प्राणघातक रोग क्षयरोगबाट बच्न सतर्क रहन आग्रह

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 3 mins

बारा । क्षयरोग प्राणघातक रोग भएको कारण यसबाट बच्न सजग र सतर्क रहन कलैया उपमहानगरपालिकाका उपमेयर रोशन प्रविणले सबैलाई आग्रह गर्नु भएको छ ।

नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रिय कार्यक्रम अनुसार नेपाल क्षयरोग निवारण संस्था शाखा कार्यालय बाराले शुक्रवार बारा जिल्लाको सदरमुकाम कलैया स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको फर्मासिस्टसँग क्षयरोग सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाँले यसबाट बच्न सबैमा अनुरोध गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपमेयर प्रविणले,‘ यो हावाबाट सर्ने एक प्रकारको सरुवा रोग हो । जुन एक मानिसबाट अर्को मानिसमा सजिलै सर्न सक्दछ । यो खासगरि धुलो, धुवाँ, खैनी, चुरोटलगायतबाट हुने रोग हो । धुलो र धुवाँबाट बच्न मास्कको प्रयोग गर्नु पर्ने र लागू पदार्थ खैनी चुरोट जस्ता मादक पदार्थको सेवन नगर्न नगराउन सबैमा अनुरोध गर्नु भएको थियो । खैनी चुरोट जस्ता लागू पदार्थको सेवन गर्दा आफू मात्र होइन पुरै परिवार नै संकटमा पर्ने भएकोले यस्ता चिजहरुको सकभर प्रयोग नगर्न र यसबाट टाढै रहन उहाँले जानकारी दिनुभयो ।’

हाल कलैया उपमहानगरपालिकामा दुई सय ६५ जना क्षयरोगबाट ग्रसित रहेको सर्वेबाट खुलेको कलैया उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत मनोज यादवले बताउनुभयो । कलैया उपमहानगरपालिकामा दुई सय ५० जना पुराना क्षयरोगी रहेको र २०८० मा गरिएको सर्वेमा १४ जना नयाँ क्षयरोगी फेला परेको यादवले बताउनुभयो । पुराना दुई सय पचास जना क्षयरोगीहरु मध्ये १ जनाको मृत्यू भएको ३ जना सम्पर्क विहिन रहेको र बाँकी क्षयरोगीहरु औषधी सेवा गरिरहेको उहाँले बताउनुभयो ।

नेपाल क्षयरोग निवारण संस्था शाखा बाराका अध्यक्ष सुरेश मोदकको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा कलैया उपमहानगरपालिकाका फर्मासिस्टहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?