
काठमाडौं । नेपालमा मनसुन सुरु भएयता सोमबारसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद्मा परी ७४ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् ।
विपद्जन्य घटनामा गरी काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेस प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
बाढीका कारण एक सय ६१ घर डुबानमा परेका र ९४ घर, ५३ गोठ, ४१ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छभने तीन सय ३५ पशुचौपाया मरेका प्रवक्ता कार्कीले बताए । यस अवधिमा विपद्का घटनाबाट दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन् ।
जनताले मनसुनी विपत्तीको सामना गरिरहँदा सांसदहरु भने आपसी छेडखानीमै व्यस्त देखिन्छन् । आइतबार र सोमबारको संसद बैठकमा नेताहरु गीतबाटै घोचपेचमा उत्रिए । नागरिकले पीडा महशुस गरिरहेको समयमा मलम लगाउनुको साटो उनीहरुले पीडा थप्ने काम गरिरहेका छन् । सांसदहरु संसदमै दोहोरी खेल्दा प्रतिनिधि सभाको माहोल नै गीतमय बनेको थियो ।
राजनीतिक दलहरूले चुनावका बेला गीतबाटै प्रचार गर्ने शैली नेपाली राजनीतिमा नौलो होइन, गीत सुनाएरै चुनाव जितेका नेताहरू बेलाबेला संसद्मा पनि गीतै सुनाएर राजनीतिक वादप्रतिवाद गरिरहेका हुन्छन् । नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई पनि सांसदहरूले साहित्यको माध्यमबाट चित्रण गरिरहेका छन् । संघीय संसद्मा यसको प्रष्ट दृश्य देख्न सकिन्छ ।
एमाले र माओवादी केन्द्रका सांसदहरूले एक अर्को पार्टीको नेतृत्वबारे टिप्पणी गर्दा गीतका अन्तरा सुनाए । त्यसो त राजनीतिक व्यंग्यवाणका निम्ति पछिल्लो राजनीतिक घटना क्रममा गीतको अन्तरा सुनाउने सुरुवातकर्ता भने स्वयं प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ । प्रचण्ड नेतृत्वको सरकारको प्रमुख सत्ताघटक एमालेले असार १९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेबाट मन्त्री भएकाहरू राजीनामा बुझाउन प्रधानमन्त्रीनिवास बालुवाटार गए ।
एमाले मन्त्रीहरूको राजीनामा बुझेपछि प्रधानमन्त्री प्रचण्डले यादव खरेलले लेखेको र फत्तेमान राजभण्डारीले गाएको गीतको अन्तरा सुनाउनुभयो, ‘यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले ।’ त्यसपछि भने बसेका संसद् बैठकहरूमा सांसदहरूबीच गीतमार्फत व्यंग्यवाण चलिरहेको छ ।
आफ्ना मन्त्रीहरूको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री प्रचण्डले सुनाएको गीतको हरफको प्रसंग उल्लेख गर्दै सोमबार प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले जवाफस्वरूप अञ्जु पन्तको ‘तिमीले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरो बीचको नाता पनि के रहृयो र...!’ गीत सुनाउनुभयो ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरूले गीतमार्फत विम्ब प्रहार गरिरहेका छन् । आइतबारको बैठकमा सांसद सुनील शर्माले गायक रामकृष्ण ढकालको गीत ‘छल ग¥यो मायाले... सबैको देख्छु हाँसो र खुसी शिखरको बाटोमा आफू त...! गाउनुभएको थियो । सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले गायिका कुन्ती मोक्तानको ‘कति जल्छौ आरिसले अझै जल्दै गर, म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर’ गीत सुनाउनुभयो । गीतमार्फत सांसदहरूले राजनीतिक व्यंग्यवाण प्रहार गरिरहँदा बैठकको माहोल रमाइलोसमेत हुने गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच