२० वर्षदेखिको लथालिंग काठमाडौंलाई हराभरा, स्वच्छ, सफा र व्यवस्थित बनाउँछु : सिर्जना सिंह, मेयर उम्मेदवार-काठमाडौं

Read Time = 17 mins

सिर्जना सिंह अहिले गठबन्धनबाट काठमाडौंको मेयरका निम्ति उम्मेदवारी दिएर चर्चामा हुनुहुन्छ । सर्वमान्य नेता गणेशमान सिंहकी बुहारी तथा पूर्व–उपप्रधानमन्त्री प्रकाशमान सिंहकी पत्नी भएर मेयरको टिकट पाएको भन्ने कतिपयको भनाइलाई उहाँ स्वीकार्नुहुन्न । ०३५, ०३६ को विद्यार्थी आन्दोलनदेखि राजनीतिमा सक्रिय हुँदै महाबौद्ध नर्सिङ क्याम्पसमा नेविसंघको इकाइ सभापति हुँदै शंकरदेव क्याम्पसमा युनियनको कोषाध्यक्षमा चुनाव जित्दै उहाँ राजनीतिमा अघि बढ्नुभएको महिला हुनुहुन्छ । तर, ०४२ सालमा प्रकाशमानसँग प्रणयसूत्रमा बाँधिएपछि भने उहाँले चाक्सीबारीको घरगृहस्थी सम्हाल्न थाल्नुभयो । तर, पनि नेपाल महिला संघको काठमाडौं जिल्लाको प्रमुख सल्लाहकार भई एवं पतिको राजनीतिक जीवनको सहयात्रामा साथ दिँदै राजनीतिलाई नजिकबाट नियाल्दै आएको र पार्टी प्रतिबन्धित अवस्थामा सर्वमान्य नेतालगायत परिवारलाई सम्हाल्ने जिम्मा आफूमाथि आइपरेको उहाँ सुनाउनुहुन्छ । ०४५ साल फागुनमा चाक्सिबारीमा देशविदेशका नेताहरू भेला भई पार्टीको बैठकले जनआन्दोलन घोषणा गर्दा उहाँ त्यही चाक्सीबारीको परिवारको एक अभिन्न अंग हुनुहुन्थ्यो । त्यसकारण राजनीति उहाँको निम्ति नौलो विषय भएन । उहाँ यतिबेला देशकै राजधानी जस्तो महत्वपूर्ण महानगरको जिम्मेवारी सम्हाल्न अग्रसर हुनुभएको छ र महिला उम्मेदवार भएका कारण पनि उहाँले बढी चर्चा पाइरहनुभएको छ । सेवा र सुशासन, स्वच्छ सफा दिगो पर्यावरण, सबल र सम्मुनत पूर्वाधार, सुरक्षित शहर, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, सबल युवा स्वावलम्बी महिला सृजनशील महानगर, संस्कृति सम्पदा र सभ्यतासहित गरी सात ‘स’ संकल्पसहित महानगरलाई समृद्धि बनाउने भन्दै उहाँ मैदानमा उत्रिनु भएको छ । प्रस्तुत छ, सिर्जना सिंहसँग हिमालय टाइम्सका लागि रिता बस्नेतले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

तपाईंले काठमाडौंको पहिलो महिला मेयर बन्ने उद्देश्यले उम्मेदवारी दिनुभएको देखिन्छ, तपाईंको उम्मेदवारी केका लागि हो ?
यो महिलाको युग हो, आरक्षण पाइसकेपछि महिलाहरू सशक्त भएका छन् । अब महिलाहरू पनि प्रतिस्पर्धामा उत्रनुपर्छ पुरुषहरू सँगसँगै भन्ने मेरो सोचाइ छ । विगत २५औँ वर्षदेखि मैले काठमाडौंलाई नियालिराखेको छु । त्यो बेलादेखि नै घरबाट निस्कनासाथ जताततै फोहोरको थुप्रो, अव्यवस्थित वातावरण मात्रै भोगिराखेका छौँ । र, महिलाहरूले घरको राम्रोसँग व्यवस्थापन गर्ने भएकाले यो फोहोरको व्यवस्थापन पनि महिलाले नै गर्न सक्छ, पुरुषहरूले सकेनन् भनेर नै उम्मेदवारी दिएको हुँ । काठमाडौंमा अस्तव्यस्त ट्राफिक, खाल्डाखुल्डी सडकहरू आदि अनेक समस्या छन् । महिलाहरूले घर सम्हाले जसरी महानगर पनि सम्हाल्न सक्छन् र मेयर भनेको राजनीतिक पदमात्र नभई समाजसेवा गर्ने जिम्मेवारी पनि हो । काठमाडौं महानगर देशको राजधानी पनि भएकाले काठमाडौंबासीका सबै समस्याहरूलाई सम्बोधन गर्ने उद्देश्यले मैले यो पदमा उम्मेदवारी दिएकी हुँ । र, म मेयरमा निर्वाचित भए भने सुरुमा काठमाडौं उपत्यका सफा र हराभरा बनाउँछु अनि सुशासन कायम गरी भ्रष्टाचार निर्मूल बनाउँछु ।

मेयरमा उठ्छु भनेर कहिलेदेखि सोच बनाउनुभएको थियो ?
कुनै योजना गरेर सोच बनाएको नभई अकास्मात प्रस्ताव आएको हो । मेरो विद्यार्थी जीवन, युवा अवस्थालगायत विगतका समय पूरै राजनीतिक माहोलमा बितेको हो । म ०३५/०३६ ताका नेपाल विद्यार्थी संघ (नेविसंघ)को जुलुसमा गएर लाठी पनि खाएँ र हनुमान ढोकाको चिसो छिँडीमा पनि समय बिताएको महिला हो । तर, विवाहपछि चाहिँ कुनै पदबिनै पार्टीलाई सघाउँदै आएको महिला हुँ । त्यसबेला मैले पार्टीको कुनै पद लिएको थिइनँ । नेपालमा इञ्जिनियरको श्रीमती इञ्जिनियर, डाक्टरको श्रीमती डाक्टर भयो भने कस्तो राम्रो जोडी भनिन्छ । तर, नेताको श्रीमती नेता भयो भने सबै नेताको परिवारलाई नै चाहिने भनेर नाथाथरी आरोप खेप्नुपर्ने हुन्छ । यही सोचका कारण मैले पनि घरै हेर्छु, परिवार सम्हाल्छु भनेर चुप लागेर बसेकी थिएँ । तर, मेरो पृष्ठभूमि राजनीति नै हो । राजनीति गरेर आएको महिला भएकाले मैले पद नलिए पनि निरन्तर राजनीतिमा संलग्न भइराखेँ र पार्टीको सदस्यता पनि रिन्यू गरिराखेँ । महिलाका हक अधिकार र सामाजिक सेवाका कामहरू गर्दै मैले मेरो जीवनलाई राजनीतितिरै ढल्काएर हिँडिराखेको थिए । भूकम्प, कोभिडको बेलामा र त्योभन्दा अगाडि मैले निरन्तर महिला हक अधिकार, सशक्तीकरण र उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि निरन्तर लागिराखेको महिला हुँ, म ।

तपाईंको सामाजिक क्रियाकलापबारे पनि केही प्रकाश पारिदिनुहुन्छ कि ?
मेरी सासू मंगलादेवी सिंह नेपाल महिला संघको केन्द्रीय सभापति हुनुहुन्थ्यो । उहाँ त्यहाँ हुँदादेखि नै मैले हेल्थ क्याम्प चलाएर बसिराखेकी थिएँ । नेपाल महिला संघले स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण, आयआर्जनको कार्यक्रम, प्रौढ शिक्षा, कानुनी कार्यक्रम आदिसम्बन्धी विभिन्न कार्यक्रम चलाउँदै आएको थियो । त्यसमध्ये मैले हेल्थ क्याम्पको प्रोजेक्टर कोडिनेटर भएर निरन्तर चलाइराखेको थिए । म एक नर्सिंगको विद्यार्थी पनि हुँ । त्यसो भएको हुनाले म महिला संघको कार्यक्रमअन्तर्गत निरन्तर हेल्थक्याम्पहरू चलाउने काममा लागिरहन्थें । मंगलादेवी सिंह स्वर्गे भएपछि नेपाल महिला संघ काठमाडौं जिल्लाका सबैले मंगला आमा संघको संरक्षक हुनुहुथ्यो, अब तपाईं हाम्रो सल्लाहकार बसिदिनुपर्‍यो भन्नुभयोे । त्यसपछि मैले महिला संघको सल्लाहकार भएर काम गरेँ र आजको दिनसम्म पनि नेपाल महिला संघको प्रमुख सल्लाहकार पदमा छु । यसरी म राजनीतिमा अप्रत्यक्ष संलग्न रहँदै आएको हुँ ।

प्रकाशमान सिंहको सक्रियता र आरजू राणाको सहयोगले मेयरको टिकट लिनुभएको भनिन्छ नि ? र, टिकट लिनुको कारण के ?
होइन, यो सरासर गलत कुरा हो । मलाई महिला संघले मेयरमा उठाउने सिफारिस गरेको हो, त्यसअघि मलाई थाहा पनि थिएन र मेरो श्रीमान प्रकाशमानलाई थाहा हुने त टाढाको कुरा भयो । आरजू राणा पार्टीमा केन्द्रीय सदस्य हुनुहुन्छ । महिलाहरूको हक अधिकार तथा सशक्तीकरणको लागि सधैँ लडिराख्नु भएको महिला उहाँ (आरजू)ले मलाई टिकट पाइसकेपछि समर्थन गर्न आउनुभएको हो । म पदबिनै देश र प्रजातन्त्रको लागि विद्यार्थीकालदेखि नै पूरै पार्टी र देशको लागि सक्दो योगदान गरेको महिला हुँ । विवाहपछि मेरो घरमा सबैजना राजनीतिक गर्ने परिवार (ससुरा गणेशमान सिंह, सासू मंगलादेवी सिंह, श्रीमान प्रकाशमान सिंह) भएकाले मैले आफू कुनै पद नलिएर राजनीति गरेको हो । उहाँहरू सम्पूर्ण देशको मुहार फेर्ने, रैतीलाई नागरिक बनाउने भनेर लडेर हिँड्नु भएको परिवार हो । मेरो सासू मंगलादेवी सिंहले नारीहरूको लागि स्कुल पढ्न जान पाउने अधिकारदेखि लिएर आरक्षण, सम्पत्तिमा अधिकार, आर्थिक रूपमा महिलाहरू सक्षम हुनुपर्छ भनेर आन्दोलनमा होमिनुभएको हो । मेरा जेठाजु पिएल सिंह पनि राजनीतिमा हुनुहुन्थ्यो । घर राजनीतिमय भएकाले र सबैजनाले राजनीति गर्दा घर अस्तव्यस्त भएकाले म चाहिँ अब घर सम्हाल्छु, हेर्छु भनेर मात्रै म घर सम्हालेर बसेको हो, मैले राजनीति पूरै छोडेको भने थिइन् ।

महानगरबासीलाई मोनोरेल चढाउनेदेखि लिएर कस्ता योजना छन्, तपाईंको ?
घरै सफा छैन भने ठूल्ठूला कुरा गरेर के गर्नु ? पहिला त घर नै सफा र सुव्यवस्थित हुनपर्‍यो नि । २० वर्ष अगाडि आउने मान्छेले, जस्तो काठमाडौं देख्यो २० वर्षपछि आउने मान्छेले पनि त्यही काठमाडौं देखिराखेको छ । विश्व सम्पदा सूचीमा परेको काठमाडौं ऐतिहासिक शहर हो । यो चानचुने शहर होइन, देशको राजधानी पनि हो । विश्वका कैयौँ शहरहरू मरुभूमिबाट पनि हराभरा भइसके तर काठमाडौं झन्झन् फोहोर, दुर्गन्धित बनेको छ । विगतमा पुरुष मेयरहरूले मौका पाए तर केही ठोस परिवर्तन ल्याउन सकेनन् । त्यसको लागि पनि महिला मेयर भयो भने काठमाडौंको स्वरूप बदलिन्छ । यहाँ थुप्रै पूर्वाधारहरूको विकास गर्नुपर्ने छ । किनभने यहाँका ऐतिहासिक पूर्वाधारहरू नष्ट हुँदै गइराखेको अवस्था छ, त्यसलाई दीर्घकालीन र अल्पकालीन योजना बनाएर विज्ञहरूसँग सल्लाह गरी अघि बढ्नुपर्ने दायित्व छ । तर, मेरो प्राथमिकता भनेको राजधानी शहर सफा, स्वच्छ, हराभरा र बस्न लायकको बनाउने नै हो ।

जित्नुभयो भने क्रमबद्ध रूपमा के-के कामहरू गर्नुहुन्छ ?
पहिला त महानगरपालिकामा सुशासन ल्याउने हो । किनभने घर नै व्यवस्थित भएन वा फोहोर र दुर्घन्धित छ भने बाहिर मात्रै मैले सफा चाहेर र ठूल्ठूला कुरा गरेर हुँदैन । सुशासन ल्याउने, भ्रष्टाचारमुक्त गर्ने, जनतालाई सर्वसुलभ सेवा तुरुन्तै दिनुपर्ने छ । आइटी, डिजिटलको जमानामा त्यो प्रविधि अपनाएर कतिपय कामहरू घरबाटै पनि गर्न सक्ने बनाउनुपर्ने छ । टोलटोलका समस्यालाई बुझेर त्यसलाई तुरुन्तै निराकरण गर्नुपर्ने छ । मुख्य समस्या भनेको फोहोर दीर्घकालीन व्यवस्थापन नै हो । त्यसपछि महिला, वृद्धवृद्धा, ज्येष्ठ नागरिक, बालबालिका आदि सबैको हित र सुविधालाई हेर्नेछु । त्यति मात्र नभएर यहाँको विकास निर्माणको कामका साथै खोला, नाला, पोखरी, सडक आदिको सरसफाइ गर्नुछ । यहाँ जता हेर्‍यो त्यतै समस्या छ तिनको समाधान गर्नुपर्ने छ । मेरो माइत गोर्खा र घर काठमाडौं । त्यस कारणले मैले बाहिरका मानिसको र शहरभित्रका बासिन्दाको पीडा त्यतिकै मात्रामा बुझेको छु । यहाँको बुहारी भएको हुँदा मेरो घर काठमाडौं नै हो त्यसैले शहरभित्रको समस्यासँग पनि म त्यतिकै अवगत छुु । त्यसैले म यो काठमाडौंको लागि आफूलाई योग्य उम्मेदवार ठान्दछु । अहिले भूकम्पले गर्दा काठमाडौंका कतिपय घरहरू टेको लगाएर ढल्नबाट बचाइराखिएको अवस्था छ । त्यस्ता टेको लगाएर अडिएका घरहरूमा स–साना व्यापार व्यवसाय गर्ने मजदुरहरू बस्नु परिराखेको छ । त्यो घर परिवारलाई व्यवस्थापन गर्नुपर्ने छ । यहाँ ७७ जिल्लाका नागरिकहरू आएर बसोबास गर्ने, अवसर लिने, श्रम वा काम गर्ने ठाउँ भएकाले डेरावालाहरूको आम्दानी कस्तो छ अर्थात् उहाँहरूको हक अधिकारको लागि विशेष पहलकदमी काम गर्छु । साथै, सुकुम्बासीहरूको समस्याको समाधान गर्ने पहल गर्नेछु ।

तपाईंको प्रतिस्पर्धी एमालेका मेयर पनि चर्चामा हुनुहुन्छ, आफूले जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
राजनीतिक परिवारबाट आएको महिला र मेरो आफ्नो पृष्ठभूमि पनि राजनीति भएकाले मैले निरन्तर कुनै पनि पद नलिईकन समाजसेवा, महिलाहरूको हकहितको लागि काम गरिराखेको हुनाले पनि मेरो जित सुनिश्चित छ । मेरा प्रतिस्पर्धी (एमालेका केशव स्थापित) त एकपटक मेयर भइसकेको मान्छे, सबैका सामु छर्लङै छ नि काठमाडौंमा उहाँले के के गर्नुभयो र के गर्नुभएन अर्थात् उहाँको पालामा के कति परिवर्तन भयो वा भएन भन्ने सबैले बुझिसकेका छन् । त्यत्रो ठूलो बजेट हुँदा पनि उहाँले एक/दुईवटा मात्रै काम गर्नुभनेको कुनै ठूलो कुरा होइन । म मेयरको फ्रेस उम्मेदवार हुँ । सबभन्दा पहिला काठमाडौं शहर व्यवस्थित गर्नुपर्‍यो, यहाँको ट्राफिक समस्या, वातावरणको समस्यालाई हल गर्नुप¥यो, जुन मेरो प्राथमिकतामा पर्छ । त्यसैले पनि नगरबासीले अत्यधिक मत दिएर मलाई जिताउनुहुन्छ भन्ने पूर्ण विश्वस्त छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?