अविजित पन्थी/हिटा
अर्घाखाँची । २०७३ असार १३ गते पहिलो चरणमा शिलान्यास भएको अर्घा भगवती विमानस्थल परियोजना आठ वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयको प्लेन चढेर काठमाडौं जाने सपना अधुरै रहेको छ । तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गर्नुभएको उक्त विमानस्थल निर्माणमा हालसम्म झण्डै २० करोड रुपैयाँ खर्च भइसकेको छ । तर, कच्ची धावनमार्गबाहेक अन्य पूर्वाधार बन्न सकेको छैन ।
विमानस्थल छिटो बनाउने भन्दै रायमाझीले पटक-पटक कामको औपचारिक शिलान्यास गरिसक्नुभएको छ । २०७३ मा शिलान्यास भए पनि काम सुरु नभएपछि उहाँले फेरि २०७६ मा निकै धुमधामका साथ स्थानीयलाई जम्मा गरेर विमानस्थल निर्माणको काम सुरु गर्नुभएको थियो । विमानस्थलको धेरै संरचना हालसम्म पनि बनिसकेको छैन । सन्धिखर्क नगरपालिका-१० धरमपानीको शिखरबार्नीमा अर्घा भगवती विमानस्थल बन्दैछ । आयोजनाको प्रगति भने ७० प्रतिशत पुगेको आयोजनाले दाबी गरेको छ ।
कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँची सदरमुकाम सन्धिखर्कसम्म कालोपत्रे सडक छ जुन सडकको काम अहिले डबल कटिङका रूपमा अगाडि बढिरहेको र बजेट प्राप्त नहुँदा केही समस्या उत्पन्न भएको शिवपुर सडक डिभिजन कार्यालयका सिनियर डिभिजन इञ्जिनियर विवशबाबु सदादेव बताउनुहुन्छ । सडक विस्तारसँगै विमानस्थलको काम छिटो भएको देख्न आफूहरूले चाहेको भए पनि बन्ने सुरसार नदेख्दा चिन्ता लाग्ने गरेको स्थानीय ईश्वरीप्रसाद मरासिनीले गुनासो गर्नुभयो ।
संघीय राजधानी काठमाडौं छिट्टै जान परे अर्घाखाँचीवासीलाई रूपन्देहीको भैरहवा विमानस्थल वा गुल्मीको रेसुंगा विमानस्थल पुग्नुपर्छ । हवाईजहाज चढ्न भैरहवासम्म पुग्नुपर्ने बाध्यता हटाउन, आपत्कालीन अवस्थाको काठमाडौं यात्रा सहज बनाउन र पर्यटन प्रवद्र्धनका लागि यो विमानस्थल निर्माण सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
पर्यटनका हिसाबले पनि अर्घाखाँची आकर्षक गन्तव्यका रूपमा विकास हुँदैछ । हालैमात्र अर्घाखाँचीमा पर्यटन प्रवद्र्धन कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेर शुभारम्भ गर्नुभएको थियो । जसको नेतृत्व पत्रकार महासंघ अर्घाखाँचीले लिएको थियो ।
विमानस्थल निर्माणको काम निर्माण व्यवसायीले द्रुत गतिमा सम्झौताभन्दा अघि नै सम्पन्न गरेका थिए । यो विमानस्थलको कामका लागि पहिलो टेण्डर आठ करोड भएकोमा पुष्पा बिल्डर्सका सञ्चालक नारायण बञ्जाडेले पाँच करोड ५० लाखमा नै ठेक्का सम्झौता गरी माटो कटिङ जाली निर्माणको काम सम्पन्न गर्नुभएको थियो । दोस्रोपटक खनाल ब्रदर्सका सञ्चालक युवा व्यवसायी कवि खनालले तीन करोड ६० लाखमा ठेक्का सम्झौता गरी माटो र ग्याबिनको काम तोकिएको समयभन्दा पहिला सम्पन्न गरी पुरस्कार प्राप्त गर्न सफल हुनुभएको थियो ।
विमानस्थलमा तेस्रोपटक पुष्पा बिल्डर्सले ठेक्का सम्झौता गरी समयमा काम सम्पन्न गरी ग्याबिन र माटो जालीको काम सम्पन्न गरेको थियो ।
पछिल्लो समय नागरिक उड्डयन प्राधिकरणले निकालेको ठेक्का खनाल ब्रदर्सका सञ्चालक कवि खनालले चार करोड ९० लाखमा सम्झौता गरी माटो कटिङ, फिलिङ, ग्याबिन, कच्ची रनवे निर्माण गरी ७७३ मिटर पक्की जमिनमा रनवे निर्माणको काम तोकिएको समयभन्दा पहिला सम्पन्न गरी पुरस्कारसमेत प्राप्त गरेको थियो ।
यो धावनमार्ग सम्पन्न भएपछि अब टर्मिनल भवन पार्किङ, निर्माणको रनवेको पिच निर्माणको काम बाँकी रहेको र अब हुने टेण्डरमा त्यो काम स्टिमेट भएको साइट इञ्जिनियर सत्यराम दुवालले बताउनुभयो । अब झण्डै १० करोडको टेण्डर गरेमा उक्त कार्यका लागि प्राधिकरणले धावनमार्ग विस्तारसँगै उक्त विमानस्थलमा ४५ सिट क्षमताका जहाज उडान गराउने लक्ष्य राखेको प्राधिकरण इञ्जिनियर भगवती विमानस्थलका साइट इन्चार्ज सत्यराम दुवालले बताउनुभयो । पहिला भने १९ सिट क्षमताका जहाज उडान गर्न मिल्ने विमानस्थल बनाउने योजना प्राधिकरणको थियो । अहिले धाबनमार्ग नौ सय मिटर लम्बाइ ३० मिटर चौडाइको बनेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच