सर्पदंशका बिरामी बढे, आइसियु र भेन्टिलेटर भने प्रयोगविहीन

हिमालय टाइम्स
Read Time = 3 mins

-प्रकाश मैनाली

सर्लाही । गर्मी बढेसँगै सर्लाहीसहित तराईका जिल्लाहरूमा सर्पदंशका बिरामी बढेका छन् । गर्मी समयमा सर्प बाहिर निस्कने र त्यसले मानिसलाई डस्नेसमेत गर्दछ ।

सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा बिरामीको चापसमेत बढेको छ । केन्द्रमा अहिले दैनिक तीन÷चारजनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आइरहेका छन् ।

जेठ महिनामा मात्रै ४० जना सर्पदंशका बिरामी उपचारका लागि आइसकेका केन्द्रले जनाएको छ । गएको वैशाख महिनामा ६४ जना बिरामीको उपचार गरिएको थियो । केन्द्रमा बिरामीको चाप बढे पनि अत्यावश्यक रहेको आइसियु र भेन्टिलेटर भने लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन् ।

सञ्चालन गर्न जान्ने दक्ष जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटर थन्क्याएर राखिएको सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष उद्धव पौडेलले जानकारी दिनुभयो । केन्द्रमा लालबन्दीसहित हरिवन, बागमती, हरिपुर, ईश्वरपुरलगायत विभिन्न पालिकाका बिरामी उपचारका लागि आउने गरेका छन् ।

अध्यक्ष पौडेलले केन्द्रमा दुईजना एमबिबिएस डाक्टर भए पनि उनीहरूमा आइसियु र भेन्टिलेटर सञ्चालनबारे ज्ञान नहुँदा प्रयोगमा ल्याउन नसकिएको बताउनुभयो । आइसियु र भेन्टिलेर सञ्चालन नहुँदा गम्भीर अवस्थामा ल्याइएका बिरामीलाई उपचार गर्न समस्या हुँदै आएको केन्द्रका स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

केही दिनअघि मात्रै लालबन्दी नगरपालिका–१४, नारायण खोला घर भई हरिवनमा बस्ने नौ वर्षीया बालिकालाई सर्पले टोकेर गम्भीर अवस्थामा उपचारका लागि ल्याउँदा मृत्यु भएको थियो ।

सर्पले टोक्नासाथ तुरुन्त उपचारका लागि ल्याइने सामान्य अवस्थाका बिरामीलाई भने एन्टिस्नेक भेनम चलाएर उपचार गर्दै आइरहेको केन्द्रले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?