कर्णाली प्रदेश रंगशालाको निर्माण कार्य तीव्र

फिफाको मापदण्ड अनुसार फुटबल मैदान र एथलेटिक्स ट्र्याक बन्दै

हिमालय टाइम्स
Read Time = 9 mins

नन्दराम जैशी/हिटा
सुर्खेत । कर्णाली प्रदेश रंगशालाको निर्माण कार्य तीव्रगतिले भइरहेको छ । १० हजार दर्शक क्षमताको यो रंगशाला कर्णाली सरकारको गौरवको आयोजना हो । तीव्रगतिले काम भइरहेको प्रदेश रंगशालाको भौतिक प्रगति ६० प्रतिशत भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सार्वजनिक गरेको तथ्यांकअनुसार रंगशाला निर्माणमा हालसम्म ६५ करोड ८५ लाख रकम खर्च भएको छ । निर्माणाधीन रंगशालाको काम तोकिएको समयभित्र सम्पन्न गर्ने गरी तालिकाअनुसार नै काम अगाडि बढेको छ । आगामी आर्थिक वर्ष २०८१ को मंसिर महिनामा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी रंगशाला निर्माणको कामलाई निरन्तर अगाडि बढाइएको हो ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव विश्वामित्र सञ्ज्यालका अनुसार रंगशाला निर्माणका लागि एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय लागत अनुमान छ । रंगशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान बनाइने छ भने आठ लेनको सेन्थेटिक एथलेटिक्स ट्र्याक बनाइनेछ । रंगशाला निर्माणको जिम्मा काठमाडौंको कान्तिपथमा रहेको एमएसिजी कम्पनीले लिएको छ ।

भूकम्प प्रतिरोधी प्याराफिट, भिआइपी प्याराफिट, मिडिया रुम, रेफ्री, चेन्जिङ र रिफ्रेस रुम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्ने गरी रंगशालाको डिजाइन गरिएको छ । यस्तै, टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्विमिङ पुल पनि रंगशालाभित्र निर्माण गरिने छ ।

हालसम्म के-के काम भए ?
हालसम्म रंगशालामा दर्शक प्याराफिटमा चार हजार कुर्सी जडान कार्य सकिएको छ । भिआइपीतर्फको प्याराफिटमा सिभिल निर्माण कार्य अन्तिम चरणमा छ । तर, त्यसको फिनिसिङ र छाना निर्माण कार्य बाँकी रहेको छ । यस्तै, रंगशालामा पौडीपोखरी, व्यावसायिक सटर गेट निर्माण कार्यको सिभिल स्टक्चर निर्माण अन्तिम चरणमा छ । फुटबल मैदानमा दुबो लगाई स्तरवृद्धिको कार्य जारी छ । एथलेटिक्स ट्र्याकको सब बेस र नाली निर्माण सम्पन्न भएको छ भने रुख रोप्ने हरियाली योजनाको कार्य जारी छ ।

एक अर्ब १९ लाख बजेट विनियोजन
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश खेलकुदअन्तर्गत चालुतर्फ आठ करोड ३२ लाख ७६ हजार र पुँजीगततर्फ ९१ करोड ८० लाख गरी जम्मा एक अर्ब १९ लाख ७६ हजार विनियोजन गरेको छ । जसमा निर्माणाधीन प्रदेश रंगशालाको निर्माणका लागि ८५ करोड बजेट विनियोजन गरिएको छ । यस्तै, हुम्ला हक्की खेलमैदान निर्माणका लागि ५० लाख, कालीकोटमा कभर्डहल निर्माणका लागि ३० लाख, दशौँ राष्ट्रिय खेलकुद लक्षित विभिन्न खेलमैदान मर्मत सुधारका लागि दुई करोड, चिसापानी खेलमैदान निर्माण गर्न सुर्खेतका लागि २४ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै, सुर्खेतमा रहेको मैनतडा खेल पूर्वाधार निर्माणका लागि १८ लाख, चौरजहारी क्रिकेट मैदान निर्माण गर्न रुकुम पश्चिममा ६० लाख, कालिञ्चोक खेलमैदान निर्माण गर्न सुर्खेतमा २५ लाख, जिल्लास्तरीय खेलकुद मैदान निर्माणमा दुई करोड, कुदु रंगशाला निर्माण गर्न जाजरकोटमा १५ लाख, दशाँै राष्ट्रिय खेलकुद तयारीका लागि ७० लाख, प्रदेशस्तरीय टिम तयारी तथा प्रशिक्षणका लागि जम्मा चार करोड ७० लाख र मुख्यमन्त्री कप जिल्ला र प्रदेशस्तरका लागि एक करोड १० लाख बजेट विनियोजन गरिएको छ ।

तीन श्रेणीमा खेलहरू वर्गीकरण
१०औँ राष्ट्रिय खेलकुदका लागि कर्णालीले दुई अंकको स्वर्ण पदकसहित उत्कृष्ट खेल प्रदर्शनी गर्ने तयारी गरेको छ । जसका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १३औँ बोर्ड बैठकले कर्णाली प्रदेशका खेलहरूलाई (क), (ख) र (ग) श्रेणीमा वर्गीकरण गरी प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । सोहीअनुसार (क) श्रेणीमा एथलेटिक्स, उसु आइटिफ कराँते र तेक्वान्दो गरी पाँचवटा रहेका छन् भने (ख) श्रेणीमा सातवटा (बक्सिङ, फुलकन्ट्याक्ट कराँते, जुडो, हक्की, रग्बी, हेण्डबल र बास्केटबल) खेल रहेका छन् ।
त्यस्तै (ग) श्रेणीमा १० वटा (कबडी, खोखो, ब्याडमिन्टन, भलिबल, भारोत्तोलन, फुटबललगायत) टिमको खेललाई वर्गीकरण गरिएको छ । यो वर्गीकरण भर्खरै सम्पन्न भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई आधार मानी तयार गरिएको सदस्य–सचिव सञ्ज्यालले जानकारी दिनुभयो ।

गत २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश छनाटका लागि जम्मा एक हजार २३६ जना खेलाडी सहभागी भएकोमा कर्णाली प्रदेशबाट ३० वटा खेलमा ५०४ जना खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कांस्य गरी जम्मा १८ वटा पदक प्राप्त गरेको थियो । प्रतियोगिताको छनोट प्रशिक्षण र सहभागिताअन्तर्गत दुई करोड ५० लाख खर्च भएको छ ।

यस्तै, गत वैशाख १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा सञ्चालन भएको केन्द्रीय १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णाली प्रदेशले मधेश प्रदेश र गण्डकी प्रदेशलाई पछाडि पार्दै चार स्वर्ण पदक, तीन रजत पदक र १० कांस्यसहित १७ वटा पदक प्राप्त गरी पाँचौँ स्थान हासिल गरेको थियो । यस प्रतियोगिताको सञ्चालन, प्रशिक्षण र सहभागितामा ७० लाख खर्च भएको खेलकुद परिषद्ले जनाएको छ । खेलकुद परिषद्ले कर्णाली प्रदेशबाट विभिन्न अन्तर्राष्ट्रियस्तरका पदक प्राप्त गर्ने खेलाडीहरूलाई पुरस्कारस्वरूप २७ लाख ५५ हजार खर्च गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?