काठमाडौं । नयाँ सत्ता समीकरणका लागि सहमत भएर शक्ति बाँडफाँटको छलफलमा रहेका संसद्का दुई ठूला दलहरू अब बन्ने सरकारमा उपप्रधानमन्त्री नराख्ने सहमतिनजिक पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन सहमति गरिसकेको कांग्रेसले ओलीकै प्रस्तावअनुसार उपप्रधानमन्त्री नराख्न सहमति दिने सम्भावना बढेको कांग्रेस उच्च स्रोतको दाबी छ ।
एमालेबाट महासचिव शंकर पोखरेल र कांग्रेसबाट मुख्य सचेतक रमेश लेखक शक्ति बाँडफाँट लगायतका छलफलमा खटिनुभएको छ ।
विगतमा २०७४ को चुनावपछि प्रधानमन्त्री हुँदा पनि ओलीले उपप्रधानमन्त्री राख्न चाहनुभएको थिएन । ईश्वर पोखरेल, उपेन्द्र यादव, रामबहादुर थापा लगायतले ओली सरकारमा मन्त्रीकै हैसियतमा काम गर्नुभएको थियो । समीकरण सन्तुलित बनाउने नाममा उपप्रधानमन्त्रीहरू थपिनु आफ्नो इच्छाविपरीतको काम हुने ओलीले कांग्रेस सभापति देउवालाई सुझाइसक्नु भएको छ । विश्वस्त स्रोत भन्छ- नयाँ सरकारमा एमालेले उपप्रधानमन्त्री राख्दैन, कांग्रेसलाई पनि नराख्न भन्छ ।
कांग्रेसमा आधा दर्जन बढी नेताहरूलाई सम्भावित उपप्रधानमन्त्रीका रूपमा हेरिएको छ । नेता डा.शेखर कोइराला, पूर्व–उपसभापतिद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधि, पूर्व–महामन्त्रीद्वय कृष्ण सिटौला र डा.शशांक कोइराला एवं महामन्त्री गगन थापाको नाम उपप्रधानमन्त्रीका रूपमा चर्चामा छ । सभापति देउवा स्वयं उपप्रधानमन्त्री बनाउने पक्षमा हुनुहुन्न । ‘सरकारमा उपप्रधानमन्त्री बनाएर पठाएको नेता पार्टीमा सभापतिभन्दा बढी हावी हुन खोजेको देखियो । आफूविरुद्ध शक्ति केन्द्र तयार नगर्ने भन्नेमा सभापति सचेत हुनुहुन्छ’, देउवानिकट एक नेताले हिमालय टाइम्ससँग भन्नुभयो ।
विगतमा उपसभापति खड्का, नेताहरू निधि, सिंह र सिटौलाले उपप्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । ओली सरकारमा उपप्रधानमन्त्री नराख्ने निर्णय भए कांग्रेसबाट नयाँ नेताहरूले मन्त्रिपरिषद्मा अवसर पाउने सम्भावना बढी छ । ‘अहिले नाम सुनिएका नेताहरूमध्ये मन्त्री बन्न तयार हुने कमै मात्रै हुनुहुन्छ । त्यसैले नयाँ नेताहरूले सरकारमा अवसर पाउनुहुन्छ । निर्णय नै भइसकेको हैन तर नयाँ सरकारमा उपप्रधानमन्त्री नरहने चान्स बढी छ’, कांग्रेस नेताको भनाइ छ ।
एमालेभित्र यतिबेला महासचिव पोखरेल प्रभावी देखिनुभएको छ । नयाँ सत्ता समीकरणमा अध्यक्ष ओलीको विश्वास पात्रको रूपमा खटिनुभएका पोखरेल प्रतिनिधिसभा सदस्य हुनुहुन्न । एमालेबाट यसअघि विष्णु पौडेल र रघुवीर महासेठ पटक-पटक उपप्रधानमन्त्री भइसक्नु भएको छ । यस्तो पृष्ठभूमिमा अध्यक्ष ओली र महासचिव पोखरेल दुवै उपप्रधानमन्त्री नराख्ने पक्षमा स्पष्ट हुनुहुन्छ ।
‘महासचिवको नेतृत्वमा सरकारमा जाने सम्भावना नरहेकाले एमालेबाट अरू कोही उपप्रधानमन्त्री बन्ने कल्पना तत्काल नगरौँ’, एमालेका एक नेताले भन्नुभयो । ती नेताका अनुसार उपप्रधानमन्त्री नराख्ने ओलीको प्रस्तावमा देउवा सहमत भए पनि पार्टीमा छलफल गर्ने समय माग गर्नुभएको छ । ‘उपप्रधानमन्त्री नराख्न देउवा पनि सहमत हुनुहुन्छ तर पार्टीमा विवाद नहुने गरी छलफल टुंग्याउन चाहनुहुन्छ’, एमाले नेताको दाबी छ ।
कांग्रेस एमालेबीच जारी संवादमा केही मन्त्रालयहरूको टुंगो लागिसकेको छ । जसअनुसार गृह कांग्रेसले र अर्थ एमालेले राख्नेछन् । एमालेबाट अर्थमन्त्रीमा योगेश भट्टराई र पदम गिरीको चर्चा छ भने कांग्रेसमा गृहमन्त्रीका रूपमा रमेश लेखकको सम्भावना बढी देखिन्छ । कांग्रेसले प्राप्त गर्ने परराष्ट्रमन्त्रीमा डा. आरजू देउवा राणाको सम्भावना बढी रहेको कांग्रेस नेताहरू बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच