काठमाडौं । मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच यही असार १७ गते सत्ता साझेदारीको नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरंगित छ । दुई प्रमुख दलका शीर्ष नेताहरू बीचको सहमतिलगत्तै सत्ता साझेदार एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको छ । कांग्रेससँगको सहमतिसँगै एमालले माओवादीसँगको सत्ता सहकार्य तोडेपछि संसद्मा दुई दलका सांसदहरूबीच आरोप प्रत्यारोप चलिरहेको छ । विगतमा जस्तै यसपटक पनि सत्तापक्ष र विपक्षी सांसदहरूबीच आरोप प्रत्यारोप चलिरहेको छ तर फरक ढंगले ।
राजनीतिक दलहरूले चुनावका बेला गीतबाटै प्रचार गर्ने शैली नेपाली राजनीतिमा नौलो होइन, गीत सुनाएरै चुनाव जितेका नेताहरू बेलाबेला संसद्मा पनि गीतै सुनाएर राजनीतिक वादप्रतिवाद गरिरहेका हुन्छन् । नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई पनि सांसदहरूले साहित्यको माध्यमबाट चित्रण गरिरहेका छन् । संघीय संसद्मा यसको प्रष्ट दृश्य देख्न सकिन्छ । आइतबार र सोमबार भने प्रतिनिधि सभामा गीतले प्राथमिकता पायो । एमाले र माओवादी केन्द्रका सांसदहरूले एक अर्को पार्टीको नेतृत्वबारे टिप्पणी गर्दा गीतका अन्तरा सुनाए । त्यसो त राजनीतिक व्यंग्यवाणका निम्ति पछिल्लो राजनीतिक घटना क्रममा गीतको अन्तरा सुनाउने सुरुवातकर्ता भने स्वयं प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ । प्रचण्ड नेतृत्वको सरकारको प्रमुख सत्ताघटक एमालेले असार १९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेबाट मन्त्री भएकाहरू राजीनामा बुझाउन प्रधानमन्त्रीनिवास बालुवाटार गए । एमाले मन्त्रीहरूको राजीनामा बुझेपछि प्रधानमन्त्री प्रचण्डले यादव खरेलले लेखेको र फत्तेमान राजभण्डारीले गाएको गीतको अन्तरा सुनाउनुभयो, ‘यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले ।’ त्यसपछि भने बसेका संसद् बैठकहरूमा सांसदहरूबीच गीतमार्फत व्यंग्यवाण चलिरहेको छ ।
आफ्ना मन्त्रीहरूको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री प्रचण्डले सुनाएको गीतको हरफको प्रसंग उल्लेख गर्दै सोमबार प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले जवाफस्वरूप अञ्जु पन्तको ‘तिमीले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरो बीचको नाता पनि के रहृयो र ....!’ गीत सुनाउनुभयो । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले गीतमार्फत विम्ब प्रहार गरिरहेका छन् । आइतबारको बैठकमा सांसद सुनील शर्माले गायक रामकृष्ण ढकालको गीत ‘छल ग¥यो मायाले...सबैको देख्छु हाँसो र खुसी शिखरको बाटोमा आफू त....! गाउनुभएको थियो । सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले गायिका कुन्ती मोक्तानको ‘कति जल्छौ आरिसले अझै जल्दै गर, म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर’ गीत सुनाउनुभयो । गीतमार्फत सांसदहरूले राजनीतिक व्यंग्यवाण प्रहार गरिरहँदा बैठकको माहोल रमाइलोसमेत हुने गरेको छ ।
प्रधानमन्त्रीको राजीनामा माग
नेकपा एमालेका सांसदहरूले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै एमालेका सांसदहरूले प्रधानमन्त्रीको अविलम्ब राजीनामा माग गरेका हुन् । सांसदहरूले प्रधानमन्त्रीले बहुमत गुमाइसकेकाले सरकारमा बसिरहन नैतिक आधार गुमाइसकेका बताए । एमालेका सांसद किरणकुमार साहले प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिनुभयो । विपद्को यो समयमा बलियो र स्थिर सरकारको आवश्यकता रहेको उल्लेख गर्दै सांसद साहले भन्नुभयो, ‘अहिले संकटको समयमा हामीले नेतृत्वमा पनि नैतिकताको आवश्यकता महसुस गरेका छौँ । वर्तमान प्रधानमन्त्रीले आफ्नो बहुमत गुमाइसकेका छन् । जसले देशलाई थप अस्थिरता र अन्योलमा पु¥याएको छ । संकटको घडीमा बलियो र स्थिर सरकारको आवश्यकता छ । जसले प्रभावकारी ढंगले बाढी, पहिरो र अन्य प्रकोपहरूको सामना गर्नसक्छ । प्रधानमन्त्रीले नैतिकताको जिम्मेवारी लिनुपर्छ र राजीनामा दिनुपर्छ ।’ एमालेका सांसदहरू ठाकुरप्रसाद गैरे अच्युतप्रसाद मैनाली, विद्या भट्टराई, वासुदेव घिमिरे लगायतले पनि प्रधानमन्त्रीले राजीनामा दिन आनाकानी गरिरहेको टिप्पणी गर्दै अविलम्ब राजीनामा दिएर मागप्रशस्त गर्न आग्रह गरेका छन् ।
रास्वपाका मन्त्रीहरूलाई बर्तौलाको प्रश्न- ‘गोजीमा भएको राजीनामा कहाँ पुग्यो ?’
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गर्नुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको टिप्पणी गर्नुभयो । मन्त्रीहरूलाई आफू पदमा बसुन्जेल कुन–कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि समेत चुनौती दिँदै बर्तौलाले भन्नुभयो, ‘हिजो सरकार बहुमतमा थियो । केही राजनीतिक पार्टीका मन्त्रीहरू सरकार बहुमतमा भएको बेलामा, सरकार चलिरहेको बेलामा गोजीमा राजीनामा हालेर, बोकेर हिँड्नुहुन्थ्यो । तर, सरकार स्पष्ट अल्पमतमा परेको छ, ती साथीहरूको गोजीमा भएको राजीनामा कहाँ पुग्यो ? मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । कुन फाइल कसरी खोल्नुपर्ने हो ? यो सदनमा हामी माग गर्न चाहन्छौँ, जति दिन तपाईंहरू पदमा रहनुहुन्छ, खोल्नुहोस् । माग गर्न चाहन्छु कुन-कुन फाइल कसरी खोल्नुपर्ने हो ? तपाईंहरूले धम्की मात्रै दिएर पुग्छ ? यो संसद्को हार्डडिस्कमा मात्रै सुरक्षित छैन । हाम्रा दिमागमा पनि सुरक्षित छ । तपाईंले आज खोल्छु भनेका फाइल किन खोल्नुभएन ? भोलि राष्ट्रिय सरकार बनेपछि ती सूचना तपाईंले दिनुपर्छ ।’
ओली प्रधानमन्त्री भएर राम्रा कामको सूची बनाउन सक्ने स्थिति छैन : पौडेल
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति नरहेको बताउनुभएको छ । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सांसद पौडेलले भन्नुभयो, ‘केपी ओलीज्यूलाई दुईवटा अवसर प्राप्त भएको छ । दुई तिहाइको प्रधानमन्त्री हुनुभयो, त्योभन्दा अघि पनि प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भएर देशले के प्राप्त ग¥यो ? भनेर उहाँले गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति छैन । म के आग्रह गर्न चाहन्छु भने योपटक प्रधानमन्त्री हुँदा देशको लागि हुनुस्, जनताका लागि हुनुस् । गुटको लागि नहुनुस् । पछिल्लोपटक प्रधानमन्त्री हुँदा यो यो गर्नुभयो भनेर भन्न सक्ने, थाहा पाउने गरी नेतृत्व गर्नुस् । कसैलाई सम्मान नगर्ने, संयोजन गर्न नसक्ने मान्छे भन्दै लाग्ने गरेको आरोपलाई मिथ्या सावित गर्नुस् ।’
पश्चगामी सोचविरुद्ध माओवादीले सशक्त प्रतिवाद गर्छ : सापकोटा
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादी केन्द्रले सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ । सांसद सापकोटाले धर्म निरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली वर्तमान संविधानको सुन्दरता भएको उल्लेख गर्दै संविधानको यो सुन्दरताविपरीत गएर संविधान संशोधन हुन नसक्ने दाबी गरे । सांसद सापकोटाले पश्चगामी सोचाइका साथ संविधान संशोधनमा गिद्धेनजर लगाइए माओवादी केन्द्रले संसद् र सडकबाट सशक्त प्रतिवाद चेतावनी दिनुभयो । कांग्रेस-एमालेले संविधानको सुन्दरतामाथि प्रहार गरेमा सम्बन्धित जाति, समुदाय, क्षेत्र, लिंग र वर्गले प्रतिवाद गर्ने र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्ने दाबी गर्नुभयो ।
प्राकृतिक प्रकोप प्रभावितको उद्धारको लागि सरकारको ध्यानाकर्षण
सांसदहरूले बाढी, पहिरो र डुबानबाट पीडित नागरिकको तत्काल उद्धार गरेर राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । उनीहरूले सरकारले विपद् जोखिमको लागि उचित राहत र उद्धारको लागि राम्रो व्यवस्था नदेखिएको भन्दै प्रभावित क्षेत्रका जनतालाई तत्काल उद्धार गर्न माग गरे । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले शनिबारको बाढी पहिरोबाट भएको मानवीय र सम्पत्तिमा भएको क्षतिको सदनलाई जानकारी गराउन माग गर्नुभयो । बाढीपहिरो पीडितलाई तत्काल गरेको राहतको व्यवस्थाका विषयमा पनि जानकारी दिन सरकारलाई आग्रह गर्नुभयो । नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले बाढी पहिरोमा परेकाहरूका लागि आवश्यक राहत र क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले बाढी र पहिरोको कारण मुलुकमा सबै सडकहरू अवरुद्ध भएको र उपत्यका भित्रका समेत सडक तथा बस्तीहरू जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले मुलुकभर बढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपजन्य घटना बढिरहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपा एमालेकी सांसद विद्या भट्टराईले काम गर्नसक्ने सरकार बनाउन नयाँ सरकार बनाउने मार्गप्रशस्त गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । एमाले सांसद अच्युतप्रसाद मैनालीले विपद्ले देशभर धेरै घटनाहरू भइरहेका भए पनि सरकार कानमा तेल हालेर बसेको आरोप लगाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच