‘तिलोत्तमालाई देशमै उत्कृष्ट, भ्रष्टाचारमुक्त, सुशासनयुक्त र विकसित नगर बनाउनेछु’

Read Time = 20 mins

(रामकृष्ण खाँण, तिलोत्तमा नगरपालिका प्रमुख पदका उम्मेदवार)

बुटवल । नेपाली कांग्रेस रूपन्देहीका सभापतिसमेत रहनुभएका रामकृष्ण खाँण तिलोत्तमा नगरपालिकामा प्रमुख पदका उम्मेदवार हुनुहुन्छ । विकासप्रेमी, स्वच्छ छवि र इमानदार नेता खाँणले जनतालाई भेटेर तिलोत्तमाको विकास र जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि छलफल गरिरहनुभएको छ । आफ्ना योजनाहरू सुनाउँदै ती योजना पूरा गर्न रुख चिहृनमा भोट दिएर जिताउन उहाँले अपिल गरिरहनुभएको छ । नेपाली कांग्रेसको राजनीति गरे पनि आमजिल्लावासीका लागि परी आउँदा साझा नेताका रूपमा सहयोगी भूमिका खेल्ने भएकाले उहाँ रूपन्देहीको राजनीतिक वृत्तमा लोकप्रिय हुनुहुन्छ । २०२२ सालमा रूपन्देहीको मणिग्राममा जन्मिनुभएका नेता खाँणको परिवार १०१७ सालमा रूपन्देही झरेको हो ।

उहाँ गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका भाइ हुनुहुन्छ । उहाँका पिता पनि कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । बाल्यकालमा २०३५ सालदेखि नै उहाँ बुबा र दाइको पदचाप पछ्याउँदै पञ्चायत विरोधी आन्दोलनमा लाग्नुभएको थियो । २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियुको कोषाध्यक्ष हुनुभयो । २०५४ सालमा नेपाली कांग्रेस रूपन्देहीको जिल्ला कार्यसमिति सदस्य, २०६६ सालमा जिल्ला सचिव हुनुभयो । हाल उहाँ कांग्रेस रूपन्देहीको सभापति हुनुहुन्छ ।

विगत चार दशकदेखि रूपन्देहीमै रहेर राजनीति सँगसँगै विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध भई जिल्लावासीको सेवामा निरन्तर खटिनुभएका खाँण यसपाली तिलोत्तमा नगरपालिकालाई सुशासनयुक्त, हिंसामुक्त, सुन्दर, हरियाली र विकसित नगर बनाउने योजनासहित नगर प्रमुखको उम्मेदवार बन्नुभएको छ । मेयरका उम्मेदवार रामकृष्ण खाँणसँग बुटवल संवाददाता चन्द्रकान्त खनालले गर्नुभएको संक्षिप्त कुराकानी-

अहिले घरदैलोमा व्यस्त हुनुहुन्छ, आमजनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकाका नागरिकको घर-घरमा जाँदा उहाँहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्छ, हामी जिताउँछौं भन्नुहुन्छ । उहाँहरूको यस्तो प्रतिक्रियाले हामी चुनाव जित्नेमा पूर्णतः विश्वस्त छौँ । खासगरी संघ, प्रदेश र स्थानीय तहमा नेकपा एमालेको सरकार हुँदा पनि राम्रो काम गर्न सकेन । जनतासामु गरेका प्रतिबद्धताहरू पूरा गर्न सकेन । बहुमत पाउँदा पनि एमाले अध्यक्ष केपी ओलीले तीन वर्ष सरकार नै चलाउन नसकेको र संसद् विघटन गरेको, पार्टीसमेत चलाउन नसकेकाले जनतामा निराशा छाएको छ । यसले मुलुकलाई नै अधोगतितर्फ लैजान्छ र यस्ता व्यक्ति र पार्टीलाई स्थान दिनुहुन्न भन्ने जनताको भनाइ छ ।

संविधान नै संकटमा पार्न खोज्ने गरी एमाले अध्यक्ष केपी ओलीले गरेका कामहरूको भण्डाफोर गर्नुपर्छ र त्यो पार्टीलाई सबै मिलेर हराउनुपर्छ भन्ने कुरा पनि जनताले हामीलाई सुनाउनुभएको छ । अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेकै कारण संविधानको रक्षा भएको, मुलुकमा स्थिरता कायम रहेको नगरवासीले बुझ्नुभएको छ । जनतालाई झुटा आश्वासनमात्रै बाँड्ने तर देश र जनताको हितमा काम नगर्ने एमाले प्रवृत्तिलाई हराउन यसपाली गठबन्धनले जित्नुपर्छ । कांग्रेसले जित्नुपर्छ भन्ने नगरवासीको मत छ ।

कांग्रेसप्रतिको जनताको विश्वास, भरोसा र लगाव नै सबैभन्दा ठूलो कुुरा हो । कांग्रेसले सत्तामा हुँदा को कुन पार्टीको मान्छे हो भनेर व्यवहार गर्दैन, सबैलाई नागरिकको हैसियतमा समान व्यवहार गर्छ, यो पनि कांग्रेसको राम्रो पक्ष हो भन्ने कुरालाई राजनीतिमा सक्रिय नदेखिनुभएका मतदाताहरूले पनि बुझ्नुभएकाले उहाँहरूले पनि हामीलाई मत दिन्छौँ तर एमालेले जस्तो नगर्नु, जनता नझुक्याउनु, भ्रष्टाचार नगर्नुहोला भन्नुभएको छ र हामीले पनि उहाँहरूको आशीर्वाद लिएर उहाँहरूकै साझा जनप्रतिनिधि बन्ने प्रतिबद्धता गरेका छौँ ।

तपाईंको उम्मेदवारी केका लागि ?
म तपाईँमार्फत् तिलोत्तमावासीलाई के कुरा भन्न चाहन्छु भने यो पाँच वर्षमा जे जति काम हुनुपर्ने थियो भएन । जनतालाई प्रत्यक्ष लाभ हुने कामहरू भएनन् । संघीय सरकारले बनाएको मुख्य सडक सिँगार्ने र त्यसैको प्रचार गरेर प्रशंसा कमाउने काम भए । तिलोत्तमाका समस्या के हुन्, जनताको आवश्यकता र प्राथमिकता पहिचान नै गरिएन । सरकारी रकममा चरम भ्रष्टाचार भयो । जनतालाई भ्रममा पार्न प्रचारमुखी काम भए । सानातिना केही राम्रा काम पनि भए होलान् । तर, ती कामले जनतालाई कुनै लाभ भएन ।

म धेरै आलोचना गर्न चाहन्नँ तर तपाईँ महालेखा परीक्षकको कार्यालयको रिपोर्ट हेर्नुस्, कस्ता–कस्ता काममा बजेट खर्च भएको छ ? के ती तिलोत्तमावासीका लागि महŒवका काम थिए ? तिलोत्तमामा बिरामी भए उपचार गर्ने एउटा सरकारी अस्पताल छैन, भित्री सडकको बेहाल छ, सरकारी जग्गाजमिन मनपरी बाँडिएका छन् । भएका कुलो नहरहरू अतिक्रमण भइरहेको छ । तिलोत्तमा बाहिरबाट हेर्दा शहरजस्तो देखिए पनि भित्री बस्तीहरू अझै पनि ग्रामीण अवस्थाकै छन् । एकदमै पुराना बस्तीहरू छन् । त्यहाँ बाटो, खानेपानीजस्ता आधारभूत विकास पुग्न सकेको छैन । ती बस्ती र राजमार्ग क्षेत्रको समानुपातिक विकास जरुरी छ । राजमार्ग क्षेत्रमा शहरी खालको वातावरण जरुरी छ भने भित्री बस्तीमा स्थानीयको भावनाअनुसारको विकास जरुरी हुुन्छ । त्यसअनुसारका योजना जरुरी छन् ।

अर्को कुरा तिलोत्तमालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने मेरो प्राथमिकता रहनेछ । यो नगरलाई समानुपातिक ढंगले विकास गर्दै व्यवस्थित, समृद्ध नगर बनाउने, औद्योगिक क्षेत्रको विकास गर्ने, आवश्यक भौतिक पूर्वाधारहरू निर्माण गर्ने, जनतालाई सुशासनको अनुभूति दिलाउनेजस्ता काम मेरो प्राथमिकतामा पर्नेछन् । स्वास्थ्य, शिक्षा, रोजगारी, सिँचाइजस्ता क्षेत्रमा पनि नगरपालिकाले प्राथमिकताका साथ कार्यक्रम ल्याउनेछ । अरू स्थानीय सरकारका अधिकार र क्षेत्रअनुसारका काममा हामीले जोड दिनेछौँ । मैले नगरपालिकाबाट सेवासुविधा लिनेछैन । मैले पाउने सेवासुविधाबापतको रकम अनाथ, असहाय, विपन्न वर्गका बालबालिका र तिनको शिक्षाका लागि खर्च गर्नेछु । अहिले नगरपालिकामा ५० करोड बेरुजु छ । कैयौं बेथिति छ । मनपरी छ । त्यसलाई चिर्नका लागि पनि म कटिबद्ध भएर लाग्नेछु ।

तपाईँका जित्ने आधार के हुन् ?
म यहाँ दोस्रोपटक चुनावी मैदानमा छु । यसअघि मैले चुनावका क्रममा गरेका वाचा पूरा गर्न चुनाव नजिते पनि प्रयास गरेँ । जनताका समस्या समाधानका लागि प्रयत्न गरेँ । नगरपालिकामा जितेर गएका साथीहरूले बजेटको छेलोखेलो बाहेक अरू केही गर्नुभएन । सरकारी स्रोतसाधन वितरणमा पनि न्याय गर्नुभएन । उहाँले तिलोत्तमाका सबै बासिन्दालाई एउटै दर्जा दिनुभएन । नगरपालिकाको कुर्सीमा बसेर नगरवासीलाई हेर्ने दृष्टिकोण र दर्जा फरक-फरक हुनुहुँदैन । त्यसो हुन सकेन ।

पाँच वर्षसम्म हामी प्रतिपक्षमा बस्यौँ तर हामीले नगरलाई रचनात्मक सहयोग गरेका थियौँ । राम्रा कुरामा समर्थन पनि गर्यौ । गलत कुराको विरोध गर्यौ । म जनताकै साथमा छु । आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सीप विकास, सञ्चार प्रविधि, युवा खेलकुद, कृषिक्षेत्र, भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग व्यापार तथा पर्यटन, रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छौँ । हालको करको दायरा फराकिलो बनाई योभन्दा अगाडिको तिलोत्तमा नगर सरकारले लगाएको एकीकृत सम्पत्ति करमा ५० प्रतिशत घटाइनेछ । जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तिर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिने योजना ल्याएका छौँ । अव्यवस्थित तथा सुकुम्बासी बस्तीलाई व्यवस्थित बनाई पाँच वर्षभित्र सबैलाई लालपुर्जा वितरण गरी तिलोत्तमा नगरको भूमिहीन समस्या पूर्णरूपमा निवारण गरिनेछ । वैदेशिक रोजगारीमा रहनुहुने तिलोत्तमा नगरभित्रका नागरिकहरूले नगरभित्रका बैंकहरूमा डलर पठाएमा प्रतिएक हजार डलरमा एक हजार थप गरी भुक्तानी दिने व्यवस्था मिलाइनेछ ।

जनताबाट उठाएको करले सालिक, गेट, स्तम्भ, भ्यु टावर बनाउने र उपहार, शुभकामना, भोजभतेरमा खर्च गर्न पूर्ण बन्देज लगाइनेछ । कार्यालयमा आफ्नो काम गराउन आउने नागरिकका लागि सहायता कक्ष र सेवाग्राही विश्रामस्थल बनाइनेछ । नगरमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरिनेछ । तिलोत्तमावासीको नागरिकतालाई स्वास्थ्य सुरक्षा आधारपत्र मानी असहाय स्वास्थ्य सेवा उपलब्ध गराइने र गर्भवती महिला स्याहारसम्भार र पोषण व्यवस्था गरी सुत्केरी भत्ता उपलब्ध गराउँदै तिलोत्तमाका नागरिकका लागि सस्तो औषधि पसल सञ्चालन गरिनेछ । यस्ता धेरै कार्यक्रम र योजनाहरू छन् । हामीले घोषणापत्रमा यी सबै कार्यक्रमहरू कसरी गर्छौं भन्ने कुरा उल्लेख गरेका छौँ । यिनै हाम्रा आधार हुन् । हामीले जित्ने आधार जनता हुन् । जनताको चाहना यसअघि पूरा भएका छैनन् । ती पूरा गर्नका लागि हामीले चरणबद्ध योजना ल्याएका छौँ । यी योजनामा विश्वास गरेर हामीलाई जनताले मत दिनुहुनेछ र जित हासिल गर्छौं । यो जित जनताकै हुनेछ ।

तपाइँ नेपाली कांग्रेसको जिल्ला सभापति पनि हुनुहुन्छ । रूपन्देहीको निर्वाचन परिचालन कसरी भएको छ ? नतिजा कस्तो आउँछ ?
सबै नेपाली जनतालाई थाहा छ कि, अहिले मुलुकमा गठबन्धन सरकार छ । यो सरकार बन्नुको कारण पनि थाहा छ । एमालेका अध्यक्ष केपी शर्मा ओेलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेपछि पाँच दल त्यसका विरुद्धमा सर्वोच्च अदालत गए । पाँच दलको सहमतिअनुसार सर्वोच्चसँग केपी ओलीको सरकार अपदस्थ गर्दै पाँच दलमध्ये कांग्रेसका सभापतिको नेतृत्वमा सरकार निर्माणको माग गरिएको थियो । यसैअनुसार सर्वोच्चको आदेश आयो र पाँच दलको सरकार बन्यो । केही साथीहरू यसको अपव्याख्या गर्नुहुन्छ, अदालतले बनाएको सरकार भनेर ।

वास्तवमा नेपालमा व्यक्ति वा दलको होइन कानुनी राज छ भन्ने पुष्टि भएको दिन हो त्यो । साथीहरूले यतिसम्म भ्रम छर्नुहुन्छ कि अदालतमा मुद्दा दिँदा अदालतले या त त्यो माग कानुनअनुसार सही छ भनेर आदेश गर्छ या त मुद्दा खारेज गर्छ । कानुनअनुसार पाँच दलले गरेको माग सही देखियो, त्यसैले हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्यो । यो कुरा मैले किन भनिरहेको छु भने यही कुरा नै गठबन्धन बन्ने आधार थियो । त्यही आधारमा टेकेर हामी संकट उन्मुख भएकोे मुलुकलाई संकटबाट बचाउन पाँच दल एकै ठाउँमा आउनुपरेको हो । यो हाम्रो चाहनाभन्दा पनि मुलुकको आवश्यकताले बनेको हो । यस्तो गठबन्धन स्थानीय निर्वाचनमा पनि कायम रहेको छ । केही स्थानमा साथीहरूको चाहना र आवश्यकताले गठबन्धनभन्दा बाहिरबाट पनि मैत्रीपूर्णरूपमा प्रतिस्पर्धा भएको छ । यसलाई हामीले सहजरूपमै लिएका छौँ, मैत्रीपूर्णरूपमै प्रतिस्पर्धा कायम रहेको छ । रूपन्देहीमा गठबन्धनले सबैजसो स्थानीय तहमा जित हात पार्छ । कुनै तहमा केही दलहरू एक्लै चुनावमा भए पनि गठबन्धनमै सहभागी दलहरूमध्येबाटै विजयी हुनेछन् । त्यसमा हामी विश्वस्त छौँ । अर्को कुरा, रूपन्देहीको निर्वाचन परिचालनका लागि गाउँनगरस्तरमा निर्वाचन परिचालन समितिहरू बनेका छन् । जिल्ला समितिले पनि ती समितिहरूसँग समन्वय गरिरहेको छ । निर्वाचन उत्साहजनक छ र नजिता पनि उत्साहजनक नै आउनेछ ।

तपाईँलाई विपक्षीहरूले पर्यटक उम्मेदवार भनिरहेका छन्, किन यस्तो प्रचार भइरहेको छ जस्तो लाग्छ ?
मैले पनि कता–कता यो कुरा सुनेँ । एकदमै नराम्रो लाग्यो । वास्तवमा साथीहरूलाई म के अनुरोध गर्न चाहन्छु भने मविरुद्ध प्रचार गर्ने अरू कुरा केही पनि नभएर यस्तो कुप्रचार गर्ने दुष्साहस नगर्नुस् । म कहाँ जन्मे, कहाँ हुर्केँ भन्ने कुरा तिलोत्तमावासीलाई थाहा छैन र ? मेरो घर मणिग्राम-४ नम्बर ज्योतिनगरमा छ । मेरा बुबाआमा म जन्मिनुभन्दा अघि नै यहाँ आउनुभएको हो । म यहीँ आएपछि जन्मिएको हुँ । मेरो घर नै यहीँ छ । अरूले के भन्छन् भन्ने कुराको पछि लाग्दिनँ । यहाँका बासिन्दालाई सबै थाहा छ । साथीहरूले हाम्रो चुनावी अभियानबाट आत्तिएर अरू कुनै इस्यु (मुद्दा) नपाएर यसरी दुष्प्रचार गरेका छन् । तर, त्यस्ता भ्रामक प्रचारले खास अर्थ राख्दैन । जनता सही-गलत छुट्याउन सक्नुहुन्छ भन्ने मलाई विश्वास छ ।

अन्त्यमा ?
आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनी, आममतदाता सम्पूर्णमा विशेष अनुरोध र आग्रह गर्न चाहन्छु यसपटक मलाई आफ्नो मत दिएर जिताउनुस् । यो जित तपाईँकै जित हुनेछ । तपाईँको गाउँनगरकै एउटा नाति, छोरा, दाजु, भाइ, काका चुनावमा होमिएको छ भन्ने सम्झेर मलाई रुख चिहृनमा छाप लगाई मत दिनुस् भन्न चाहन्छु । मलाई जिताएपछि पनि म तपाईँको नाति, छोरा, काका, दाजु, भाइ नै रहनेछु । तपाईँसँगै रहनेछु । म शासकका रूपमा नगरपालिकामा बस्नेछैन । तपाईँकै सेवामा केन्द्रित छु र हुनेछु र बाँकी जीवन पनि नगरवासीकै सेवा गरेर बिताउनेछु । तिलोत्तमा नगरपालिकालाई पश्चिम नेपालकै सुन्दर, सुशासनयुक्त, हिंसामुक्त, आर्थिक र समृद्ध नगरका रूपमा विकास गर्न निस्वार्थ भएर लाग्नेछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?