प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता : पुलिस र मधेसको सहज जित

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । रसिद खानको शतकसँगै यादगार प्रदर्शन प्रेरणामा नेपाल पुलिस क्लवले वागमती प्रदेशलाई सहजै हराउँदै प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार पुलिसले वागमतीलाई ६८ रनले हराउँदा रासिदको एक सय ६ रनसँगै बलिङमा पनि दुई विकेट लिए । शनिवार भएका अन्य दुई खेलमा मधेस प्रदेशले कोशीलाई हराउँदा लुम्बिनी प्रदेशले भैरहवामा गण्डकी प्रदेशमाथि चार विकेटको जित निकाल्यो । दुई सय ८३ रनको लक्ष्य पछ्याएको वागमती ४२.३ ओभरमा दुई सय १४ रनमा समेट्दै पुलिसले सहज जित निकालेको हो । बागमतीका ओपनर आंशुतोष घिरैयाले सर्वाधिक ९२ रनको योगदान गरे । उनले ८७ बलमा ९ चौका र चार छक्का प्रहार गरे ।

इशान पाण्डेले ४४, सोनु देवकोटाले १९, विपिन आचार्यले १७, गौतम केसीले १३ र प्रतिक श्रेष्ठले १० रन जोडे पनि वागमतीको जितका लागि पर्याप्त भएन । पहिलो विकेटका लागि आशुतोष र इशानले ९६ रनको साझेदारी गरे । पुलिसको बलिङमा सागर ढकालले तीन, करण केसी, राशिद खान र कप्तान दीपेन्द्रसिंह ऐरीले समान दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८२ रनको योगफल बनायो ।

सातौं नम्बरमा आएका रासिदले एक सय १२ बलमा ९ चौका र ६ छक्कासहित एक सय ६ रनमा अविजित रहेपछि पुलिसले विशाल योगफल बनाएको हो । आरिफ शेखले ६६ बलमा पाँच चौका र एक छक्कासहित ५७, दीपेन्द्रसिंह ऐरीले २१, सुनिल धमला र अर्जुन साउदले समान २०, करण केसीले १५ र दिलिप नाथले १३ रन बनाए । छैटौं विकेटका लागि रासिद र आरिफले एक सय २० रनको साझेदारी गरे । रिजन ढकाल र सूर्य तामाङले समान तीन तथा गौतम केसी र सोनु देवकोटाले समान एक विकेट लिए ।

मुलपानी क्रिकेट मैदानमा अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ प्रेरणामा मधेसले कोशी प्रदेशमाथि सात विकेटको जित निकाल्दै सुखद् शुरुवात गरेको छ । एक सय २८ रनको सामान्य लक्ष्य मधेसले २०.१ ओभरमा मात्र तीन विकेट गुमाउँदै एक सय ७९ बल अगावै पूरा ग¥यो । विकेटकिपर तथा ओपनर अनिलकुमारले ५४ बलमा ८८ रन जोड्दै मधेसलाई जित दिलाए । उनको इनिङमा १४ चौका र तीन छक्का रह्यो । कप्तान तथा ओपनर हरिशंकर साहले चार चौकासहित २४ रन जोडे ।

यी दुई बीच ९३ रनको साझेदारी नै मधेशको जितका लागि पर्याप्त भयो । कोसीका सोनु मण्डलले दुई र सुजन थपालियाले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४१ ओभरमा एक सय २७ रनमा अलआउट भयो । कोसीका ओपनर तथा कप्तान अंकित सुवेदीले ५० बलमा सात चौकासहित ४० रन जोडे । फिर्दोस अन्सारीले ४१ रन बनाए । अन्सारीले ७१ बलमा दुई चौका र एक छक्का प्रहार गरे । यी दुईबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मधेसका प्रदीप पासवानले सात ओभरमा एक मेडनसहित तीन विकेट लिँदा १५ रन मात्र खर्चिए । पवन सर्राफ, राजेश यादव र रञ्जीत कुमारले समान २ विकेट लिए । विशाल पटेलको नाममा एक विकेट रह्यो । कुल १० टोलीले प्रतिस्पर्धामा गरेको प्रतियोगिता राउण्ड रोविनको आधारमा भइरहेको छ । शीर्ष दुई टोलीले फाइनल खेल्दा चौथो स्थान सम्मका टोलीले भने इलिट ट्रफी खेल्न पाउँछन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?