण गर्न तालिम सञ्चालन गरिएको मगर संघ म्याग्दीका अध्यक्ष लोकबहादुर पुन मगर ‘लोकेश’को भनाइ छ । थाली नाच सबैले नाच्ने गरिए पनि यसको मौलिकता हराउँदै गएको उहाँले बताउनुभयो ।

थाली नाच मगर समुदायको मात्र नभई पछिल्लो समय साझा भएको मगर संघ म्याग्दीका सल्लाहकार ड माया पाइजाले बताउनुभयो । ‘‘म्याग्दीको पहिचान बनेको थाली नाच मौलिक लोकनृत्य हो । यसको संरक्षण र संवर्धनमा सबै जुट्नुपर्छ,’’ पाइजाले भन्नुभयो । हातमा थाल राखेर नचाउने भएकाले यस नृत्यलाई ‘थाली नाच’ नामकरण गरिएको हो ।

म्याग्दी सहित देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव, सम्मेलन लगायत हरेक कार्यक्रममा समेत थाली नाच देखाउने गरिएको छ । गीतको लय र शब्दसँगै हातमा थाल राखेर नाचिने थाली नृत्यलाई म्याग्दीलीहरुले देशभित्र मात्र नभई विदेशमा पनि पुर्याएका छन् । थाली नाच कलाकार खिमा पुर्जाले ३२ जना जना प्रशिक्षार्थीहरूलाई थाली नाच बारे सिप सिकाउनुभएको थियो । तालिम लिएपछि थाली नाचको इतिहास र मौलिकताका जानकारी हासिल सँगै नाच्ने सिप सिकेको प्रशिक्षार्थीहरू मधु रोकाले बताउनुभयो ।

वि.सं २०२८ सालमा चिम खोलाकी हिरामायाले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गर्नुभएको थियो । बि.सं.२०४४ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा प्रदर्शन गरेपछि थाली नाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो ।

हिरामाया र धनकुमारी थापासहितको ४ जनाको टोलीले बि.सं. २०४२ मा वीरगन्जमा भएको तेस्रो राष्ट्रिय लोकनृत्य प्रतियोगितामा सामूहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गर्नुभएको थियो ।

लोपोन्मुख भाषा,संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो पुख्र्यौली पहिचान हस्तान्तरण गर्ने उद्धेश्यले म्याग्दीमा गत जेठमा पनि १५ दिने मगर भाषा, थाली र कौडा नाँचको प्रशिक्षण आयोजना गरिएको थियो ।

मगर वाहुल्य जिल्ला म्याग्दीमा मगर भाषा र लिपिको बारेमा नयाँ पुस्तालाई जानकारी दिने र पुर्खाको विरासतको रुपमा रहेको मगर संस्कृति र परम्परालाई जोगाइ राख्ने उद्देश्यले कार्यक्रम गरिदै आएको मगर संघ म्याग्दीका सचिव हिरा पुनले बताउनुभयो । २०७८ को जनगणना अनुसार एक लाख, सात हजार ३३ जनसंख्या रहेको म्याग्दीमा मगर जातीको मात्रै ४३ प्रतिशत अर्थात् ४६ हजार २५ जनसंख्या रहेको छ ।

जिल्लामा गत वैशाखमा मगर जातिको उत्पत्ती, दर्शन र मगरात सभ्यताको अध्ययन-अनुसन्धानसमेत गरिएको थियो । नेपालमा जातिगत जनसंख्याको हिसाबले मगर नेपालको तेस्रो ठूलो जाति हो भने आदिवासी जनजाति समुदायको पहिलो हो ।

म्याग्दीमा करिव चार सय वर्ष अघि गुमेको मगर ‘ढुट’ भाषाको बारेमा पछिल्लो समय चासो वढ्न थालेको पाइएको छ । सातवर्ष अघि बेनीमा नेपाल मगर संघले प्रशिक्षण कक्षा सञ्चालन गरेर मगर भाषा सिकाउन थालेको थियो ।

मल्लकालमा तत्कालीन राज्य सञ्चालकले फरकफरक भाषा बोल्दा गोपनीयता भङ्ग हुने, सुरक्षामा असर र सूचना आदानप्रदान गर्न असहज भएको भन्दै मगर भाषा बोल्न प्रतिबन्ध लगाएका मगर समुदायको जेष्ठ नागरिकहरुको भनाइ छ ।

१८ मगरात क्षेत्रअन्तर्गत पर्ने म्याग्दी र बागलुङमा सन १६सयमा आफ्नो भाषा बोल्ने मगर समुदायलाई दण्ड, जरिवाना गर्न थालिएपछि बोलीचालीमा प्रयोग गर्न छाडेका बताइन्छ । त्यसयता मगर भाषा बोलीचालीको प्रचलनमा छैन । म्याग्दीको बस्तीको नामाकरण र बोलीचालीमा मगर भाषाको लवज आउने गरेको पाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?