नेपाली कला क्षेत्रमा कुशल नृत्य निर्देशक एवं कोरियोग्राफरका रूपमा स्थापित नाम हो नारायण रिजाल । नुवाकोटको खरानिटारमा बुबा स्व. रामकृष्ण रिजाल र आमा विष्णुमायाको कोखबाट जन्मिनुभएका नारायण काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियसन पस्किरहनुभएको छ । सानैदेखिको आफ्नो यस क्षेत्रतर्फको लगावका कारण यो क्षेत्रमा होमिनुभएका उहाँले दुई दर्जन जति चलचित्र र दुई सयभन्दा बढी म्युजिक भिडियोमा नृत्य निर्देशन गरिसक्नुभएको छ । कुनै पनि क्षेत्रमा मिहिनेत, लगनशीलता र कडा परिश्रमले सफलता दिलाउँछ भन्ने उहाँको मान्यता छ । उहाँले ‘मेरो पौवापाटीलाई’ (डा. भोला रिजाल), ‘सहारा’ (प्रताप दास), ‘यतै छौ कि तिमी भनी’ (आनन्द कार्की), ‘चलेछ मग मग बासना’ (टिका प्रसाईं), ‘छम्म छम्म नाचन’ (शान्तिश्री र सारिका घिमिरे), ‘डाँडाघरे दाइ’ (कुन्ति मोक्तान), ‘खुट्टा भए जुत्ताको के भर’ (रविन लामिछाने र सुमन थापा मगर), चलचित्र ‘सौभाग्य’को ‘यो कथा हो तिम्रो मेरो’, ‘बादशाह’को ‘वानर सेना’ लगायत थुप्रै प्रस्तुतिमा आफ्नो कला कौशल प्रस्तुत गर्नुभएको छ । आधा दर्जन जस्तो विभिन्न संघसंस्थामा रहेर कुशल कार्यसम्पादनका साथै म्युजिक भिडियो निर्देशन, विभिन्न स्कुलमा नृत्य निर्देशनका लागि नृत्य प्रशिक्षक तालिम, नृत्यसम्बन्धी परामर्श, नृत्य प्रतियोगिता, इभेन्ट म्यानेजमेन्ट जस्ता कार्यमा पनि उहाँले आफूलाई संलग्न गराउँदै आउनुभएको छ । तुरुन्त प्रतिफल खोज्नेहरूलाई कुनै पनि फिल्डमा गाह्रो हुने बताउनुहुने नृत्य निर्देशक नारायण रिजालसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः–
▪ यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
म्युजिक भिडियो निर्देशन, विभिन्न स्कुलमा नृत्य निर्देशनका लागि नृत्य प्रशिक्षक तालिम गराई स्कुलहरूमा नृत्यसम्बन्धी परामर्श दिने, स्कुलस्तरमा नृत्य प्रतियोगिता, इभेन्ट म्यानेजमेन्ट यस्तै यस्तै कार्यमा आफूलाई संलग्न गराउँदै आएको छु ।
▪ यहाँले अहिलेसम्म कति जति गीतमा नृत्य निर्देशन गर्नुभयो होला ? केहीको नाम लिनुपर्दा ?
यस्तै दुई दर्जन जस्तो चलचित्र र दुई सयभन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरेको छु । यहाँले भने जस्तै केहीको नाम लिनुपर्दा म्युजिक भिडियो कोरियोग्राफरमा ‘मेरो पौवापाटीलाई’ (डा. भोला रिजाल), ‘सहारा’ (प्रताप दास), ‘यतै छौ कि तिमी भनी’ (आनन्द कार्की), ‘चलेछ मग मग बासना’ (टिका प्रसाईं), ‘छम्म छम्म नाचन’ (शान्तिश्री र सारिका घिमिरे), ‘डाँडाघरे दाइ’ (कुन्ति मोक्तान), ‘खुट्टा भए जुत्ताको के भर’ (रविन लामिछाने र सुमन थापा मगर), चलचित्र ‘सौभाग्य’को ‘यो कथा हो तिम्रो मेरो’, ‘बादशाह’को ‘वानर सेना’, चलचित्र ‘तिरस्कार’, शेर्पा चलचित्र ‘कुसुम’ लगायत थारु भाषा, भोजपुरी, तामाङ, लिम्बू भाषाका चलचित्र र म्युजिक भिडियो रहेका छन् ।
▪ यो क्षेत्रमा कसरी आउनुभयो ?
मेरो सानैदेखिको रोजाइको क्षेत्र हो । यसैले पनि यो क्षेत्रमा हेलिँदै गएँ । सुरू सुरूमा रहरै रहर, पछि पेशा व्यवसाय नै यही क्षेत्र बनाएर अघि बढियो ।
▪ नचाउन कत्तिको गाह्रो काम हो ?
हरेक चिज गाह्रो र सजिलो हुन्छ नि, मुख्य कुरा तपाईंले त्यसलाई कसरी लिनुभएको छ भन्ने हो । नाच्न त जो पनि नाच्न सक्छ तर विधि पु¥याएर नाच्न भने कमैले जानेका हुन्छन् । यो एक कला पनि हो । नाच्न जति सजिलो देखिन्छ तर त्यस्तो हुँदन । मेरो पाटोबाट हेर्दा अलिक फरक देख्छु नृत्यलाई । विवाह या कुनै पार्टीमा या अन्य अनौपचारिक कार्यक्रममा नाच्नु र प्रोफेसनल रूपमा नाच्नु फरक विषय हो । नृत्य एक कला हो यसका आफ्नै नियम हुन्छन् । ती सबै नियमहरूलाई मध्यनजर गरी नचाउनुपर्छ । कसै–कसै निर्माताले आफ्नो चलचित्रमा हिरो हिरोइन अनुबन्धित गरेका हुन्छन् तर नृत्यको नाममा कम्मर पनि हल्लाउन आउँदैन, त्यतिखेर साह्रै गाह्रो हुन्छ । नाच्ने कलाकार परेमा सजिलो हुन्छ ।
▪ यहाँले नृत्यसम्बन्धी प्रशिक्षण पनि लिनुभयो कि ?
यसको विधि विधानअनुसार नृत्य गर्नका लागि सिक्नु जरूरी हुन्छ नै । मैले पनि प्रशिक्षण लिएँ । चन्द्रतारा कल्चर ग्रुपमा जितु खड्गी र न्हुच्छेमान डंगोेलबाट प्रशिक्षण लिएको थिएँ ।
▪ यो क्षेत्रमा लागेर जीवनयापन गर्न कत्तिको सहज छ ?
मलाई के लाग्छ भने कुने पनि पेशालाई तपाईंले कत्तिको इमान्दारीतापूर्वक वहन गर्नुभएको छ त्यसमा भर पर्छ । भइरहेका विषयवस्तुलाई तपाईंले कसरी फरक ढंगले प्रस्तुत गर्नुहुन्छ भन्ने कुरा मुख्य हुन्छ । फेरि अर्को कुरा निरन्तरता, लगनशीलता, मिहिनेत र समर्पण पनि हो जस्तो लाग्छ । निरन्तता, लगनशीलता, मिहिनेत र समर्पणले मान्छेलाई सफलतातर्फ डो¥याउँछ । एक दुई महिना ग¥यो अनि तुरुन्त प्रतिफल खोज्नेहरूलाई कुनै पनि फिल्डमा गाह्रो हुन्छ । तर, हाम्रो क्षेत्रमा नृत्य जाने बुझेका, निरन्तर लागिरहेका, मिहिनेतीहरूका लागि राम्रो छ । यहीबाट घर, घडेरी जोडेर गाडी चढेर हिँडेका पनि छन् । मुख्य कुरा मिहिनेत, समर्पण, लगनशीलता र केही गर्छु भन्ने जुनुन हुन आवश्यक छ ।
▪ नृत्यका अतिरिक्त विभिन्न पेशा व्यवसायमा पनि संलग्न हुनुहुन्छ कि ?
मानिस सामाजिक प्राणी हो । समाजका हरेक व्यक्तिको त्यो समाजप्रति केही जिम्मेवारी हुने गर्दछ । म पनि आफ्नो जिम्मेवारी पूरा गर्ने कोसिसमा लागिरहेको हुन्छु । शिव कैलाश कला मन्दिरको अध्यक्षका रूपमा पनि आफूलाई विभिन्न कार्यक्रमा संग्लन गराइरहेको छु । यस्तै, चलचित्र नृत्य संघको केन्द्रीय कोषाध्यक्ष, सांस्कृतिक संघको केन्द्रीय सदस्यका रूपमा आफ्नो जिम्मेवारी पूरा गरिरहेको छु । यस्तै लायन्स क्लब इन्टनेसनलमा रहेर पनि सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आएको छु । यसैगरी गिनिज पब्लिक सेकेण्डरी स्कुलमा स्कुल व्यवस्थापन समितिको अध्यक्षका रूपमा आफ्नो जिम्मेवारी पूरा गरिरहेको छु । यसैगरी एस के बुटिक तथा ड्रेस हायर सेन्टरको सल्लाहकारका रूपमा रहेको छु ।
▪ नृत्यसँगसँगै यति धेरै क्षेत्रमा रहेर कुशल कार्यसम्पादन गरिरहनुभएको छ, समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
मलाई के लाग्छ भने मुख्य कुरा त मानिसको इच्छा, चाहना र कार्यक्षमता हो । आफूभित्र यो सबै भयो भने समय त मिलाउन सकिन्छ । कुशल ढंगले गर्दा सबै सहज हुन्छ भन्ने मलाई लाग्छ ।
▪ यहाँले यो क्षेत्रमा पुर्याएको योगदान स्वरूप थुप्रै मानसम्मान र अवार्ड प्राप्त गरिरहेको पाइन्छ नि ?
यहाँले भने जस्तै थुप्रै मान, सम्मान र अवार्ड प्राप्त भएका छन् । निरन्तर कार्यमा सम्पर्ण भइरहँदा यो सबै प्राप्त हुँदो रहेछ भन्ने अनुभूति गरेको छु । २०७५ मा छायाँ छवि तीज म्युजिक अवार्ड, एफएलएफ अवार्ड, सिभिल भ्वाइस फर पिस एण्ड डेभलपमेन्ट अवार्ड, नागरिक सेवा सम्मान, नेपाल शेर्पा इण्डिजिनियस फिल्म अवार्ड, नेसनल स्पोर्ट काउन्सिल नेपाल कराँते महासंघ, एपिजे अब्दुल कलाम फाउण्डेसन ट्रस्ट कलकत्तालगायत थुप्रै संघसंस्थाबाट मानसम्मान प्राप्त भएका छन् । निरन्तर आफ्ना कार्यमा संलग्न भइरहँदा यस्ता मानसम्मान, पुरस्कार र अवार्डले थप हौसला प्राप्त हुँदोरहेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच