सुदूरपश्चिमका मुख्यमन्त्रीलाई राजीनामा दिन कांग्रेस, एमाले र नाउपाको सुझाव

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकार गठनमा सघाउन नयाँ सरकार गठनको प्रक्रियामा सहजिकरण गर्न सुझाव दिइएको छ ।

संसद सचिवालयमा शनिबार नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री सोडारीलाई सरकार गठन र बजेट माथिको छलफलका लागि सहजीकरण गर्न आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमल बहादर शाहले भन्नुभयो, ‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेका छन । उहाँले विश्वासको मत लिन खोजेपनि पाउने अवस्था छैन । उहाँकै कारण बजेट माथिको छलफल हुन सकेको छैन । अल्मतमको सरकारले केही ठुला निर्णयहरु पनि गर्न सक्दैन, त्यसैले उहाँलाई राजीनामा दिएर सरकार गठनको बाटो सहज पार्न आग्रह गर्दछौं’ ।

‘कानुनी प्राबधानी हेरेर ३० दिन कुर्सीमा बसिरहने होईन, उहाँले राजनैतिक परिस्थितिलाई हेर्नुपर्छ’, शाहले भन्नुभयो, ‘उहाँले बहुमत गुमाईसक्नु भएको छ । र, बहुमत प्राप्त गर्न सक्ने अवस्था पनि छैन । त्यस्तो अवस्थामा राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।’

यस्तै, नेकपा एमाले संसदीय दलकी उपनेता सन्तोषी थापाले वर्तमान मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पास नहुने हुँदा तत्काल राजीनामा दीन आग्रह गर्नुभयो । उहाँले अब नयाँ गठबन्धनको सरकार बन्ने भन्दै अल्पमतमा परेको सरकारले राजीनामा दिनु पर्ने बताउनु भयो । अल्पमतमा परेको सरकारलाई टीकाइराखेर जनताको आत्मबिश्वासमा माथी खेलबाड गर्न नहुने उहाँको तर्क छ ।

यसैगरी, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले बिचौलियाले ल्याएको बजेट मान्य नहुने भन्दै वर्तमान सरकारले बजेटबारे छलफल नै नगरी अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा गरेकोमा आपत्ति जनाउनु भयो । उहाँले नयाँ गठबन्धनलाई सहयोग गरी अघि बढ्न नागरिक उन्मुक्ति तयार रहेको र नयाँ गठबन्धनकै पक्षमा रहेको बताउनु भयो ।

केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिईसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँग सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेका १८, एमालेका ११, माओवादीका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?